इँटाभट्टामा लगिँदै गरेका ११ बालिका नियन्त्रणमा

इनेप्लिज २०७३ पुष ७ गते १२:१३ मा प्रकाशित

रोल्पा, ७ पुस । इँटाभट्टामा काम गर्न काठमाडौँ जान भनी घरबाट हिँडेका यहाँका ११ बालिकालाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आज नियन्त्रणमा लिएको छ ।
सोह्र वर्षमुनिका ती बालिकालाई आफ्नै गाउँकी पवित्रा रानाले काठमाडौँस्थित महेश्वरी इँटाभट्टामा काम लगाइदिने भनी लान लागेका अवस्थामा रोल्पा बसपार्कबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।
“अहिले अनुसन्धान प्रक्रियामा छौँ, अनुसन्धानले देखाएअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछाँ महिला सेल इन्चार्ज दिलकुमारी बुढाले भन्नुभयो । ती बालिका आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छाडेर कामको खोजीमा लागेको बताइएको छ ।
अनुसन्धान नसकिँदासम्म उनीहरुलाई सेभ हाउसमा राखिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालबालिकालाई कानुनतः श्रममा लगाउन नपाइने भएका कारण घर फिर्ता पठाउने तयारी भइहेको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले बताउनुभयो । बालिका परिवार जिम्मामा घरबाट भागेर कोहलपुर पुगेका तीन बालिकालाई रोल्पा प्रहरीले आज आफन्तको जिम्मा लगाएको छ । गत मङ्सिर २० गते विद्यालय गएका उनीहरु भागेर कामको खोजीमा हिँडिरहेका बेला बाँके प्रहरीले नियन्त्रणमा लिई थ्रि एन्जल्स नेपाल बाँके नामक संस्थालाई बुझाएको थियो ।
उनीहरुलाई महिला तथा बालबालिका कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालय रोल्पा र थ्रि एन्जल्सको रोहबरमा महिला तथा बालबालिका कार्यालय रोल्पामा बुुझाएको बताइएको छ ।
सदरमुकाम लिवाङमा रहेको सेभ हाउसमा तीन दिनसम्म राखिएका उनीहरुलाई आजै आफन्तको जिम्मा लगाइएको महिला अधिकारकर्मी तीर्था आचार्यले बताउनुभयो ।
अध्ययनका लागि विद्यालय हिँडेका उनीहरु भागेर कामको खोजीमा रोल्पाको सुलीचौर हुँदै भालुवाङबाट कोहलपुर पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । आगामी दिनमा उनीहरुलाई नभाग्ने वातारण बनाउन परिवारजनलाई सम्झाइबुझाइ गरिएको छ ।

प्रतिक्रिया