अव एनआरएन अमेरिकामा मतदाता किन्ने संस्कार बन्द हुनुपर्छ – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ कार्तिक २७ गते ६:१० मा प्रकाशित

prakash-shrestha

एनआरएन संस्था किन, केका लागी स्थापना र संचालन भयो भन्ने बारे बताईरहनु परेन यसबारे धेरै जनाले धेरै थरीका आलेख लेखेर जानकारी गराएका छन् । त्यस्तैगरि विभिन्न दस्तावेजहरु एनआरएनका विभिन्न सम्मेलनहरुमा पेश गरेको विभिन्न मिडियामा सबैजसोले पढेका, सुनेका छौ । यदी यो स्तम्भकार गलत छैन भने संभवत विदेशमा रहेका नेपालीहरुलाई आपसमा मिलेर विभिन्न समस्याहरु समाधान गर्न सहयोग होस् र अत्यावस्यक सुचनाहरु आदानप्रदान गर्न, सामुहिक हित हुने कामको लागी सहयोग जुटाउन, आपतकालिन अवस्थामा आवस्यक सहयोग तत्काल जुटाउन, आपसी एकताबाट विभिन्न किसिमका गतिविधी संचालन गरि नेपाली समुदायको हित पुर्याउन र उनीहरुलाई कामको दौडानमा पर्न सक्ने कानुनी समस्या देखि विविध समस्यामा मध्यस्थता गर्न एवं नेपालमा समेत विदेशमा बस्नेहरुले पुर्याउन सक्ने सामाजिक क्षेत्र एवं आर्थिक क्षेत्रमा सक्दो योगदान सामुहिक तवरबाट पुर्याउने लक्ष्य एवं उद्देश्यका साथ एनआरएन नामक नेपालीहरुको साझा संस्था स्थापना भएको हुनुपर्छ ।

समयको माग सँगसगै यसको कार्यक्षेत्र व्यापक हुनु स्वाभाविक हो तसर्थ आजकल यसको कार्यक्षेत्र र भावी योजना निकै महत्वकांक्षी पनि हुँदै गएको देखिन्छ । त्यस्तै केही महिना पहिले( गत अगस्तको अन्तिम साता) अमेरिकाको न्युजर्सीमा भएको नवौ क्षेत्रिय सम्मेलनले पास गरेको भावी योजनालाई समेत महत्वकांक्षी योजना वा भावी कार्यदिशाको रुपमा लिन सकिन्छ ।

खासमा यस आलेख अमेरिकाको एनआरएन सँग केन्द्रित रहेकोले यस तर्फ लाग्दा उपयुक्त होला । वास्तवमा अमेरिकामा यतिनै भनेर आधिकारिक तथ्यांक नभएपनि नेपालीहरु करिव ४ लाखको हाराहारीमा हुनु पर्छ भन्ने अनुमान लगाउन सकिन्छ । यतिका धेरै नेपालीहरु रहेको देशमा एनआरएन एनसीसी अमेरिकाको भुमिका विगत देखि हेर्दा खासै प्रभावकारी देखिदैन् । भुकम्पताका आर्थिक सहायता जुटाउन र नेपालमा गएर राहत बाँड्ने एवं उद्दार कार्यमा योगदान पुर्याएको विषयलाई थाती राखेर अन्य सवालमा हेर्दा खासै उल्लेखनिय भुमिका केही देखिएन । सर्वसाधरण नेपालीलाई पर्ने विविध समस्याहरुमा एउटा अभिभावकको भुमिका खेल्नु पर्ने संस्थाले त्यस तर्फ आफ्नो उपस्थिती शुन्य देखायो भन्दा खासै अप्ठ्यारो मान्नु पर्दैन ।

सामान्यरुपमा हेर्ने हो भने पनि विभिन्न राज्यमा नेपालीहरु आकास्मिक समस्यामा पर्दा, अप्रत्याशित रुपमा गम्भिर रोग लागेर उपचारको लागी हारगुहार गर्दा, दुर्घटना एवं दैवि प्रकोप लगायतको कारणले आकस्मिक मृत्यु हुँदा अन्तिम दाहसंस्कारको लागी परिवार वा आफन्तजनबाट सहयोगको याचना गर्दा, विभिन्न समय एवं परिस्थितीमा अत्यावश्यक सुचनाहरु दिएर सर्वसाधारणलाई सुसोचित गर्ने काममा समेत (कुनै समस्या समाधान गर्न ) अग्रणी भुमिका खेलेको पाईएन बरु स्थानियरुपमा खोलिएका सानातिना सामाजिक संघसंस्थाहरु, व्यक्तीहरुको प्रयासमा यस्ता समस्यालाई समाधान गर्न खोजिएको देखियो ।
त्यसो त यस्ता विविध समस्या बारे हामी जस्ता सर्वसाधरणले अनलाईनहरुमै लेखेर भएपनि, फेसवुक गुरुपमा लेखेर भएपनि ध्यानाकर्षण गर्न खोज्दा टेरपुच्छर लगाएको पाईएन । यसको बदलामा नेपालबाट एेरेगैरे राजनितीक नेताहरु आउँदा खादा बोकेर एरपोर्ट जाने र विभिन्न रेष्टुरेन्टहरुमा जलपान सहितको भाषणभुषण गर्ने कार्यक्रम संचालन गरेर सर्वसाधरणलाई सघै रमिते बनाउने काममा तछाडमछाड भयो ।

