बुधबार, असार ९ २०७८
काठमाडौं २३:१४
वासिङटन डिसी 13:29

डाक्टर हुने सपनाको जगनै भत्केको दिन -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ मंसिर १३ गते २३:३३ मा प्रकाशित

prakash-shrestha-1

स्कुलमा दुईचार कक्षा पढ्दै गरेको बालबालिकालाई पढेर ठुलो भएपछि के हुने वा बन्ने भन्यो भनि सोध्यो भने त्यसको स्वाभाविक जवाफ सामान्यतया डाक्टर, ईन्जिनियर, पाईलट, वकिल, शिक्षक भनेर आउने गर्छ । त्यस्तै म सानो छदाँ वा दश कक्षा पढुन्जेल सम्म मेरो मानसपटलमा ” डाक्टर ” भन्ने शव्दले गहिरो जरा गाडेको थियो की एकदिन पढेर डाक्टर बन्ने छु र सबैले ईज्जत गर्ने पेशामा काम गरेर नाम र दाम कमाउने छु । परिवारको चाहना र आफ्नो सपना साहाकार पार्ने छु त्यसको लागी फलामे ढोका भनिने प्रवेशिका परिक्षा अर्थात् एस.एल.सी. मा राम्रो मार्क ल्याएर पास भई आई.एस.सी. बायोलोजी विषय लिएर पढ्ने छु ।

वास्तवमा म आफु सानो कक्षामा औषत विद्यार्थी भएपनि माथिल्लो कक्षा ८, ९, १० मा भने दोस्रो, तेस्रो विद्यार्थीमा नै स्थान सुरक्षित राख्न सफल भएको थिए । त्यसो त त्यतीबेला “एेच्छिक गणित” विषय पढेमा साईन्स विषय पढ्न सजिलो हुन्छ भन्ने सोचेर हामी ५ जना साथीहरुले उक्त विषय ९ कक्षामा लिएका थियौ । यद्दपी ५ जना मध्ये एक जना साथी खासै उक्त कक्षामा नियमित उपस्थित भएनन् । बाँकी हामी ४ जना थियौ र ४ जना मध्ये पनि हामी ३ जना नेवार समुदायकै केटाहरु थियौ । हामी ३ जना तत्कालिन समय अलि जातिय गन्धमा घोलिएर हो की खै किन हो कहिलेकाही अर्को बाहुन साथीलाई धोका दिने काम गर्थ्यौ । त्यो के भने जव ” एेच्छिक गणित( Opt. Math) ” पढ्ने समय हुन्छ तव हामी ३ जनानै सल्लाह गरेर कहिलेकाही कक्षामै उपस्थित नहुने गरिदिन्थ्यौ । यसले गर्दा ती हाम्रा प्रिय साथीले पढ्न नपाएकोमा हामी खुशी मानेर दंग पर्थ्यौ तर आफुहरुले समेत पढाई छुटाएकोमा कुनै हेक्का समेत राखेनौ । “आफ्नै परालको टौवामा आगो लगाएर दंग पर्ने बालक जस्तो बनिरहेका थियो हामीहरु त्यतिवेला”। अझै कति सम्म भने १० कक्षा पढ्ने बेला त अधिकांश समय नजिकैको” धापे खोला” मा पौडी खेल्ने र धतुरो खाएर ओठमुख सुकाउने समेत गरिन्थ्यो । यसैमा आनन्द मानियो र भविष्य प्रति कुनै फिक्कर नभएको गन्तव्यहिन बटुवा जस्तो व्यवहार देखाईयो । अहिले सम्झिदा पनि एक मनले हाँस्न मन लाग्छ अर्को मनले पीडा अनुभुत हुन्छ ।

त्यतीबेला भर्खरै नेपालमा निर्दलीय पंचायती व्यवस्थाको अन्त्य भएर बहुदलीय प्रजातान्त्रिक व्यवस्था पनि लागु भएको थियो र यसले हामी विद्यार्थीहरुलाई पनि निकै प्रभावित पारेको थियो । साथीहरु वीच काँग्रेस र कम्युनिस्ट भन्दै दैनिक जसो खाईनपाई विनासित्तैमा झगडा हुने गर्दथ्यो । यस्तो लाग्थ्यो हामी जस्तो जानेबुझेका राजनितीमा कोही छैन र आफुसँग समान विचार नमिल्ने राजनितिक आस्था राख्ने साथी भनेको निकै ठुलो शत्रु नै हो भन्ने एउटा ठुलो भ्रम हामी सबैमा थियो जसलाई हामीहरु समय समयमा प्रदर्शित गर्न अग्रसर थियौ । यसकै कारण हुन सक्छ एकदिन सामान्य कुराकानीकै क्रममा एकजना साथीसँग राजनितिक वादविवाद परेको थियो । यसको लगत्तै भोलीपल्ट उनले सबै साथीलाई विहानै प्रार्थाना गर्ने लाईन अर्थात् एसेम्वली हुनु पुर्वनै आफ्ना मिल्ने साथीहरुलाई उक्त वादविवाद बारे अभगत गराएर मलाई नराम्रोसँग पिट्ने सोच बनाए छन् । जसको फलस्वरूप जव पहिलो घण्टी पढाई हुने समय भएको थियो म कक्षा कोठामा अग्रपंक्तीमा थिए तव उनी एक्कासी चिच्चाउँदै सबैलाई उनको राजनितिक आस्था भन्दा विपरित साथीहरुलाई पिट्न आव्हान गरे र आफ्नो दाहिने हातको पंजाले मेरो गलामा समातेर घाँटी थिच्न थाले । त्यसपछि सबै साथीहरु चिच्चाउन र आपसमा मुक्कामुक्की हान्न थाले । म भने सास फेर्न सकिरहेको थिईन र नजिकबाट मृत्युलाई निहाल्दै थिए अनि अव जीवन यत्तिकै रहेछ भन्ने दिमागमा करेन्ट प्रवाहित भएको थियो । यो लडाईमा हामी पिटाई खाने थोरै संख्यामा र पिट्नेहरु धेरै संख्यामा थिए । लडाईमा भाग नलिने केटी साथीहरु एकदमै चिच्चाए छन् र हाम्रो कक्षा भन्दा ठिक माथी रहेको विद्यालय प्रशासनको कार्यालयमा गुरुहरुले हल्लीखल्ली सुने पछि तल ओर्लेर बन्द ढोकालाई जोडले लात्ताले हानेर खोलेर म र अन्य साथीहरुलाई थप कुटिनबाट जोगाउने काम भयो । सायद केही समय ढिला भएको भए मेरो प्राण पखेरु उड्न पनि सक्थ्यो तर त्यतीबेला खासगरि दुईजना सरहरु मेरा लागी भगवान सरह भएर प्रकट हुनु भएको थियो ।

यस्तै अन्य घटनाहरु पनि त्यतीबेला हुँदै गए र नारा जुलुशहरु त सामान्य जस्तै नै थियो अर्थात् दैनिक जसो त्यसले राम्रै स्थान पाउने गर्थ्यो । त्यतिवेलाको नमिठो घटना भनेको मैले त्यसरी पिठाई खाए र साथीहरुले पनि पिठाई खाए ठिकै थियो तर मेरो आमाले मलाई पिट्ने साथीलाई त्यसै दिन एक झापड गालामा हान्नु भएछ । त्यो पनि त्यही दिन बेलुकीपख मेरो घर नजिकबाट धेरै विद्यार्थीहरुको साथमा त्यो साथी गएको रहेछ र मेरो आमालाई पहिल्यै कसैले मलाई उसले पिटेको बारे जानकारी दिएछ, जव उहाँले “मेरो छोरालाई कसले किन पिटेको भन्नु भएछ ” तव उसले मैले पिठेको हो के गर्छेस् भन्दै अपशब्द बोले छ र त्यसपछि उसलाई एक झापड गालामा लगाई दिनु भएछ । पछि यसै विषयलाई मोहोरा बनाएर मलाई तत्कालिन स्कुल व्यवस्थापन समितीको अध्यक्षले स्कुलबाट ” निलम्बन”/रेष्टीगेट गर्ने समेत कुरा आयो । यद्दपी पछि मलाई स्कुलबाट रेष्टीगेट गर्ने काम त भएन तरपनि हामी केही विद्यार्थीलाई त्यो घटना र अरु कारणले समेत चोट पुगेको महशुष गरेर एस.एल.सी. दिने समय अंग्रेजी, अनिवार्य गणित र एच्छिक गणितको ” ट्युशन, कोचिंग” पढ्न समेत अर्को छिमेकी गाउँको स्कुल गईयो । त्यतिवेला हामीलाई पढाउने गुरुहरु समेत केही राजनितिक पुर्वाग्रही भएको जस्तो आभाष भयो । वास्तवमा त्यो हाम्रो गलत अनुभुती पनि हुनसक्छ त्यसबारे अझै सम्म म अनविज्ञ छु किनकी त्यो बेलाको राजनितिक माहोल नै दुर्गन्धित र भाईवन्धुत्वलाई च्याप्ने खालको थियो जस्तो पनि अझै सम्म लाग्छ ।

जे होस् जसले जहाँ ट्युशन, कोचिंग पढेपनि एस.एल.सी. को लागी तयार भईयो र २०४७ सालको फागुन महिनाको अन्तिम तिर एस.एल.सी. परिक्षा शुरु भयो र हाम्रो परिक्षा केन्द्र छिमेकी गाउँको स्कुलमा परेको थियो । त्यतीबेला एस.एल.सी. दिने भन्दा बाहिरबाट चिट चोराउनेहरु बढि हुने गर्दथे । केही सुरक्षाकर्मी(प्रहरी) र परिक्षा संचालनमा खटिएका शिक्षक गार्डहरु समेत यस्ता काममा सहयोगी हुने गर्दथे । त्यस्तै त्यो बेलाको एस.एल.सी. सबै जसो ठाउँमा त्यति व्यवस्थित पनि थिएन किनकी राजनितीले सर्वत्र अन्यौलको वातावरण पनि सृजना गरेको थियो । यस्तैमा हल्लाखल्लाको वीचमै परिक्षा संचालन भयो । चिट चोर्नेले चोरे, चोराउनेले चोराए, परिक्षा केन्द्र बाहिर हल्ला गर्ने रमितेहरुले हल्ला पनि गरिरहे । एक किसिमको दैनिक जात्रा वा मेला जस्तो थियो त्यतीबेलाको एस.एल.सी. परिक्षा । अरु दिन परिक्षा जनतन दिईयो तर “अनिवार्य गणित” विषयको परिक्षामा भने निकै हल्लीखल्ली मच्चियो । परिक्षा शुरु भएको केही समयमै प्रश्नपत्र बाहिरिने काम भयो र त्यसको जवाफ लेखेर झ्यालबाट फाल्ने, एकआपसमा पास गर्ने अर्थात् हस्तान्तरण गर्ने काम भयो । म भने आफु गणितमा जान्ने विद्यार्थी भन्ने दम्भ बोकेर कसैलाई चिट चोराउनको लागी मद्दत मागिन र माग्नु पनि आवस्यक ठानिन् किनकी कक्षाको दोस्रो रोल्नम्बरमा दर्ज थिए । तर समय उल्टा भयो, बाहिरको हल्लीखल्ली र साथीभाईहरुको चिट र बाहिरबाट हल गरेर फालिएको जवाफका पर्चीहरुको आदानप्रदान एवं परिक्षा हलमा भएको हल्लाले मलाई पुरा डिस्टर्भ गर्यो र मैले केही दिमागले सोच्न सकिन अनि निकै आत्तिए । फलस्वरूप मेरो परिक्षा बिग्रियो, सोचेको भन्दा आधा मात्र प्रश्नहरुको सही जवाफ दिन सफल भए । अरु विषयका परिक्षामा समेत जुन किसिमको उत्साहपूर्ण तवरबाट परिक्षा दिनु पर्ने हो त्यो हुन सकेन किनकी मेरो बच्चा देखिकै कमजोरी भनेको आफुले सोचेको काम विग्रिन गएपछि धेरै समयसम्म हिनतावोधले डेरा जमाएर कुनै पनि काममा कन्सन्ट्रेट भएर काम गर्न नसक्नु हो र अहिले सम्म पनि यो कमजोरी हटाउन नसक्दा धेरै काममा नकारात्मक प्रभाव परेको छ ।

आखिर अघिपछिका बर्ष भन्दा ढिलो गरि एस.एल.सी. परिक्षाको नतिजा निस्कियो । लगभग नेपालमा एस.एल.सी परिक्षामा उत्तिर्ण हुने प्रतिशत त्यतीबेला सम्मकै उच्च हुनपर्छ र हाम्रो स्कुलमा पनि अधिक विद्यार्थी उत्तिर्ण भए । त्यस मध्ये हामी ५ जना प्रथम श्रेणीमा उत्तिर्ण विद्यार्थी थियौ जसमा ४ जना केटा साथीहरु र १ जना केटी साथी । केही समयको प्रतिक्षा पछि लब्धांङ्कपत्र( मार्कसिट) आयो । जसको आधारमा म प्रथम श्रेणीको दोस्रो क्रममा परे र मेरो एेच्छिक गणितमा राम्रो नम्बर(८७) आएको थियो तर अनिवार्य गणितमा जम्मा ५० नम्बर मात्र आयो । यद्दपी प्रथम श्रेणी(करिव ६५ प्रतिशत) मै पास भएकोले विज्ञान विषय पढ्न पाईन्छ की भन्नेमा विश्वस्त थिए किनकी त्यतीबेला सेकेण्ड डिभिजन आएकाले पनि विज्ञान विषय लिएर पढेको अर्थात् आई.एस.सी. पढेको देखिन्थ्यो । त्यसो त अहिले जस्तो मनफुकाएर जाँचकीले नम्वर दिने चलन त्यतीबेला थिएन । त्यतीबेलाको ६०-६५ प्रतिशत अहिलेको ७५-८० प्रतिशत भन्दा कम वजनदार मानिदैन्थ्यो भन्दा फरक पर्दैन ।

आई.एस.सी. पढ्ने रहर, डाक्टर बन्ने रहर मनमा अझै जिवितै थियो तसर्थ एकैचोटी १२ कपि सर्टिफिकेट, मार्कसिटको फोटोकपी गरेर सक्कल अनुसार नक्कल दुरुस्तै छ भनेर हरेक फोटोकपिको पछाडी हस्ताक्षर समेत गरेर काठमाण्डौ र पोखराका विभिन्न कलेजमा भर्नाको लागी आवेदन फर्म भर्न आफु भन्दा अग्रज छिमेकी दाईहरु, अंकलहरुलाई पठाउने काम भयो । केही समय पछि सबैतिरबाट सरकारी कलेजमा साईन्स/विज्ञान पढ्नको लागी फर्म(फारम) भर्न नमिलेको जानकारी प्राप्त भयो । किन त्यसो हुन गयो भनि सोध्दा अनिवार्य गणितमा कम्तीमा ५५ नम्बर ल्याउनु पर्ने नियमले गर्दा त्यसो हुन गएको हो भनियो । यद्दपी त्यतीबेला कलेजहरुमा स्व.वि.यु. को ज्याकफोर्सबाट त्यस्ता बाधाअड्चन फुकाउने काम हुँदो रहेछ तर त्यसबारे आफ्नो पहुँच पुग्न सकेन र त्यसबारे थाहाँ पनि भएन । यसो त त्यतीबेला प्राईभेट कलेजमा भने साईन्स पढ्न भर्ना पाईने भएको थियो तर महंगो भर्ना शुल्क र मासिक शुल्कले गर्दा आमाबाबुले पढ्ने मननै भए पढ्न जा महंगै भएपनि भन्नु भएको थियो तर त्यतिका धेरै खर्च धान्न गारो हुने र अरु ४ जना भाईबहिनीहरुलाई पनि पढाउनु पर्ने दायित्व भएकोले उक्त प्राईभेट कलेज पढ्ने सोचलाई मैले सार्थकरुप दिन उचित ठानिन् र साईन्स पढ्ने मनलाई जवर्जस्ती शान्त पार्न खोजे ।

त्यतीबेला एउटा कलेजमा ” पत्राकारिता र अंग्रेजी” विषयमा समेत पहिलो सुचीमा नाम निस्केको खवर काठमाण्डौ बस्ने एकजना अंकलबाट खवर आएको थियो तर त्यतातिर पनि जाने साहस आएन । त्यस्तै बाग्लुङ सदरमुकाममा बसेर “अंग्रेजी र गणित” बिषय पढ्ने की भनेर आवेदन फारम भर्न पनि गए तर पछि त्यतातिर पनि पाईलाहरु अगि बढ्न सकेनन् । अन्ततः नजिकै छिमेकी गाउँमा गाउँलेहरुले संचालन गरेको सामुदायिक क्याम्पसमा प्रमाणपत्र तहको व्यवस्थापन संकायमा पढ्ने निधो गरि भर्ना भएर मन नलागी नलागी पढ्न जाने काम भयो । त्यतिनै बेला मनमा एउटा कुरा खेल्यो जुन स्कुल पढ्दाको समयमा साथीहरुले भन्ने गर्थे ” छोरा बिग्रे कमर्श र छोरी बिग्रे नर्श पढ्छन् “! साँच्चिकै म साईन्स पढ्न नपाएर बिग्रिएरै कमर्श पढेको त हैन भन्ने कताकता मनमा लाग्थ्यो तर अर्को मन भन्थ्यो आखिर सारा विश्वनै वार्णिज्य र व्यवस्थापनको मातहतमा संचालन भएको छ भने कसरी कमर्श पढेर बेकम्पा हुन सकिन्छ । त्यस्तै विरामीको सेवा गर्ने पवित्र पेशा नर्शिङ् कसरी नराम्रो हुन सक्छ । आखिर सबै विषयको आ-आफ्नो ठाउँमा महत्व छ केवल त्यसमा दक्षता हासिल गर्नु जरुरी छ । यही सम्झेर आफ्नो पढाईलाई निरन्तरता दिन लागियो तथापी मनमा कतकता अरु सँगैका प्रथम श्रेणीमा पास हुने साथीहरु शहरबजारमा साईन्स विषय पढेको देख्दा र सुन्दा भने नमज्जा लागिनै रह्यो । त्यसो त जस्तो परिस्थिती थियो त्यसलाई स्विकार्नु पर्ने नै थियो ।

आखिर सबै साथीहरु आ-आफ्नो किसिमले पढे, कसैले गाउँमै र कसैले शहरबजारमा । तर विडम्बना भन्नु पर्छ त्यतीबेला साईन्स विषय लिएर पढेका समेत साथीहरु न कोही डाक्टर भए न त ईन्जिनियर । बरु कतिपय शिक्षक, प्राध्यापक र सरकारी जागीरेवाला भए । त्यस्तै आफुले पढ्न नपाएको विषय आफ्नो भाईहरुलाई पढाएर डाक्टर बनाउने रहर पनि पुरा हुन सकेन । मेरा दुईजना भाई नै एस.एल.सी. मा प्रथम श्रेणीमै पास पनि भए र आई.एस.सी. मा ” Biology ” लिएर पनि पढे तर दुवै जना MBBS पढ्ने हैसियतमा पुगेनन् । यद्दपी कान्छो भाईले भने पछि ” हेल्थ असिस्टेन्ट ” पढेर भएपनि मेरो सामान्य रहर पुरा गर्ने काम गर्यो । त्यसैले आजकल लाग्छ मान्छेमा क्षमता मात्र भएर नहुने रहेछ परिस्थितीले पनि साथ दिनु पर्दो रहेछ । यदी त्यतीबेला शान्त वातावरणमा एस.एल.सी. दिन पाएको भए मेरो गणित विषयको परिक्षा त्यसरी बिग्रने थिएन किनकी म कक्षामा गणित विषमा सबैभन्दा जान्नेमा नै गनिन्थे । अत: कतिपय अवस्थामा परिस्थिती सँग सम्झौता गर्नु पर्ने रहेछ र जे आफु सँग छ त्यसैमा चित्त बुझाउनु पर्दो रहेछ । यसरी एकदिनको २-३ घण्टाको परिक्षाको समय प्रतिकूल हुँदा मेरो डाक्टर बन्ने सपना वीचमै टुट्यो जसरी समुन्द्रमा एक्कासी आँधीबेरी आउँदा किनारैमा अवस्थित सुन्दर बस्ती खण्डहरमा परिणत हुन्छ । अझै यो रहर बच्चाहरुमा हेर्ने रहर छ । आफ्नै बच्चाहरु, भाईबहिनीहरुका बच्चाहरु जो भएपनि एकजना डाक्टर बनेको हेरेर मर्ने रहर छ किनकी त्यो रहर यसकारणले पनि हुनसक्छ की आफै पनि बुढ्यौली उमेरमा नै नपुग्दै विरामीले थलिरहेको र परिवारमा बाबुआमा पनि सधैको विरामी परिरहेकोले पनि त्यो महत्वकांक्षा बढेको हुनुपर्छ । यद्दपी सोचे जस्तो के नै पो हुन्छ र आखिर जीवन भनेकै सबैखाले समय र परिस्थिती सँग सम्झौता गरेर बाँच्नु त रहेछ । अर्को कुरा बच्चाहरुलाई आधुनिक युगमा अभिभावकको चाहना भन्दा पनि उनीहरुको चाहना अनुसार उच्च शिक्षा अध्ययन गर्ने अवसर दिनु पर्ने हुन्छ ।

प्रतिक्रिया