बिहीबार, असार १० २०७८
काठमाडौं ०१:५८
वासिङटन डिसी 16:13

अहिलेको संरचनाअनुसार सङ्घीयता लागूहुन सक्दैन : नेता गौतम

इनेप्लिज २०७३ पुष ३ गते १५:३४ मा प्रकाशित

bamdevकाठमाडौँ, ३ पुस । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अहिलेको सङ्घीय संरचनाअनुसार सङ्घीयता लागू हुन नसक्ने बताउनुभएको छ ।

युवा सङ्घ नेपाल प्राकृतिक स्रोतसाधन व्यवस्थापन विभागले यहाँ आज ‘सङ्घीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपभोग’ विषयक विचार गोष्ठीमा उहाँले अहिलेको संरचनाले देशलाई द्वन्द्वतिर लैजाने भएकाले लागू नहुने बताउनुभएको हो ।

“छुटैृ राष्ट्र÷राज्यको परिकल्पना गरेर हामीले सङ्घीयता बनाउँदैछौँ”– उहाँले भन्नुभयो, “त्यस्तो किसिमको सङ्घीयता लागू हँुदै हुन्न ।” उहाँले हाम्रो जस्तो देशको संरचनामा सङ्घीयता र सारमा विकेन्द्रीकरण गरिदिएको भए राम्रो हुने उल्लेख गर्नुभयो ।

उहाँले आफूहरुले सङ्घीयतालाई बेठीक नभने पनि अहिलेको सङ्घीयताको संरचनाले देशलाई भड्कालोतर्फ लगेर सङ्कटपूर्ण अवस्था खडा गर्ने बताउनुभयो ।

“सङ्घीयताले देशको द्वन्द्वलाई समाधानतर्फ लैजान्छ, तर हाम्रो देशमा सङ्घीयताले द्वन्द्व सिर्जना गरेको छ”– उहाँले थप्नुभयो, “सङ्घीयताको विषले द्वन्द्व जन्माएको छ । भविष्यमा के हुँदैछ थाहा छैन ।”

पूर्वगृहमन्त्री समेत रहनुभएका उपाध्यक्ष गौतमले द्वन्द्व रोक्नका लागि कोसिस भएपनि नरोकिने दाबी गर्नुभयो । उहाँले देशलाई द्वन्द्वको दिशामा लैजाने विचारधाराविरुद्ध लड्ने उल्लेख गर्दै अहिले संसद् र सडकबाट एमाले लडिरहेको जानकारी गराउनुभयो ।

अहिले मधेसको समस्या नक्कली समस्या भएको भन्दै उहाँले बाहिरको निर्देशनअनुसार नक्कली समस्या जन्माएर समाजलाई द्वन्द्वतर्फ लैजान थालेको बताउनुभयो । उहाँले तराईमा मैथली, भोजपुरी र अवधि भाषालाई समाप्त पार्नका लागि भाषाबारे संशोधन गर्न थालिएको उल्लेख गर्नुभयो ।

उपाध्यक्ष गौतमले तराईलाई एउटा राष्ट्र बनाउन र नेपालबाट टुक्र्याउनका लागि सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याइएको टिप्पणी पनि गर्नुुभयो । उहाँले देशलाई आर्थिक, सामाजिक व्यवस्थापन गर्दै समृद्धि गर्न नसके देश बिखण्डनतिर जाने उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले देश र जनताका पक्षमा ल्याएका राम्रा र देशभक्तिपूर्ण कामलाई अहिलेको सरकारले उल्ट्याउने काम गरेको बताउनुभयो ।

“अहिलेको सरकारले नेपाललाई विदेशीको पाउमा पु¥याउने काम गरेको छ”– उहाँले भन्नुभयो, “तर एमालेले नेपाली काँग्रेस, माओवादी केन्द्र, मधेसी मोर्चा र राप्रपाभित्रका मान्छे खोजेर देशलाई बचाउनेछ ।” उहाँले भोलि संसद्मा एमालेसँग अहिलेको सरकारले भिडन्त गर्ने योजना बनाएको आरोप समेत लगाउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको राजनीतिक समस्याको समाधान अर्थतन्त्रले गर्ने बताउँदै प्राकृतिक स्रोतसाधन उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राविधिक शिक्षाले मात्र देशको आर्थिक समृद्धि गर्ने उल्लेख गर्दै युवालाई प्राकृतिक साधनस्रोत उपयोग गर्ने खालको शिक्षा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा रामशरण महतले राजनीतिलाई पेसा बनाएर देशको राजनीति बिग्रेको भन्दै स्थिरता ल्याउन सबै दल एकजुट हुनपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयन मुख्य अभिभारा भएको उल्लेख गर्दै राजनीतिक सहमतिमा नै देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा सङ्घका इन्चार्ज तथा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे तथा सङ्घका अध्यक्ष राजीव पहारीले अहिलेको संशोधन प्रस्तावले देशलाई बिखण्डनतिर लैजाने भएकाले संसद्बाट संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया