शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:४५
वासिङटन डिसी 20:00

नेपालका सर्वहारा भनिनेहरु सुविधाभोगी भए अपवाद चित्र बहादुर के.सी. बाहेक – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ मंसिर ८ गते २३:३५ मा प्रकाशित

prakash-shrestha-1

मैले शुरुमै विनम्रतापूर्वक आग्रह गर्न चाहान्छु म कुनै पार्टीको झण्डावाल पनि हैन र हनुमानगिरी गर्ने मनुवा पनि हैन । त्यस्तै कुनै राजनैतिक दलको राजनैतिक दर्शन पढेर विज्ञता हासिल गरेको व्यक्ती पनि हैन । म सामान्य राजनिती बाहिरबाट देखेको, बुझेको र अनुभव केही हद सम्म गरेको आम सर्वसाधरण व्यक्ती हुँ । यद्दपी लोकप्रिय बन्नकै लागी कलम चलाउने धारिलो कैंची पनि हैन । म उमेरले ४० नाघि सकेको बुढेसकालमा प्रवेश गर्दै गरेको व्यक्ती हुँ र मैले किताव पढेर भन्दा जीवन पढेर केही लेख्ने प्रयास गर्छु । मलाई कितावमा सत्यता भन्दा बढी कल्पनाहरु र भावनाहरु मिसिएको गन्ध अनुभुत हुन्छ ।

जे होस्, १५-१६ बर्षको उमेर भए देखि नेपालको राजनितिक रंगहरु दुई साना आँखाले हेर्ने र मनले बुझ्ने प्रयास गरे र कति बुझे अनि कति अलमलमा परे त्यसको लेखाजोखा मैले अझै गर्न बाँकी छ । विद्यार्थी जीवनमा कति बुझेर कति लहैलहैमा राजनितिक संगठनको भातृसंगठनमा दौडिए होला, कतिको चित्त दुखाईए होला, कतिको तारो बनिए होला, कतिको राम्रो हुन पनि खोजिए होला यसलाई पनि बुझ्न बाँकी नै छ ।

पक्कै पनि २०४६ साल पछिको परिवर्तन सँगै २०६३ को राजनैतिक परिवर्तनमा धेरै नभएपनि थोरै सानै तहमा भएपनि संलग्नता हुनु मेरा लागी पनि नौलो भएन । त्यसो त नेपाली राजनैतिक दलको गतिविधी र दलहरुको आचरण एवं व्यवहार बारे केही न केही बुझ्ने अवसर विभिन्न माध्यमबाट पाईयो । मुलत बहुदलीय प्रजातन्त्रको दुहाई दिने काँग्रेस पार्टी र जनवादी साम्यवादको कित्तामा उभिदै गरिवहरुको मुक्तीको लागी लडिरहेको सर्वहारा पार्टी भनिने विभिन्न कम्युनिस्ट घटकहरु एवं एकदलिय राजतन्त्रबाटै देशको समग्र विकाश हुन्छ भन्ने सोच राख्ने पुर्वपञ्चहरुको बारेमा थोरबहुत बुझ्न खोजियो वा सामाजिक एवं राजनितिक गतिविधीहरु विभिन्न किसिमबाट देखियो । अझै देशमा अग्रगमन र वास्तविक सर्वहारा जनताको साँच्चिकै मुक्ती रक्तक्रान्तीबाट मात्र सम्भव छ भनेर जंगलबाटै युद्ध लडेर आशाको लाली देखाउने माओवादी पार्टीको पनि १० बर्षे गतिविधी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा देखियो वा भोगियो ।

विगत देखि र अहिले सम्म पुरातन सोच, पुँजीवादी, भारतिय विस्तारवादको पृष्ठपोषक, सामान्त, साम्राज्यवादीका दलाल देखि अनेक किसिमका शाब्दिक अलांकारबाट सम्वोधन गरिने काँग्रेस र पुर्वपञ्चहरुको पार्टी राप्रपा पार्टी एवं क्षेत्रिय मुद्धालाई सधै अगाडी तेर्साउने मधेसवादी दलका साथै केही जातीवादी दलको बारे बोलेर म समय खर्च गर्न चाहन्न । उनीहरु के कति ठिक वा बेठिक जनताहरुले छुट्टाउन । यद्दपी सर्वहाराको मुक्तीको आन्दोलनमा लागेका भनिएका मुख्य पार्टीहरु वर्तमान एमाले र नेकपा माओवादी( माओवादी केन्द्र) ले नेपालमा राजनितिक परिवर्तन भएको यतिका बर्ष वास्तविक सर्वहारा, उत्पादनका स्रोत र साधन विहिन जनताको पक्षमा कुनै ठोस काम गरेको देखिदैन । बरु नेपालमा बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक संघिय गणतन्त्र आई सकेपछि निराश भएर घरजग्गा, झिटीझाम्ठा बेचेर हरियो पासपोर्टलाई जीन्दगीको सारथी बनाएर विदेशिनेहरुको लामलस्कर दिनकादिन बढिरहेको छ । आज सम्म ४० लाख भन्दा बढि युवाहरु खाडी र अन्य विकशित भनिने मुलुकमा कामचलाउ अदक्ष र अर्धदक्ष काम गरेर जीवनको रथ जनतन अगाडी बढाउन खोजिरहेका छन् ।

वास्तवमा हिजो सर्वहारा वर्गको उथ्थान र हितका खातिर सर्वासत्तावादी सामन्ती शोषकहरुको विरुद्धमा लडाई लडिरहेको उद्घोष गर्नेहरु, त्यही एजेण्डालाई प्रमुख लक्ष्य बनाएर जनताको साथ लिनेहरु जवजव सत्तामा पुगे तवतव उनीहरुको व्यक्तीगत हैसियत नवसामन्तहरुको भन्दा कमि भएन । हिजो सामान्य जुत्ता चप्पल र साईकलमा हिड्नेहरु, झुपडीमा बस्नेहरुको आज आलीशान महल र विलासिताका सवारी साधनहरु, भौतिक सम्पतिका साथै स्वदेशी एवं विदेशी कम्पनीहरुको करोडौको लगानी गर्न सक्ने हैसियत बन्यो तर जनताहरु भने रैतीको जीवन बिताउन बाध्य भए । बच्चाहरुलाई उचित शिक्षादिक्षा दिन नसकेर समयमै उपचार गराउन नसकेर कतिपय गाउँलेहरु आत्महत्या गर्न बाध्य भए र कतिपय सडकमा आएर सडकको धुलो एवं फोहोरको साथी हुन बाध्य भए ।

आज कुन सर्वहारा नेताको छोराछोरीहरुले स्वदेशी सरकारी स्कुलमा पढेर सरकारी जागिर खाएर बसेको छ ? कुन सर्वहाराको नेताहरु भारतिय शासकहरुको दवदवावमा नपरि देशको राष्ट्रीयता र सार्वभौमसत्तालाई बचाउन दृढ संकल्पका साथ उभिएको छ ? ईतिहासको कालखण्डमा कुन अहिलेका चर्चामा आएका राजनितिक दलका नेताहरु ” भारतीय गुप्तचर संस्था “र” को साँठगाँठमा नफसेका वा संलग्नता नरहेको देखाउन सकिन्छ ? कसले ईमान र जमान बेचेर काम गरेका छैनन् ? शहिदको नामको कोटामा कसले बैमानी नगरि वास्तविक सहिदको सन्तानलाई अध्ययनको लागी विदेशमा पठाएका छन् ? विदेशी आईएनजिओ को डलर कुन राजनैतिक दलले लिन छोडेको छ ? के यस्ता तमाम विषयमा नेपालका कम्युनिस्ट दलहरु आफुलाई निस्कलंक सावित गर्न सफल भएका छन् ? एकपटक तथ्यगतरुपमा कुनै राजनैतिक दलको झण्डा नसमातिकन तटस्थ भएर सोचौ त !

यस्ता तमाम प्रश्नहरु छन् जसले सर्वसाधरणको आर्थिक, सामाजिक उन्नती गर्न सक्ने आधार खडा गर्न सक्ने राजनितिक दल मिल्न सकोस् । कुन आधारमा नेपालका कम्युनिष्ट विचारधारा राख्नेहरुले सर्वहाराको भविष्य सुनिश्चित गर्न सक्ला ? यसमा अविश्वास बढ्दो छ । माओवादी पार्टीबाटै जनवादी क्रान्ती सफल बनाएर साम्यवादी शासनको बागडोर सम्हाल्न कम्मर कसेर लागेका एउटा जनयुद्धका यौद्दा वा कमाण्डर बाबुराम भट्टराई समेत” नयाँ शक्ती पार्टी” स्थापना गरेर पुँजीवादी अर्थनितीको पृष्ठपोषण गर्दै अगाडी बढेको पाईन्छ भने अव अहिले विद्यमान अरु कम्युनिष्ट घटकहरु समेत खासमा विश्व कम्युनिष्ट आन्दोलनको लिक वा दर्शनबाट विचलित त भएका हैनन् भन्ने आशंका उव्जिएको छ । त्यसो हो भने किन ” कम्युनिष्ट भन्ने शव्द झुण्डाएर जनतालाई कम्युनिजमको धंगधंगी देखाई रहनु पर्यो ? व्यवहार त आजकलका कम्युनिष्ट पार्टीहरु कम्युनिष्ट विचारधाराबाट टाढा भाग्दै वैयक्तिक तरिकाबाट नेता एवं पूर्णकालिन कार्यकर्ता आर्थिक रुपमा सम्पन्न हुने बाटो अपनाईरहेको पाईन्छ ।

यस्तै आजको राजनितिक धरातलमा एउटा कम्युनिष्ट घटकको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा पार्टीका नेता चित्र बहादुर के.सी. ले आफुलाई व्यक्तीगत तवरबाट सर्वहाराको प्रतिनिधीको रुपमा व्यवहार प्रदर्शित गर्न खोजिरहेका छन् । सर्वसाधरण जनता सरह जीवन जीउन उद्दत छन्, सामान्य लगाई, खुवाई, बसाई, हिडाई, जीवनशैली अपनाएर बारम्बार जनताको पक्षमा आवाजहरु उठाईरहेको पाईन्छ । यद्दपी उनका कार्यकर्ताहरु उनको मार्गलाई अनुसरण गरेको पाईदैन र कतिलाई उनले त्यस मार्ग अवलम्बन गराउन सफल भए वा भएनन् यो खोजकै विषय हो । हुनत कुनै समय एकै ठाउँमा रहेका नेताहरु पनि पार्टीबाट अलग रहेर अर्को पार्टीमा लागेर आर्थिक हैसियत उच्च बनाएका पनि छन् । त्यसो त कुनै समय अहिलेको माओवादीका अधिकांश नेताहरु पनि एकसाथमा काम गरेका हुन् । तिनीहरुमा समेत आजकल तिव्र आर्थिक लोभलालचले जरा गाडेको छ ।

कुनै समय सर्वहाराको व्यक्तीगत सम्पती हुँदैन सबै निजी सम्पती हुनेहरुको राष्ट्रियकरण गर्नु पर्छ भन्नेहरु नै वर्तमान समयमा नाम चलेका कम्पनीका प्रमुख हिस्सेदार बनेका छन् र व्यक्तीगतरुपमा अकुत सम्पतीको मालिक समेत । त्यस्तै राष्ट्रिय उद्योगधन्दा भन्दा कतिपय निजी क्षेत्रका उद्योगधन्दा खोल्नमै आफु पनि अग्रसर छन् । हुनत वर्तमान खुल्ला अार्थिक निती अवलम्वन गरेको छिमेकी मुलुक चीन जुन नाम मात्रको कम्युनिष्ट राज्य व्यवस्था भएको मुलुक भन्दा पनि फरक पर्दैन तरपनि आर्थिकरुपमा विश्व जगतमै निकट भविष्यमा सबैभन्दा सम्पन्न बन्दैछ त्यस्तै किसिमबाट अगाडी बढ्न सक्नु पर्यो तर त्यो आचरण पनि नेपालका कम्युनिष्ट नेताहरुमा देखिदैन । अत: नेपालमा वास्तविक सर्वहारा नेताहरुको अभाव देखिदै गएको छ । एक किसिमले पंचायती शोषक नेताहरु जस्तै सबै राजनितक दलका नेताहरुमा व्यवहार देखिदै गएको पाईन्छ । यसले गर्दा सर्वसाधरण जनताहरु घर न घाटको भएको देखिन्छ ।

अन्तमा राजनैतिक दलहरु सामाजिक, आर्थिक र राजनितिकरुपमा प्रस्ट भएर अगाडी नबढे सम्म केवल सैदान्तिक आदर्शले मात्र गन्तव्यमा पुगेर जनताको जिवनस्तरमा अनुकुल परिवर्तन आउन सक्ने सम्भावना देखिदैन । वास्तवमा नेपालमा भुराजनितिक धरातललाई सम्वोधन गर्ने न राजनितक दल भए न त राजनैतिक नेताहरु नै । त्यस्तै एउटा महत्वपुर्ण पक्ष के हो भने कुनै पनि राजनैतिक दर्शन वा वाद देशको विकासको बाधक देखिदैन यदी त्यसलाई जनताको हित हुने गरि लागु गर्न सक्ने हो भने । यसको उदाहरण भनेको सकृय राजतन्त्र भएका मुलुक, संविधानिक राजतन्त्र भएको मुलुक र गणतन्त्रिक व्यवस्था भएका मुलुक वा अझै पुँजावादी मुलुक, समाजवादी वा साम्यवादी मुलुक आदी कतिपय मुलुकहरुमा समेत चरम आर्थिक विकास र जनताहरु सम्पन्न एवं खुशी जीवन विताएको पाईन्छ । त्यो सबै नेतृत्वको दुरदर्शीता र जनता प्रतिको समर्पण हो । यस्ता नेताहरु जव सम्म देशले पाउँदैन तव सम्म कुनै पनि राजनितिक परिवर्तनले खासै अर्थ राख्दैन भन्ने कुरा नेपालको राजनितिक परिवर्तनले देखाई सक्यो । तसर्थ आउँदो दिनमा नेपाललाई सहि मार्गमा लगेर देश विकाश गर्न ” टेस्टेड नेतृत्वहरु” ले सधैको लागी राजनितीबाट विश्राम लिनु आवस्यक छ । नयाँ भिजनका साथ अगि बढ्न सक्ने नेतृत्व र दलहरु मुख्य राजनैतिक मार्गमा आउनु जरुरी छ ।

प्रतिक्रिया