त्यसो त चुनाव भएर कार्यभार सम्हाले देखि वर्तमान समिती निकै विवादमा फसिरह्यो । चुनावमा पराजित पक्ष चुनावमा धाँधली भएको भन्दै अदालत समेत धाउने काम भएको देखियो । युट्युवमा समेत चुनावको अभियानताका कसरी आफ्नो पक्षमा मतदानमा धाँधली गर्ने भन्ने गोप्य अडियो समेत सार्वजनिक गरिएको पाईयो ।

यतिका धेरै नेपालीहरु भएको देशमा केही हजार व्यक्तीहरु एनआरएन अमेरिका शाखाको सदस्य भएको र ती मध्ये पनि अधिकांश आफै पैसा तिरेर भन्दा नेतृत्व लिन हानथाप गर्नेहरुको निगाहबाट पैसा तिरेर बनाईएका सदस्यहरुको बर्चस्व बढी रहेको देखियो । चुनाव जित्न निकै लगानी गरेको कारण विभिन्न कार्यक्रममा नेपालबाट व्यक्तीहरु झिकाएर खर्च उठाउन खोजिएको भन्ने समाचारहरु पनि विभिन्न संचार माध्यममा चर्चमा आएर आपसमा केही व्यक्तीहरु वीच जवाफसवाल नभएको पनि हैन । त्यसबारे के सत्य हो तिनै जवाफसवाल गर्नेहरुनै जानुन् तर एउटा कुरा के सत्य हो भने यो एनआरएन संस्थामा नेतृत्व लिन ठुलो रकमको चलखेल हुने र लगानी गर्न नसक्नेहरु नेतृत्व लिन नतम्से हुन्छ भन्ने कुरा भने पक्का हो ।

यसै कुरालाई अनुमानको भरमा हैन सत्यताको भरमै थाहाँ पाउनु पर्छ भनेर यो स्तम्भकारले विगतको नवौ क्षेत्रिय सम्मेलनमा सहभागी भएर आएका केही व्यक्तीहरुबाट अनौपचारिक जानकारी लिन खोज्दा उनीहरुले एनआरएनको नेतृत्व लिन र टिममा सहभागी हुन पैसा नहुने र घण्टा( Hour base काम गर्ने) हानेर जिवन चलाउनेहरुले कल्पना पनि नगरे हुन्छ भन्ने भनाई राखेको सुन्दा वास्तवमा कतिपय आलेखमा यो संस्थालाई ” धनिहरुको क्लव” भनेको पनि ठिकै भनिएछ की जस्तो महशुष भयो ।

यो पंक्तिकार झै सामान्य व्यक्तीले पनि बुझ्ने र बुझेको कुरा के हो भने एनआरएनका हरेक देशका शाखा संगठनले त्यस देशमा रहेका नेपालीहरु जो त्यहाँ काम गरेर, व्यवसाय गरेर बसेका छन् तिनीहरुलाई आवस्यक पर्दा सबैखाले समस्या समाधान गर्न मध्यस्थता गरिदिने वा अभिभावकत्व प्रदान गर्ने संस्थाको रुपमा भुमिका खेल्ने हो न की नेपालमा लगानी गरेर आर्थिक फाईदा प्राप्ती गर्नको लागी प्राथमिकता निर्धारण गरेर कार्यक्रम त्यतातिर लक्ष्यीत गर्ने । नेपालमा विभिन्न क्षेत्रमा आर्थिक लगानी गर्न मध्यस्थता गरिदिने सवालमा लगानी गर्न चाहनेहरुलाई आपसमा सम्बन्ध स्थापित गरिदिन भुमिका खेल्नु अलग कुरा हो तर एनआरएन संस्था स्वयंनै आर्थिक लगानी गरेर नाफा कमाउने नाफामुलक व्यवसायीक संस्था हुन सक्दैन तर व्यवहार त अधिकांश नेतृत्व लिनेहरु सम्पन्न व्यापारी एवं व्यवसायी भएकोले एनआरएन मार्फत नै आफ्नो व्यक्तीगत आर्थिक सम्पन्नताको लागी यस संस्थालाई हतियार बनाउन त खोजिएको हैन भन्ने आभाष सर्वसाधरणले गरेको पनि पाईन्छ ।

अमेरिकामा मात्र हैन हरेक देशमा सामान्य नागरिकलाई आपतविपत र विविध समस्या पर्दा खासै एनआरएनका शाखाहरुले उल्लेखनिय भुमिका निर्वाह नगरेको गुनासो सामाजिक संजालहरु र मिडियाहरुमा सुन्दै आएको पाईन्छ । वास्तवमै लगानी गरेर धन कमाउने माध्यमको लागी हो भने नाफामुलक संस्था स्थापना गरेर धनाढ्य व्यक्तीहरु जुट्नु आवस्यक देखिन्छ । हैन भने विदेशमा बसेका सर्वसाधरणको हक, हितको संरक्षण गर्न, सहज वातावरणमा काम गर्न सक्षम बनाउन, अत्यावस्यक सुचनाहरु आदानप्रदान गरेर विभिन्न कानुनको पालना गर्न मद्दत गर्न, आपतविपत पर्दा सहयोग गर्न, नेपाली कला, संस्कृतीको प्रवर्धन गर्न समेत भनेर स्थापना गरिएको सामाजिक संस्था एनआरएन हो भने त्यसै अनुसार चल्नु आवस्यक छ ।

अझै अमेरिका जस्तो देशमा रहेको एनआरएन एनसीसीले समग्र विश्वभरि छरिएका एनआरएनका शाखाहरु मध्ये सबैभन्दा शसक्त भुमिका निर्वाह गर्न एनआरएन आईसीसीमा अग्रणी पंक्तीमा उभिनु पर्नेमा आपसमा गुटवन्दी र खुट्टा तानातानको घृणित खेलमा लागेर अधिक व्यक्तीहरुलाई सदस्य बनाएर उनीहरुको हितमा लाग्नु पर्नेमा त्यसो गरेको पाईएन । अव आगामी दिनमा हुने नेतृत्व छनौट र कार्यसमिती गठन हुने एनआरएन अमेरिकाको अधिवेशनमा धेरै भन्दा धेरै एनआरएन अमेरिकाको सदस्य बनाउन ” अनलाईन सदस्य बन्न मिल्ने प्रावधानलाई” व्यापक प्रचारप्रसार गरिनु आवस्यक छ । साथै सदस्यता लिन सबैलाई प्रोत्साहित गर्न अन्य व्यापक अभियान चलाईनु पर्ने हुन्छ जसमा सदस्यता लिनेले स्वयं सदस्यता शुल्क तिरेर एनआरएनमा आफ्नोत्वको भावना रहेको महशुष गराउन सक्नु पर्छ ।

त्यस्तै यस्तो सदस्यता बापत उठ्ने रकमलाई व्यवस्थित गरेर ” भरपर्दो ईमेर्जेन्सी फण्ड” को व्यवस्था गर्ने, हरेक राज्यमा पायक पर्ने गरि “ईन्फरमेसन सेन्टर ” स्थापना गर्ने, हरेक राज्यमा ” कम्युनिटी सेन्टर ” खोल्न नेतृत्वदायी भुमिका खेल्ने र समसामयिक विषयवस्तुमा जानकारी दिन जनचेतना फैलाउन एनआरएन अमेरिकाका राज्य च्याप्टरहरुले विभिन्न “अभिमुखीकरण कार्यक्रम, ट्रेनिंग वर्कसप” जस्ता कार्यक्रम संचालन गर्ने, नेपाली भाषालाई ड्राईभिंग लाईसेन्स र सार्वजनिक स्कुलहरुमा एेच्छिक बिषयको रुपमा नेपाली भाषालाई मान्यता दिन पहल गर्ने, नेपाली भाषा स्कुलहरु स्थापना र संचालनमा विशेष भुमिका खेल्ने, रोजगारी एवं व्यवसायिक तालिम नेपाली समुदायमा दिनको लागी सम्वन्धीत विभिन्न निकायलाई जुटाएर कार्यक्रम गर्न समन्वयकारी भुमिका खेल्ने जस्ता अनेकन काम गर्नु पर्ने हुन्छ ।

तसर्थ विगतको जस्तो तौरतरिकाबाट एनआरएन अमेरिकाको नेतृत्व लिदै कार्यसमिति गठन प्रकृयामा संलग्न हुने मनशाय कहिकतैबाट भएको छ भने त्यस्तो दिग्भ्रमित पार्ने किसिमबाट अगाडी बढेमा यस संस्थाको विकल्पमा अरु संस्थाहरु पनि विकास हुन सक्ने देखिन्छ र यस्तो आवाज पटकपटक सुन्नमा नआएको पनि हैन । अत: सबैलाई सहभागी बनाएर सबैको मन जितेर आगामी दिनमा एनआरएन एनसीसी अमेरिकाको कार्यसमिती गठन हुन सकोस् । त्यस तर्फ सबैको ध्यान जान सकोस् भनि अनुरोध छ ।

प्रतिक्रिया