उपत्यकामा साझाका ४० बस नियमित सेवामा

इनेप्लिज २०७३ पुष ७ गते ८:५३ मा प्रकाशित

busकाठमाडौँ, ७ पुस । सार्वजनिक यातायात कम सञ्चालन भएर यात्रुलाई आवतजावतमा समस्या भएका बेला पनि साझा यातायातका ४० वटा बसले भने उपत्यकामा नियमित सेवा दिइरहेको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको उपत्यका बन्दले अन्य सवारीसाधनमा आंशिक प्रभाव पारेपनि साझा यातायातमा भने कुनै प्रभाव परेको छैन । यातायातले ३६५ दिन नै सेवा दिने गरेको निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
“लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० वटा बस पूर्ववत् सञ्चालनमा छन्”– उहाँले भन्नुभयो ।
साझाका छ बसले उपत्यका बाहिर पनि निरन्तर सेवा दिइरहेको छ । उपत्यका बाहिर काठमाडौँ–बागलुङ दुई, काठमाडौँ–वीरगन्ज दुई र काठमाडौँ–भैरहवा लुम्बिनी दुई गरी छ वटा बस सञ्चालनमा छन् ।
लामो दूरीमा १० डिलक्स बस खरिद गर्ने निर्णय भइसकेको साझाले जनाएको छ ।

उपत्यकामा थप बस सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड लगानी गर्ने भएको छ । अन्य नगरपालिका र जिल्ला विकास समितिसँग पनि सहकार्य एवम् लगानीका लागि अनुरोध गरिएको निमित्त महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

साझा यातायात सहकारी संस्थाको स्थापना विसं २०१८ मा भएको हो । सहकारीले विसं २०१९ देखि सार्वजनिक सेवाका लागि साझा यातायात सञ्चालनमा ल्यायो । सञ्चालनका क्रममा साझा बन्द हुने र खुल्ने क्रम चलिरह्यो ।
पछिल्लो पटक विसं २०५८ माघ ११ गते सरकारले साझालाई खारेज गर्ने निर्णय ग¥यो । सो निर्णयका विरुद्ध साझाका केही कर्मचारी र सेयर होल्डर अदालत गए । अदालतले विसं २०५९ माघ १५ गते खारेजको निर्णय बदर ग¥यो । विसं.२०६० वैशाखदेखि साझाको व्यवस्थापन सुरु भयो । जेठदेखि त्यहाँ रहेका बस मर्मत गरेर र निजी क्षेत्रसँग सहकार्य गरी सञ्चालन हुन थालेका थिए।
साझाले निजी क्षेत्रसँगको सहकार्यमा चीनको ल्हासा र भारतको नयाँ दिल्लीमा पनि सिधा बस सेवा सुरु गरेको थियो । विविध कारणले २०६२÷२०६३ को आन्दोलनका बेला सेवा प्रभावित भयो । पछि फेरि २०७० साल वैशाख १ गतेदेखि साझाले पुनर्जीवन पायो । हाल देशभर साझाका ४६ सवारी सञ्चालनमा छन् ।
साझामा महानगरपालिकाको ८६ प्रतिशत, सरकारको १० प्रतिशत र चार प्रतिशत सर्वसाधारण एवम् सङ्गठित संस्थाको सेयर छ ।
हाल २२५ साझाका सेयर सदस्य छन् । यतिखेर साझा समग्रमा नाफामा रहेको निमित्त कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया