दैनिक दुई करोडको भारु कारोबार बन्द

इनेप्लिज २०७३ मंसिर ६ गते ७:३५ मा प्रकाशित

rssगौशाला, ६ मङ्सिर । भारतमा ५०० र १००० हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकालगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो ।

उल्लेखित चार वटै ठाउँमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभेर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजाराँै आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले पनि भारु रुपैयाँको कारोबार गर्दै आएको थियो ।

यसका साथै जलेश्वर, मटिहानी, सम्सी र भिट्ठामोडका कपडा पसल, सुन चाँदी पसल र मदिरा पसल सञ्चालकले पनि दैनिक लाखाँै भारतीय रुपैयाँको कारोबार गर्दै आएका थिए ।

उनीहरुले नेपालबाट भारततर्फ बिरामी जचाँउन, आवश्यक सर सामान किनमेल गर्न र आकस्मिक कामकाजका लागि जाने व्यक्तिलाई नेपाली पैसा लिएर भारतीय पैसा बेच्दै आएका थिए ।

उनीहरुले नेपाली नागरिकसँग प्रति सैकडा चार रुपैयाँदेखि ६÷७ रुपैयाँसम्म लिएर भारतीय रुपैयाँ दिने गरेका थिए भने कतिले त आफ्नो वास्तविक व्यापार व्यवसायभन्दा भारु नेपाली साटेर नै राम्रो कमाइ गर्ने गरेका थिए ।

तर त्यस्ता भारु रुपैयाँको कारोबार गर्ने व्यक्तिसँग महोत्तरीमा अहिले तीन करोडदेखि पाँच करोड रुपैयाँसम्म ५०० र १००० नोट रहेको र ती सबै अब नचल्ने भइसकेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृपाशङ्कर साहले बताउनुभयो ।

उहाँले महोत्तरीका दर्जनाँै भारु कारोबारी र ठूलठूला व्यापारी नेपाल सरकारले नेपाली व्यक्तिसँग रहेको भारतीय रुपैयाँ साट्नका लागि गर्न लागेको विशेष व्यवस्थालाई पर्खिरहेको बताउनुभयो ।
अहिले महोत्तरीमा भारु रुपैयाँको कारोबार पूर्णरुपमा बन्द रहेको छ भने भारतीय रुपैयाँको अभावमा यहाँबाट भारततर्फ बिरामीलगायत विभिन्न आवश्यक कामकाजका लागि जाने व्यक्ति निक्कै मारमा परेका छन् ।

प्रतिक्रिया