आइतबार, जेठ ३० २०७८
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

मास्कोमा बौद्धविद्या र तिब्बतविद्यासम्बन्धी विद्वत्–सम्मेलन

इनेप्लिज २०७३ कार्तिक २८ गते २२:११ मा प्रकाशित

8-1

रूस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानको विद्वत् परिषद्को सभाकक्षमा ‘विज्ञान र धर्मको परिप्रेक्ष्यमा तिब्बतविद्या र बौद्धविद्या’ भन्ने विषयमा लगातार २ दिन (९–१० नभेम्बर २०१६) सम्म गोलटेबुल सम्मेलन सम्पन्न भयो । तीनै तिरका भित्ताहरू पौभा (थान्का) हरूले सिंगारिएकोे सभाकक्षमा मानविकी शास्त्रको अध्ययन–अध्यापन गरिने मास्कोका विभिन्न विश्वविद्यालयहरूका विद्वान्हरू मात्र नभई बौद्धधर्मको अध्ययन–अनुसन्धानमा संलग्न रूसका विभिन्न क्षेत्रका विद्वान्–विदुषीहरूका साथै भारत, मङ्गोलिया र काजाखस्तानका विद्वान्हरूको पनि समुपस्थिति थियो ।

7-1
प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्याना शाउम्यानले सम्मेलनमा उपस्थित विद्वान् अतिथिहरूको स्वागत गर्दै गोलमेच सम्मेलनको शुभारम्भ गरेपछि रूस विज्ञान प्रज्ञाप्रतिष्ठानका कार्यकारी प्राज्ञ एवं प्राच्यविद्या संस्थानका प्रमुख वैज्ञानिक भिताली नाउमकिनले सम्मेलनको शुभारम्भ गर्दै दिएको स्वागत मन्तव्यमा प्राच्यविद्या संस्थानमा दोस्रोपल्ट बौद्धविद्या सम्मेलन सम्पन्न हुन लागेकोमा आयोजकहरूप्रति धन्यवाद ज्ञापन गर्नुका साथै विभिन्न धार्मिक, नृवंशात्मक, भाषिक द्वन्द्वको निराकरणका लागि गहन प्राज्ञिक विश्लेषणको विशेष महत्व हुने कुरालाई ध्यानमा राखेर सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरूको संकलन प्रकाशनको अग्रसरता व्यक्त गरिएको थियो ।

6-1
सम्मेलनका विशिष्ट अतिथिको हैसियतले रूस तथा मङ्गोलियाका लागि दलाई लामाका विशेष प्रतिनिधि तथा रूसको पुर्बेली भेकमा पर्ने काल्मिकियाका प्रमुख लामा तेलो तुल्कु रिङ्पोचेबाट प्रस्तुत ‘रूसमा बौद्धविद्याको भविष्य’ शीर्षकको कार्यपत्रमा विश्वको छाना भनिने तिब्बतमा समेत समयानुकूल परिवर्तन आइरहेको परिप्रेक्ष्यमा एशियाका कतिपय नदीहरूको उद्गमस्थल तिब्बतबाट बग्ने नदीहरूको प्रवाह परिवर्तन गर्ने जस्ता योजनाहरू साकार गरिएमा दक्षिण एशियाको पर्यावरणमा समेत नकारात्मक असर पर्न जाने सम्भावनाप्रति सचेत गराइएको थियो । बहुभाषिक, बहुधार्मिक, बहुजातीय यूरोएशियाली विशाल देश रूसको विशिष्टताको चर्चा गर्दै सोभियत संघको विधटनपश्चात् रूसका विभिन्न जनजातिहरूले स्वतन्त्र विकासको सम्भावना पाएको उल्लेख गर्दै काल्मिकियाका प्रमुख लामाद्वारा तिब्बतविद्हरूलाई बुद्धधर्मको अध्ययनार्थ अतीतको महान् मङ्गोल साम्राज्यअन्तर्गतका क्षेत्रहरू (रूसको पुर्बेली भेक, मङ्गोलिया, हाल चीनअन्तर्गतको भित्री मङ्गोलिया र तिब्बत) को भ्रमण गर्न आह्वान गरिएको थियो । मंगोलिया र तिब्बतको पुरानो मित्र रूसको राजधानी मास्कोलाई पछिल्लो ५० वर्षमा यूरोपमा बुद्धधर्मको प्रसारको मध्यस्थ नगर बताउँदै काल्मिकियाका प्रमुख लामाबाट अन्त्यमा ‘बीसौ शताब्दी ठूलो क्षतिको शताब्दी हो भने एक्काईसौं शताब्दी सम्बादको शताब्दी हुनुपर्छ’ भन्ने दलाई लामाको कथनको उद्धरण दिंदै विभिन्न पुस्ताका विद्वान्हरूको यस भेलामा प्रस्तुत गरिने विचारबाट सबै लाभान्वित हुनेछन् भन्ने विश्वास व्यक्त गरिएको थियो ।

5-1
रूसको पूवी भेकमा अवस्थित उलान–उदे नगरको मङ्गोलियाविद्या, बौद्धविद्या एवं तिब्बतविद्या संस्थानका विद्वान् सेर्गेइ लेपेखोभद्वारा प्रस्तुत कार्यपत्रमा ‘वर्तमान तिब्बती बुद्धधर्ममा परिवर्तनको केही प्रवृत्ति र सम्भावित परिणाम’ बारे प्रकाश पारिएको थियो । उनले खास तिब्बतमा राज्यप्रशासनमा परिवर्तन र विभिन्न देशमा छरिएका तिब्बतीहरूको जीवनपद्धतिमा आधुनिक शिक्षा, वाह्य सम्बन्ध र अन्य विश्वधर्मको प्रभाव आदि वस्तुपरक कारणबाट परिवर्तन भइरहेको तर्पm औंल्याउँदै एक्काईसौं शताब्दीको बुद्धधर्म स्थानीय धार्मिक अभ्यासको प्रादुर्भावको सम्भावनासहित परिवर्तनको मार्गमा अग्रसर रहेको छ भन्ने निष्कर्ष निकाल्दै बुद्धधर्म एशियामा मात्र सीमित नरही यूरोप र अमेरिकासम्म पैmलिरहेको र केही दशकअघिसम्म निकै गौण स्थानमा रहेको भारतमा समेत बुद्धधर्मका अनुयायीहरूको संख्या तीव्र गतिले बढिरहेको र भविष्यमा भारतीथ तथा तिब्बती बुद्धधर्मको समन्वयको सम्भाव्यता आदिको उल्लेख गरेका थिए ।

4-1
मास्को प्राच्यविद्या संस्थानका विद्वान् सेर्गेइ कुज्मिनले ‘जनवादी गणतन्त्र चीनमा अवतारी लामाको चयनमा राज्यको नियन्त्रण ः बुद्धधर्मको अनुशासनको अनुरूपताको समस्या’ भन्ने विषयमा प्रकाश पार्दै सन् १९९५ मा गेल्चिन नोर नामक बालकलाई पन्चेन लामाको एघारौं अवतारको रूपमा चयनको उदाहरण प्रस्तुत गर्नुका साथै राज्यको हितलाई ध्यानमा राखेर अवतारको मान्यता र धार्मिक क्रियाकलापबारे सन् २००७ को २ सेप्टेम्बरमा जारी गरिएको आदेश (ऐन) को व्यापक विवेचना गरेका थिए । तिब्बती बुद्धधर्ममा सुधारमा सरकारको हस्तक्षेप स्वीकार्य नहुने धारणा १८ जनवरी २०१६ मा दलाई लामाबाट व्यक्त गरिएको स्मरण गर्दै भविष्यमा लामाको समानान्तर अवतारको जटिलता उत्पन्न हुन सक्ने सम्भावनातर्पm औंल्याइएको थियो । अवतारी लामाको प्रश्नले उपस्थित भिक्षुहरूको विशेष ध्यानाकर्षण गरेको हुँदा प्रश्नोत्तरको क्रममा निकै तर्कवितर्कहरू गरिएका थिए ।

3-1
उलान–उदेस्थित मङ्गोलियाविद्या, बौद्धविद्या एवं तिब्बतविद्या संस्थानकी विदुषी बौद्ध भिक्षुणी इरिना उर्बानाएभाले ‘बुद्धधर्म, राष्ट्रवाद र तिब्बतको प्रश्न’ भन्ने शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै सांस्कृतिक क्रान्तिको परिणामस्वरूप ठूलो दमनमा परेको तिब्बती बुद्धधर्मको विश्वव्यापी महत्व रहेको भए तापनि चीनको बुद्धधर्म, जापानको बुद्धधर्म, मङ्गोलियाको बुद्धधर्म, तिब्बतको बुद्धधर्म, काल्मिकियाको बुद्धधर्म आदि भन्न नमिल्ने तर्क प्रस्तुत गर्दै खुलापन र आलोचनाका माध्यमबाट तिब्बतमा बोनधर्मउपर विजय प्राप्त गरिए पनि बोनधर्मप्रति सहिष्णु रही सूर्य र चन्द्रको मन्दिर कायमै राखिएको र मङ्गोलियामा पनि लामा र झाँक्रीबीच संघर्ष भएको उदाहरणसहित अनेकौं स्थान र समयका विविध अवस्थाहरू पार गर्दै विभिन्न धर्मोपदेशको एकत्वमा आधारित भई २५०० वर्षसम्म अस्तित्वमा रहिआएको तथा धार्मिक अभ्यासमा सुरक्षित बुद्धधर्म कुनै राष्ट्रिय धर्ममा सीमित रहन नसक्ने विचार प्रकट गरेकी थिइन् । नेपालको समेत यात्राभ्रमण गरिसकेकी बौद्धभिक्षुणीले स्वयं बुद्ध भारतीय मूलका भए पनि वर्तमान समयमा बुद्धधर्मको भूमिका निकै बढेकाले यो धर्म विश्वव्यापी धर्ममा परिणत हुनसक्ने ठूलो सम्भावना छ भन्ने निष्कर्षोक्ति प्रकट गरेकी थिइन् ।

2-1
प्रश्नोत्तरको क्रममा बुद्धको जन्मस्थलको प्रतिनिधित्व गर्दै यस पंक्तिकारबाट पनि नेपालमा हिन्दुधर्माबलम्बीहरूले बुद्धलाई विष्णुको नवौं अवतारको रूपमा मान्दै आएको र बौद्धविहारहरूमा पनि ब्रह्मा, सरस्वती आदि हिन्दू देवदेवीहरू पूजनीय रहेको तथ्यको हवाला दिंदै भविष्यमा विभिन्न धर्महरूको समन्वयका लागि बौद्धदर्शन आधारशीला बन्न सक्ने सम्भाव्यताको चर्चा गरिएको थियो ।

1
बनारस (भारत) स्थित तिब्बत अध्ययन केन्द्रीय विश्वविद्यालय ९ऋभलतचब िग्लष्खभचकष्तथ ायच ज्ष्नजभच त्ष्दभतभल क्तगमष्भक० का विद्वान् भिक्षु ङावाङ साम्तेनबाट प्रस्तुत ‘तिब्बतको माध्यमबाट नालन्दा परम्परादेखि आधुनिक जगत्सम्मको यात्रा’ शीर्षकको विद्वतापूर्ण शोधपत्रमा तिब्बती भाषामा बौद्धग्रन्थ अनुवादको अद्भुत परम्पराको चर्चा गरिनुका साथै अनुवादबेगर कुनै पनि ग्रन्थ अनुपयोगी हुने हुनाले अतीतदेखि नै तिब्बतका विद्वान्हरूले मूल संस्कृत र पाली भाषाबाट ‘मध्यमिका कारिका’, ‘विनय’ आदि बौद्धग्रन्थहरू मात्र नभई ‘सरस्वती व्याकरण’, ‘कलाव्याकरण’, ‘पाणिनी व्याकरण’, ‘काव्यादर्श’ लगायत भाषिक र साहित्यशास्त्रीय ग्रन्थहरू समेत अनुवाद मात्र नगरी भाष्यग्रन्थहरूको समेत रचना गरेको तथ्य उजागार गरिएको थियो र ग्रन्थको अध्ययन, अनुबोधन र अनुवादको माध्यमबाट सठीक अनुवादको पद्धतिबारे पनि प्रकाश पारिएको थियो । प्राचीन कालमै नालन्दा विश्वविद्यालयका पण्डितहरूले तयार पारेका प्रामाणिक बौद्धग्रन्थहरू तिब्बती भाषामा अनूदित भई त्यहाँका ६ हजार बौद्धविहारहरूमा नालन्दाको परम्परा सुरक्षित रहेको र सन् १९५९ पछि तिब्बती बुद्धधर्म ‘जङ्गलमा आगो लागेजस्तै’ गरी पश्चिमी संसारमा पैmलिरहेको चर्चा गर्दै तिब्बतीय भिक्षुले वर्तमान समयमा नालन्दा परम्पराको अनुयायी तिब्बती बुद्धधर्मको ठूलो देन रहेको निष्कर्ष निकालेका थिए ।
दुई दिनसम्म संचालित गोलमेच सम्मेलनमा धर्मशाला (भारत) स्थित ‘तिब्बत नीति संस्थानका विद्वान्द्वय शेराद ओसेर र तेन्जिङ त्सुल्तरिमले क्रमशः ‘तिब्बतमा आर्थिक विकास’ तथा ‘तिब्बतमा आधारभूत संरचना विकास’ बारे प्रकाश पारेका थिए भने एलिस्तास्थित काल्मिकिया राजकीय विश्वविद्यालयका चारजना विद्वान्हरू (साआर मुगाएभ, ओल्गा जागाएभा, बाज्र बिचेएभ र मिन्गियान बित्केएभ) द्वारा क्रमशः ‘काल्मिकिया–तिब्बत राजनीतिक तथा सांस्र्कतिक सम्बन्ध’, ‘मङ्गोलिया र काल्मिकियासँग तिब्बतको सम्बन्ध’, ‘गाल्दान बोशोक्तु खाँको प्रायश्चित्त प्रार्थना’ एवं ‘पश्चिमी परम्परासँगको सम्वादमा बौद्ध आध्यात्मिक चेतना’ शीर्षकका कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । काजाखस्तानको उराल्स्कस्थित दर्शनशास्त्रमुखी निजी उच्च शिक्षालयका प्राध्यापकद्वय ओल्गा गुत्तेनलोहेर तथा मुरात आउबाकिरोभले क्रमशः ‘चौद्धौं मलाई लामाको परिप्रेक्ष्यमा शिक्षादीक्षामा निरपेक्ष्य नीतिशास्त्र तथा बौद्ध विज्ञानको समसामयिकता’ र ‘आधुनिक शिक्षाप्रणालीमा बौद्धविज्ञानको योगदान’ विषयक कार्यपत्रहरू पेश गरेका थिए । नेपालको यात्रा सम्पन्न गरिसकेका रसियाली जनमैत्री विश्वविद्यालयका प्राध्यापक बाआत्र कितिनोभ तथा कैयौंपल्ट नेपाल पुगेका पेर्म नगरका अध्येता सेर्गेइ आभेर्यानोभले क्रमशः ‘बेइजिङ«मा तिब्बतविद्याबारे अन्तर्राट्रिय सेमिनार (अगस्त २०१६)’ र ‘पर्यटकको दृष्टिमा वर्तमान तिब्बत’ भन्ने विषयमा प्रकाश पारेका थिए । बनारसस्थित तिब्बत अध्ययनसम्बन्धी केन्द्रीय विश्वविद्यालयका विद्वान् प्रदीप गोखलेद्वारा ‘निरपेक्ष्य बुद्धधर्मको सम्भाव्यता’ भन्ने विषयमा सम्मेलनका सहभागीहरूको ध्यानाकर्षण गरिएको थियो भने सेन्ट–पिटर्सबुर्गस्थित पूर्वेली पाण्डुलिपि संस्थानकी वैज्ञानिक कार्यकर्ता राइसा क्रापिभिना र मास्को दर्शनशास्त्र संस्थानकी विदुषी भिक्टोरिया लिसेन्कोद्वारा क्रमशः ‘तिब्बतको बौद्धिक उत्तरदेन’ तथा ‘बुद्धधर्ममा दर्शनशास्त्रको स्थान’ भन्ने विषयमा सम्यक् विवेचना गरिएको थियो । गोलमेच सम्मेलन संचालित स्थान प्राच्यविद्या संस्थानकै विदुषीद्वय आल्ला शुस्तोभा तथा ताच्याना शाउम्यानबाट क्रमशः ‘बुद्धधर्म र एशियाको सांस्कृतिक एकत्व’ एवं ‘शताब्दीहरूको संघारमा रूस–तिब्बत सम्बन्ध’ बारे विस्तृत जानकारी दिइएको थियो ।
यस प्रकार रूसको राजधानीमा लगातार दुई दिनसम्म विभिन्न अनुसन्धान संस्थानहरूको प्रपतनिधित्व गर्ने देशविदेशका विद्वान्–विदुषीहरूबीच खास गरी उत्तरी बुद्धधर्मका विविध पक्ष्यहरूबारे व्यापक रूपमा सूचना र विचारको आदानप्रदान भएको थियो ।
फोटो सौजन्य ः भ्लादिमिर इभाशिन
दिनाङ्क ः ९–१० नभेम्बर २०१६,
मास्को, रूस महासंघ ।

प्रतिक्रिया