निजी विद्यालयको विरोध प्रदर्शन

इनेप्लिज २०७३ कार्तिक २६ गते १३:१३ मा प्रकाशित

schoolकाठमाडौँ, २६ कात्तिक । प्रस्तावित शिक्षा नियमावलीमा निजी विद्यालयप्रति पूर्वाग्रह गरिएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली, २०७३ को मस्यौदामा निजी लगानीमा सञ्चालित विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन गर्न अनिवार्य गरिएको र विद्यालयको तहगत संरचना ध्वस्त पार्न खोजिएको सो सङ्गठनको आरोप छ । एनप्याब्सनसँगै संस्थागत विद्यालय सङ्घ (इसान)पनि विरोध प्रदर्शनमा सहभागी भएको थियो ।

सहभागीले हातमा कालोपट्टी बाँधेर एक घन्टा धर्ना दिएका थिए । धर्नापछिको सभामा बोल्दै एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म करिब ३० प्रतिशत क्षेत्र ओगटेको निजी शैक्षिक क्षेत्रलाई नियमावलीको परिभाषामा समेत नराखिएकामा आपत्ति जनाउनुभयो ।

उहाँले नियमावली जारी गर्दा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।

प्रतिक्रिया