मानवअधिकार महाभेला २४ गतेदेखि

इनेप्लिज २०७३ मंसिर २२ गते १५:२३ मा प्रकाशित

काठमाडौँ, २२ मङ्सिर । अठसठ्ठीऔँ अन्तर्राष्ट्रिय मानवअधिकार–२०१६ को उपलक्ष्यमा यही मङ्सिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा ‘आठौँ मानवअधिकार राष्ट्रिय महाभेला–२०७३ हुने भएको छ ।

राष्ट्रिय महाभेला मूल समारोह समितिले यहाँ आज पत्रकार सम्मेलन गरी आम नेपालीको मानवअधिकारको रक्षा, लोकतन्त्र, शान्ति र दिगो विकासका लागि मानव महाभेलाको विगत सात वर्षदेखि आयोजना गर्दै आएको जानकारी दिएको हो ।

‘हाम्रो आवाज हाम्रो सहभागिता, न्याय र विविधतामा आधारित हाम्रोे समावेशीता’ भन्ने मूल नाराका साथ मनाउन लागिएको सो महाभेलामा विभिन्न चरणमा लैङ्गिक समानता दिगो विकासको लक्ष्य, विपद्पछिको व्यवस्थापनको अवस्था, संविधान र कानुनमा आदिवासी जनजाति महिलाको सवालका विषयमा बृहत् छलफल हुनेछ ।

साथै, महाभेलामा जल, जङ्गल, जमिन र न्यायिक विकासमा आदिवासी जनजातिको अधिकार, स्वच्छ खानेपानी सरसफाइ र मानवअधिकारलगायत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भई गहनरुपमा छलफल हुनेछ ।

महाभेलाको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्नुहुनेछ भने समापन राष्ट्रिय मानवअधिकार अध्यक्ष अनुपराज शर्माले गर्नुहुनेछ ।

मानवअधिकारकर्मी चरण प्रसार्इंले शान्ति प्रक्रिया अझै पनि पुग्न नसकेको हुँदा मानवअधिकार संरक्षण विषय ओझेलमा परेको बताउनुभयो । मानवअधिकारवादी प्रा डा कपिल श्रेष्ठले मानवअधिकारको ६८ वर्षको इतिहासमा नेपालमा जुनसुकै सरकार आए पनि मानवअधिकार संरक्षण गर्ने खालको कार्य नभएको टिप्पणी गर्नुभयो ।

महाभेला पूर्वसंयोजक गजाधर सुनार र शान्तलक्ष्मी श्रेष्ठले महिला, दलित, मधेसी, लैङ्गिक सवालमा पनि मानवअधिकारको ग्यारेन्टी हुनुपर्ने कुरा उठेको र निरन्तर उठाउनुपर्नेमा जोड दिनुभयो ।

सो महाभेलाको संयोजक सुनी लामाले मानवअधिकार महाभेलालाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्नका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया