शनिबार, असार ५ २०७८
काठमाडौं १५:३६
वासिङटन डिसी 05:51

कस्को हितमा संबिधान शंसोधन गर्ने : अंगिकृत ज्वाईँहरुको अथवा रैथाने मधेसीको जनताको ?

इनेप्लिज २०७३ कार्तिक २२ गते १५:३२ मा प्रकाशित

SARGAM
लोकतन्त्र पछि राज्य पुनर्संरचनाको मुद्दा माथि बहस चलेको धेरै भईसकेको छ । पहिचानको सिद्दान्तलाई केहि स्वनामे पहिचानवादीहरुले बारम्बार बहसमा ल्याईरहेका छन् मानौ यो नै उनीहरुको जीवन मरणको सवाल हो , उनीहरुको लाज ढाक्ने एकमात्र अस्त्र यहि नै हो । यसो भन्दा मलाई देशमा चलेको पहिचानको आन्दोलनको बिरोधी भनेर कसैले बुझ्छ भने त्यो पहिचानवादी हैन गुमराहवादी हो । सत्य के हो भने झूठको पूलिन्दा बनाएर जनता दिग्भ्रमित पार्नेहरु अझ बलिया बन्दै गईरहेका छन् । पछाडि परे पारिएका बर्गहरु जहाँको त्यहिँ छन् ।

गज्जबको कुरा यहाँ आफ्नो पहिचान अरु कुनै अन्तराष्ट्रिय संघ संस्थाहरुले कपट र झपट गरेर प्रायोजन गरेका छन् । नब्बे प्रतिशत भन्दा बढि जनमतले बनाएको संसारकै अब्बल मध्येको संबिधानलाई सिंहदरवारको भित्ता फोहोर बनाएर जबर्जस्ती बिभेदि संबिधानको रुपमा ब्याख्या गरिदै छ । दुखको कुरा यहि पहिचानको आन्दोलनमा वास्तविक सरोकारवाला नै समावेश छैनन् , तिनीहरु या त तिनै आन्दोलनका नाईकेहरुकोमा या त अरबमा पसिना संग श्रम साटिरहेका होलान्।

मेरो चिन्ता ती ज्यानहरुको हो जसले कहिल्यै सिंहदरवार देखेकै छैनन्, मेरो चासो तिनीहरु प्रति हो जसलाई कहिल्यै सिंहदरवारले देखेकै छैन । सिंहदरवारमा हिजो तिनीहरुकै प्रतिनिधित्व जनाउन आएकाहरुले न त उनीहरुको जीवनमा रंग छरे न त कुनै रंगले उनीहरुलाई रंग्यायो । पहिचानवादीहरुले जब प्रतिनिधित्वको समय आउथ्यो तब आफू र आफ्नै श्रीमतीहरुलाई नियुक्त गर्थे, आफ्नै आसेपासेहरुलाई नियुक्त गर्थे भने सिंह दरबारले पनि तिनैलाई मात्र देखिरह्यो । ती अभावमा रन्थनिएका मनहरुमा कालो पोत्ने काम सत्ताले मात्र हैन तिनीहरुकै नाईकेका जत्थाले गरिरहेको छ । यहाँ सम्म कि आफैले नमान्ने भनेर बहिस्कार गरेको संबिधान अन्तर्गत रहेर सरकार बनाउने र गिराउने बेला लाजै नमानी संसदीय कृयाकलापमा समेत सहभागी हुने अनि फेरि सडकमै आएर संबिधान मान्दैनौ भन्ने जस्तो हास्यास्पद पहिचानको नारा जनताले बुझेरै होला यी तथाकथित पहिचानवादीहरुलाई जनताले राम्रै संग खुम्चाईदिएका छन् ।

म बिभेदी होईन, मधेसमा नजन्मे पनि हिड्न जानेको मधेसमै हो, खेल्न जानेको मधेसमै हो, मेरा वाल सखाहरु मधेसी नै छन्, मेरो बुझाईमा संबिधानको कुनै धाराले मधेसी भएकोमा या जनजाति आदिवासी भएकोमा बिभेद गरेको छैन, बिभेद त काठमांडौ र काठमांडौ हाँक्ने एउटा सानो तप्काले गरिरहेको छ । भोलि साँच्चै मधेस सम्पन्न भएमा म पनि सम्पन्न हुनेछु, दूर दराजका जाति जनजाति सम्पन्न भए म पनि सम्पन्न हुनेछु तर किन म र मेरो बिचार भएका तमाम मधेसी, जनजाति मित्रहरुलाई यो पहिचानको आन्दोलनले छुन सकेको छैन ?

के ३६ बर्ष अघि पहाडबाट तराई झरेका मेरा बा आमा र मेरो हैसियत भारतबाट आएका अंगिकृत ज्वाईहरुको जति पनि छैन ? मलाई आज पनि यो सत्य घटनाले पिरोल्छ:

२०६५ पुसमा पहाडिया मूलकै कर्मचारी भएको नाताले म र मेरा तत्कालीन सहकर्मी प्रमुख नेपाल भारत सिमा क्षेत्रमा अपहरणमा पर्यौँ:

दुई जना हतियारधारी युवाले एक्कासी हाम्रो मोटरसाईकल रोके । हामी दुबैको कन्चटमा पेस्तोल ताक्दै आमा छोएर ‘पहाडिया शासक’ भन्दै तथानाम अश्लील गाली गरे । अनि मोटरसाईकल खोस्दै हाँकेर मेरा सहकर्मी प्रमुखलाई बिचमा राखि मलाई फेरि लिन आउने र यताउता गएमा मारिदिने धम्की दिएर हुँईकिए ।

म खेतै खेत भागेर ज्यान बचाउन सदरमुकाम तौलिहवा आएँ तर मेरो सहकर्मी मित्रलाई दश दश दिन सम्म भारत लगेर अँध्यारो कोठामा दैनिक मानसिक यातना दिई घरमा फिरौती रकम मागिरहे ।

अचम्म त के भने ती तिनै पहिचानवादी मध्येका टोली नेता एक थिए जसले पाँच बर्ष स्थानीय निकायको जनप्रतिनिधि बनेर गा. बि. स. को बजेट झ्वाम पार्ने मात्र होईन हत्या, डकैती र लुटपाटको आरोपमा जेल समेत परेका थिए ।

तर अफ़सोच ! मेरा सहकर्मी मित्र न शासक नै थिए, न आन्दोलन दबाउने मध्ये थिए, न मधेसीको बिभेद गर्ने मध्ये नै थिए , उनी त मधेसमै ४० बर्ष अघि जन्मेका थिए । आफूलाई मधेसी नै भन्न रुचाउँछन् । मधेसका मसिहा भनाउँदाहरुले भन्दा राम्रो अवधि बोल्छन् उनी । उनैलाई अपहरण गरेर कस्तो पहिचान खोज्दै थिए भन्ने बारेमा म अझै अनबिज्ञ छु ।

तर यहि घटनालाई नज़ीर बनाएर सबै मधेसी जनजातिलाई दुत्कार्ने कुरा किमार्थ जायज़ हुन सक्दैन । किनकी उनकै विवेकी मधेसी मित्रहरुले नै उनलाई अपहरणमुक्त गर्न दिनरात खटेका थिए ।

समस्या हामी आफै भित्र छ, हाम्रा आप्रवासी ज्वाई साहेव , भाइसाहेब र दाई साहेबहरुका बिभेदी मनहरु भित्र छ, कथित स्वनामे जातीय क्षेत्रिय आन्दोलनका नाईकेहरु संग छ । जसले जबर्जस्ती लादिएको बन्दमा दुई छाक टार्न ट्याक्सी चलाउने मज़दूरलाई नव एलिटको भिजिलान्ते देख्छ, संसारमा जातियता उन्मूलन हुँदै गर्दा जातियताका चर्का नारा लगाउन उक्साउनेहरुको दिमागमा छ, सारा बिष्व एउटै आँगन बनिरहँदा क्षेत्रियता च्याँप्नेहरु संग छ अनि कसैको उक्साहटमा सुधार हुँदै गरेको सामाजिक संरचना भत्काएर रमिता हेर्ने हरु संग छ ।

समाजमा चेतनाको स्तर बढेर छुवाछुतको अन्त्य हुँदै गर्दा दलितको दलन भजाएर दिन दिनै अझ बढि दलित बनाईरहने हरु यहिँ छन्, जनजातिलाई अझ बढि जनजाति बनाएर त्यसको फाईदा हडप्ने हरु यहिँ छन्, मधेसीलाई नेपाली नबनाई मात्र मधेसी बनाउनेहरु र आफ्नो राज्य बन्यो भने सबै ठिक हुन्छ भन्ने संकृर्ण सोँचमा मगराँती, लिम्बुवानी र खसवादी बनाउन खोजिरहेछन्, संघीयता बन्नु कुनै एक जाति बिशेषको हाली मुहाली होईन भन्ने कुरा बुझ्न बुझाउन नसकी पहिचान भन्दै पुनर्संरचनाको नाममा हामी बिभाजन निम्त्याईरहनेहरु पनि यहिँ छन् ।

हेर्दै र बुझ्दै जाँदा संघीयता र धर्म निरपेक्षताकै मर्म बिपरित सामाजिक संस्थाहरु लागि परेका छन् ।परिवर्तन गरेर देखाउन आफ्नो ब्युटिनेस देखाउनु पर्नेमा अर्काको मैलो देखाउन उद्दत छन् ।

दुखका साथ भन्नुपर्छ: तराई मधेसमा चलेको पहिचानको आन्दोलन त्यहाँका श्रमजीवि बर्ग हैन जमिन्दार र बाबुहरुले नेतृत्व गरेका छन्, बंशज मधेसी भएकै आधारमा कसैलाई राष्ट्रपति, प्रधानमंत्री बन्न संबिधानले रोकेको छैन, फित्ताले नापेर यो राज्यको यहाँ सम्म सिमाना हो र हुनुपर्छ भन्ने कुरामा सीमामा बसेर हलों कोदालो चलाउनेहरुलाई चासो छैन । लैंगिक र भाषिक पहिचान त समय अनुसार परिवर्तन हुने हो, त ती बर्गहरुको गरीबीका हुनुपर्थ्यो, अशिक्षा, अज्ञानता र अबिकासको पो हुनुपर्थ्यो, जो कहिल्यै भएकै छैन ।

हो ! केहि अभिजात्य मान्छेहरु निरन्तर सत्तामा छन्, तीनीहरुकै एकछत्र प्रभाव छ सत्तामा, तर तीनीहरुको जात र थर संग जोड्दै हामी , सबैलाई शासक बनाईरहेका छौ । केहि पछाडि परेका जातिहरु पनि छन, तिनकै नाममा हामी मध्ये धेरैले रसस्वादन गरेका छौँ , काठमांडौमा करोडौँको सुनको ब्यापारी सुनार, ब्रिटिश लाहुरेको छोरा राई लिम्बु अनि करोडौँको गलैचा युरोप अमेरिका निर्यात गर्ने थकाली र काठमांडौमा महलहरु भएका जमिन्दार यादव, चौधरी, नेवार, गुरुंग जस्ता धेरै हामी पहिचानवादीहरुले जातिकै नाममा गुलियो चाटिरहेका छौँ । अनि तिनीहरुकै प्रतिनिधित्व गर्दै सरकारी खर्चमा अक्सफोर्ड क्याम्ब्रिज पढेर अहिले समाज भाँडेर सत्ता सोपान गर्न उद्दत छौँ तर वास्तविक मान्छेहरुको न पहिचान छ न त यो मुद्दामा उनीहरुलाई कुनै चासो नै छ ।

त्यति मात्र हैन दुरदराजका जनजातिहरु मात्र त के बाहुन क्षेत्रीहरुको दुर्दशा समेत कसैलाई मतलब छैन किनकी उनीहरु कुनै सिद्दान्त जान्दैनन तर उनका साहेवहरुले पढेको पहिचानको सिद्दान्त भित्री मनले मन पराएका छैनन् । यदि पराएको भए आज क्षेत्रिय र जातिय पार्टीहरु सबैभन्दा ठूला हुने थिए , राष्ट्रिय पार्टीहरुको अस्तित्व संकटमा पर्ने थियो ।

तर मधेसका सबै जनतालाई भारतीय र दोश्रो दर्ज़ाको देख्ने हाम्रा कथित पहाडिया मानसिकताका अबुझ स्वाँठहरुलाई भन्नै पर्छ, तिम्रो मधेस र मधेसीलाई हेर्ने दोषी चश्मा फेरेर आऊ । सिमानामा जंगे पिलर बनेर देश बचाउने मधेसीहरु भारतीय होईनन्,तिमी भन्दा अब्बल नेपाली हुन्, त्यस्तै सबै बाहुन क्षेत्रीय शासक पनि होईनन् । हिजो सप्तरीमा देश डुब्नबाट बचाउनेमा मधेसका मसिहा भनाउँदा नेताहरु थिएनन्, ती सीमा बचाउनेहरुको अधिकारको ग्यारेन्टी हुनैपर्छ,त्यसका लागि संबिधानको संसोधन हैन प्रभावकारी कार्यान्वयन पो जरुरी छ ।

सरकारले धेरै पहिले देखि सबै गाबिस नगरपालिकाहरुमा समानरुपले नियमित बजेट पठाएकै छ त्यहि बजेटले पहाडमा मनग्गे बिकास हुन्छ, भईरहेको छ । जनताहरु मरिमेटी श्रमदान गर्छन्, गास काटेर पैसा उठाउँछन्, त्यति नै बजेट तराईका दक्षिणी भागमा कता हराउँछ ? कामै नगरी बजेट सकिन्छ, या त कमसल काम हुन्छ । मिलिभगतमा स्वनामे पहिचानवादीहरुले हसुरेकै छन्, यदि होईन भने दक्षिणी तराईका गाउँहरु हेर्नुस, अहिले पनि त्यहाँको बाटो, पुल पुलेसा, बिद्यालय ,स्वास्थ्य केन्द्र र आयआर्जनको कार्यक्रमको अवस्था कस्तो छ ? बाटो ग्राभेल नहुदै गिट्टी सकिन्छ, कल्भर्ट नबन्दै भत्किन्छ, मिलेमतोमा मरेका मान्छेहरुको नाममा बृद्द भत्ता उडाईने पनि त्यतै, बैठक गोष्ठीमा पैसा उडाईने अनि चोँख्खिन पहिचानको मुद्दा उठाउने वास्तविक नव एलिटहरु पनि त्यतै । अनि तिनीहरु नै त्यसका हर्ता कर्ता भएर बजेट माथि रज़ाई गरेको हो कि राज्य सत्ताका शाशक बर्गहरु त्यहाँ पुगेका हुन् ? स्थानीय निकायको कार्य सम्पादन मूल्यांकनमा ९० प्रतिशत तराईका सीमावर्ती गाविस फ़ेल हुनु यसको बलियो प्रमाण हो कि होईन ?

त्यसो त धुर्मुस सुन्तली जस्ता काम गर्नेहरुले जात जाति हेरेर हैन जनताको दुख देखेर ओत बनिरहेका पनि छन् ।

मधेसमा उल्लेख्य मात्रामा पहाडी समुदायका मान्छेको बस्ती छ, कुनै एक जातिको एक छत्र बसोवास कतै छैन, निर्वाचन क्षेत्र निर्धारण गर्दा पहाडी समुदायको संख्या जोडेर मधेसी बनाउने र त्यहि जनसंख्याका आधारमा निर्वाचन क्षेत्प हुनुपर्छ भन्ने तर अन्य बिषयमा उनीहरुलाई उपेक्षा गर्ने द्वैध चरित्रलाई कसरी बुझ्ने ? यसरी सामाजिक बितरणको सिद्दान्तको खिल्ली उडाउँदै एकले अर्कालाई शत्रु बर्ग देख्ने संस्कारले कस कसको पहिचान देखिने र मेटिने हो भन्न गाह्रो छ ।

अझ जातीय राज्य माग्नेहरु, स्वतन्त्र मधेस भनेर बिभाजनको हौवा फैलाउनेहरु देखि अंगिकृत नागरिकले कार्यकारी प्रमुख पनि पाउनुपर्छ भन्नेहरु जस्ता मधेसी जनताको कोटामा युरोपबाट दीक्षित साहेवहरुले एक पटक साँच्चैका रैथाने मधेसीको भाग खोस्न गरेको यो रस्साकस्सी मधेसी जनताले कहिले बुझ्ने होलान् ?

दाईजो नपाएको झोकमा एउटी महिलालाई जिउँदै जलाउँदा कथित पहिचानवादीहरु बोल्दैनन्, दिन दहाडै महिलाहरु बलात्कृत हुँदा मुख खोल्दैनन्, सिमावर्ती ईलाकामा भारतले बनाएका बाँधले तराई डुबेर जलमग्न हुँदा कुनै मधेसी नेता बोल्न सम्म पनि बोल्दैनन्, किनकी उनीहरुलाई सत्तामा जाने रस्साकस्सी छ, भारतको आशिर्वाद चाहिएको छ । अहिले पनि बिकट गाउँमा यिनै पहिचानवादी अगुवा साहेबहरुको जीवनशैली राजा महाराजाहरुको जस्तो छ भने जनताहरु गरीबी र अभावमा शास धानिरहेका छन् ।

त्यहि मधेस हो जहाँ छोराले अन्तर्जातीय बिवाह गरेको आरोपमा बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने काममा लाग्ने राज्य हैन त्यहिँका साहेबहरु हुन् , यहाँको बिभेदमा राज्यको हैन त्यहिँका तथाकथित पहिचानवादीहरुको पनि दोष छ, जसले आफ्ना छोरा छोरी राज्यको खर्चमा युरोप अमेरिका पढाएर जनताका छोरा छोरीलाई मज़दूर बनाईरहेका छन् । गाउँका सामुदायिक बिद्यालयमा राजनीति गरेर पढाई तहस नहस पार्ने र गरीबका छोरा छोरीलाई आफ्नो ग़ुलाम बनाईरहने यीनीहरुको चाला बुझ्न सीमावर्ती तराई तिर झरे हुन्छ ।

हो, संबिधानमा केहि कमज़ोरी अवष्य छन् तर यो अपरिवर्तनीय दस्तावेज़ होईन, त्यसैले आफ्नो पहिचान खोज्ने होडमा प्राप्त उपलब्धि पनि गुमाउने धृष्ठता कसैले गर्नुहुन्न, बिष्व बाटै लोप भईरहेको जातीय र क्षेत्रिय पहिचान भन्दा माथि उठेर वास्तविक पिछडिएकाहरुको लागि नयाँ मार्गचित्र कोर्नु जरुरी छ । यो सत्यता जान्दा जान्दै लगातार आरोप चाहिँ राज्यलाई लगाईरहने, आफूले चाहिँ मधेस दुखेको बेला तमासा हेर्ने तर दोष चाहिँ अरु समुदायलाई लगाईरहने आन्दोलन पहिचानको हो कि आफू शक्तिमा टिकिरहने अस्त्र हो ? आम जनतालाई जवाफ चाहिएको छ । त्यसैले मधेसी जनताले बुझे हुन्छ संबिधान शंसोधन कसका लागि: रैथाने मधेसी या अंगिकृत मधेसीका लागि ?

भोलि मधेसीको नाममा कुनै अंगिकृत नागरिकताधारी र जनजातिको नाममा सुकिला मान्छे मात्रै कार्यकारी पदमा पुग्यो भने आफ्नै भाग खोसिन्छ भन्ने कुरा रैथाने मधेसी जनजातिले बुझ्नै पर्छ ।

प्रतिक्रिया