बिहीबार, असार १० २०७८
काठमाडौं १२:१४
वासिङटन डिसी 02:29

समाजका प्रतिनिधिमण्डल र उपराष्ट्रपति पुनबीच भेटवार्ता

इनेप्लिज २०७३ मंसिर २ गते १२:०८ मा प्रकाशित

काठमाडौँ, २ मङ्सिर । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटी मानवअधिकार, शान्ति, लोकतन्त्र, अहिंसालगायत विषयमा समाजले सञ्चालन गरिरहेको अभियानका बारेमा अवगत गराएको छ ।

सो अवसरमा समाजले सञ्चालन गरिरहेको हिमालय बचाउ आन्दोलन, राहत अभियान, लागुपदार्थ विरुद्धको अभियानलगायत विषयमा उपराष्ट्रपति पुनलाई अवगत गराएको थियो । उपराष्ट्रपति पुनले समाजको ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिँदै प्रस्तुत विषयलाई कार्यान्वयन लान सरकारको ध्यानाकर्षण गराउने वचन दिनुभएको थियो ।

यसैगरी समाजको प्रतिनिधिमण्डलले आजै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की र सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीलाई समेत भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सञ्चारमन्त्री कार्कीसँग भेट
सूचना तथा सञ्चारमन्त्री कार्कीसँगको छलफलमा सूचना प्रविधिको विकास र विस्तारका लागि विशेष राष्ट्रिय नीति हुनुपर्ने, सूचना प्रविधिको पहुँच आम नागरिकसम्म पु¥याउन राज्यले विशेष पहल गर्नुपर्ने, हाल कायम रहेको चर्को इन्टरनेट शुल्क घटाउनुपर्ने र प्रत्येक विद्यालय÷विश्वविद्यालयमा निःशुल्क इन्टरनेटको व्यवस्था हुनुपर्ने सुझाव दिइएको थियो ।

यसैगरी, अहिंसा, सद्भाव र सहिष्णुता बिथोल्ने र जाति, समुदायमाझ घृणा फैलाउने खालका समाचारले सञ्चारमाध्यममा स्थान पाउन नहुने, झुठो र विकृत समाचारको प्रकाशन, प्रसारण दण्डनीय हुनुपर्ने, पत्रकारको सामाजिक सुरक्षाको प्रत्याभूति हुनुपर्ने, पत्रकारलाई आवासको व्यवस्था, सार्वजनिक यातायातमा उल्लेख्य छुट, सहुलियत दरमा सूचना प्रविधिको प्रयोगजस्ता सुविधा उपलब्ध गराइनुपर्ने, पत्रकारिता पेसालाई आकर्षक र मर्यादित बनाउन राष्ट्रका तर्फबाट विशेष नीति प्रतिपादन गरिनु पर्नेमा समाजले सञ्चारमन्त्रीको ध्यानाकर्षण गरेको थियो ।

यस्तै, सहकारी तथा गरिबी निवारण मन्त्री थानीसँगको छलफलमा गरिबी निवारणका लागि संसाधनको समूचित प्रयोग र उत्पादनको न्यायोचित वितरणसहित ठोस राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्नुपर्ने, रोजगारीको अवसरलाई तीव्र बनाउन विशेष लगानीमैत्री नीति अवलम्बन गर्नुपर्ने, निरपेक्ष गरिबीको रेखामुनि रहेकाको विवरण सूचीकृत गरी उनीहरुलाई राज्यले विशेष सेवा र सुविधा प्रदान गर्नुपर्ने, उनीहरुको जीवनस्तर उकास्न ठोस योजना अवलम्बन गर्नुपर्ने विषय अघि सारिएको थियो ।

समाजको प्रतिनिधिमण्डलमा समाजका सभापति गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेनुका पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया