मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:१७
वासिङटन डिसी 21:32

संशोधनको पुरानै अडानले प्रधानमन्त्रीलाई धक्का, राप्रपाले मन्त्री र सांसदहरूको लेबी बढायो

इनेप्लिज २०७३ मंसिर २४ गते १०:२२ मा प्रकाशित

rpp-kamal-thapa-650x381काठमाडौं, २४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रीहरूसँग मासिक ३० हजार लेबी उठाउने निर्णय गरेको छ ।

राप्रपा संसदीय दलको शुक्रबार नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको बैठकले पार्टीबाट मन्त्री भएका मन्त्रीहरूसँग मासिक ३० हजार रुपियाँ लेबी उठाउने निर्णय गरेको सहप्रवक्त किरण गिरीले जानकारी दिए । राप्रपाले दुई पार्टी समायोजनसँगै लेबीको रकममा बृद्धि गरेको हो ।

‘राप्रपाको संसदीय दलको बैठकले मन्त्रीहरूबाट ३० हजार र सांसदहरूबाट २१ हजार रुपियाँ मासिक लेबी उठाउने निर्णय गरेको छ’, सहप्रवक्ता गिरीले भने, ‘दलको मुख्य सचेतक दिलानाथ गिरी, सचेतकमा पर्शुराम तामाङ र कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको छ ।’

राप्रपा र राप्रपा नेपाल एकीकरणसँगै पद समायोजन जारी रहेकाले संसदीय दलको पनि पद मिलान गरिएको सहप्रवक्ता गिरीले बताए ।

यसैबीच, संसदीय दलको बैठकमा संविधान संशोधन र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि छलफल भएको छ ।

समग्र राजनीतिक विषयमा छलफल भएपनि राप्रपाले सो विषयमा पार्टीले गरेको निर्णयअनुसार नै अगाडि बढ्ने रणनीति अख्तियारी गरेको छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यथाअवस्थामा संविधान संशोधन प्रस्तावलाई स्वीकार गर्न नसकिने र संशोधन प्रस्तावलाई तत्कालका लागि स्थगन गरेर पहिला राजनीतिक सहमति जुटाउनु पर्ने निर्णय गरेको थियो ।

राप्रपाको पुरानै निर्णयलाई निरन्तरता दिने सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भने संकेट पर्नेछ । राप्रपाले समर्थन गर्ने हो भने संशोधन विधेक कहिल्यै पनि पारित हुन सक्ने छैन ।

 

प्रतिक्रिया