बिहीबार, असार १० २०७८
काठमाडौं ११:१५
वासिङटन डिसी 01:30

निर्वाचनमा जानका लागि कांग्रेसको चारबुँदे प्रस्ताव

इनेप्लिज २०७३ पुष ११ गते १२:१३ मा प्रकाशित

congress-leader काठमाडौं ११, पुस। सत्ता साझेदार नेपाली कांग्रेसले राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । निर्वाचनमा जानका लागि कांग्रेसले चारबुँदे प्रस्ताव पनि अघि सारेको छ ।

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको सोमबार बसेको संयुक्त बैठकले निर्वाचन मिति घोषणा भए प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई दबाव पुग्ने र संसद सुचारु हुने निष्कर्ष निकालेको हो ।

निर्वाचनको मिति घोषणा गरेलगत्तै संसद बैठक सुचारु हुने र त्यसपछि निर्वाचन सम्बन्धी कानुन तयार गर्दै निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने निष्कर्षमा पार्टी पुगेको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

‘निर्वाचन मिति तय भइसकेपछि केही खुकुलो बाटो निस्किन्छ भन्ने हाम्रो धारणा हो,’ महामन्त्री कोइरालाले भने, ‘एमालेले पनि बझ्नुपर्‍यो कि संविधान संशोधन नगरीकन स्थानीय निर्वाचन हुँदैन । त्यसैले निर्वाचनको मिति तय हुनुपर्‍यो फस्ट स्टेपमा, दोस्रो संसद अवरोध खोल्नुपर्‍यो, तेस्रो निर्वाचन आयोगलाई पूर्णता दिनुपर्‍यो र चौथो निर्वाचनका लागि जे-जे परिवर्तन गर्नुपर्ने हो संविधानमा त्यो परिवर्तन गरेर अगाडि जानुपर्‍यो ।’
एमाले पनि निर्वाचनमा जान तयार भएकाले निर्वाचनको मिति घोषणा हुनेवित्तिकै संसदमा देखिएको गतिरोध अन्त्य हुने कांग्रेस नेताहरुको विश्वास छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले निर्वाचनको मिति घोषणा भएपछि त्यसका लागि आवश्यक कानुन संशोधन गर्न एमाले पनि तयार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया