जापानको ओकिनावाको भाषा विद्यालयले नेपालीहरुको कागजपत्र खोसेर राख्ने गरेको खुलासा

इनेप्लिज २०७३ मंसिर २४ गते ०:५९ मा प्रकाशित

zireao-card-1

-आनन्द कोइराला/ओकिनावा

जापानको दक्षिण क्षेत्र ओकिनावा टापुमा रहेका भाषा विद्यालयहरुले यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको कागजपत्र खोसेर राख्ने गरेको खुलासा भएको छ।

भर्खरै आएका तथा लामो समयदेखि अध्ययनरत नेपाली विद्यार्थीहरुको परिचय पत्र बाहेक जापान सरकारले प्रदान गर्ने आवासीय अनुमति पत्र जाईरियो कार्ड तथा स्वास्थ्य विमा गरे वापत पाईने होकेन विमा कार्ड सम्बन्धित व्यक्तिलाई नदिई राख्ने गरेको खुलासा भएको हो।

नेपाली विद्यार्थीहरुलाई विद्यालयको नियम भन्दै दुवै कार्ड प्रशासनका कर्मचारीहरुले हडपेर राख्ने गरेको खुलासा सहितको समाचार ओकिनावा टाईम्सले आज प्रकाशन गरे पछि यसको पुष्टि भएको हो। समाचारमा जनाईए अनुसार यस क्षेत्रमा अध्ययनरत अधिकांस नेपाली विद्यार्थीहरुसंग जापान सरकारले प्रदान गरेको कुनैपनि आधिकारीक परिचय पत्र नै छैन। जसका कारण उनीहरुको दैनिक जिवनमा प्रत्यक्ष असर पर्ने गरेको बताईएको छ।

अनुसन्धान क्रममा सवै कागजात विद्यालयले नै राख्ने गरेका कारण दैनिक कृयाकलापमा प्रत्यक्ष प्रभाव परेको तथा गंभिर मानव अधिकार उलंघन गरेको आरोप लगाईएको छ। जापान सरकारको नियम अनुसार जापान प्रवेश गरेपछि प्रदान गरिने आवासीय अनुमति पत्र जाईरियो कार्ड अनिवार्य बोकेर हिडनु पर्छ। सो कार्ड नबोकेको अवस्थामा प्रहरी जाँचका क्रममा दुई लाख येनसम्म जरिवार गर्नसक्ने कानुन रहेको छ।

यस्तै कागजपत्र नभएकै कारण विद्यार्थीहरु आफैले थप अध्ययनका लागि कलेज खोज्ने तथा अन्य अवसर खोज्न जानबाट समेत बन्चित रहने गरेका छन।

यस्तै कुनैपनि आकस्मिक विरामी पर्दा आवश्यक विमा कार्ड नहुदाँ अस्पतालले उपचारमा महंगो शुल्क असुल्ने गर्दछ। मंगलवार प्रकाशन गरिएको ओकिनावा टाईम्सको समाचारमा मानव अधिकारको गंभिर उलंघन गरिएको घटना भएकाले विद्यालयलाई कडा कारवाहीको माग गरिएको छ।

आवासीय अनुमति पत्र नहुदाँ बैक कारोवार सहित कुनैपनि प्रशासनिक कार्य गर्न पाईदैन भने विमा कार्ड नहुदाँ स्वास्थ्य लगायतका सम्बन्धित काममा तोकिएको शुल्कमा कुनैपनि सुविधा उपभोग गर्न पाईदैन।
होस्टलमा समेत मनपरिओकिनावा क्षेत्रमा रहेका अधिंकास भाषा विद्यालयहरुमा रहने नेपालीहरुलाई अनिवार्य गरिएको होस्टलको बसाई समेत समस्याको विषय बन्ने गरेको छ।

विद्यार्थीहरुको सख्या वढेपनि अनिवार्य गरिएको होस्टलमा एउटै कोठामा दर्जन वढी विद्यार्थीहरुलाई कोचेर राख्ने गरेका कारण समस्यामा पर्ने गरेका छन।

ओकिनावाको जेएसएल र जेआईसीए लगायतका भाषा विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले एउटै कोठामा ८० भन्दा बढी कोचिएर बस्ने गरेका छन। सोही कारण वसाईमा समस्या भएको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले नेपाल जापान डटकमलाई जानकारी दिए।

समुहमा खाना पकाउने तथा समुहमै खुल्ला रुपमा वस्नु पर्ने कारण दैनिक विभिन्न समस्या खप्नु परेको ती विद्यार्थीले नाम नबताउने सर्तमा जानकारी दिए। एउटै कोठामा कोचिएर बस्नु पर्दा कुनैपनि कुरामा ध्यान केन्द्रित गर्न सकिएन उनले भने।

विद्यालयले शुल्कबापतको एक वर्षको शुल्क र होस्टेलको रकम अग्रिम बुझाएर मात्र ओकिनावामा अध्ययनका लागि आउन पाईन्छ। वर्ष दिनसम्मको अग्रिम शुल्क तिरेका कारण पनि अन्यत्र जान नसकिएको बताउने नेपाली विद्यार्थीहरुले विभिन्न समयमा समस्याहरु झल्दै आएका थिए।

हालै एक नेपाली विद्यार्थीले राती सुतेको समयमा धारिलो चक्कु देखाएर हत्या गर्र्ने प्रयास लगायतका अबान्छनिय कृयाकलापका कारण विद्यार्थीहरुमा मानसिक समस्या पर्ने गरेको पाईएको छ।

विगत केही वर्षयता नेपाली लगायतका विदेशी विद्यार्थीहरुको शैक्षिक गन्तव्य बन्ने गरेको जापानमा नेपालका शैक्षिक सल्लाह दिने कन्सल्टेन्सीको गलत सुचनाका कारण समेत नेपालीहरुले समस्या खप्दै आएको ओकिनावामा अध्ययरत विद्यार्थीहरु बताउछन।
यसैबीच मंगलवार प्रकाशित समाचारको विषयमा ओकिनावाका विद्यालयहरुले कागजपत्र वाध्यताका कारण राख्नु परेको बताएका छन। विद्यार्थीहरुले जथाभावी शरणार्थी आवेदन दिने तथा अन्य गैरकानुनी काम गरेका कारण कागजपत्र राख्नु परेको प्रतिकृया दिएका छन।

प्रतिक्रिया