दुर्घटना न्यूनीकरण गर्ने अभियान सुरु

इनेप्लिज २०७३ कार्तिक २१ गते ८:३१ मा प्रकाशित

nepal-police-logo1भक्तपुर, २१ कात्तिक । सडक दुर्घटना वृद्धि भएर अत्यधिक व्यक्तिको ज्यान जान थालेपछि महानगरीय प्रहरी वृत्त थिमिले आजदेखि दुर्घटना न्यूनीकरण अभियान सुरु गरेको छ ।

विशेषगरी अरनिको राजमार्ग अन्तर्गत– ६ लेन सडकखण्डको थिमि क्षेत्रमा बढी दुर्घटना भएपछि त्यस्ता क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्ने अभियान सञ्चालन गरिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

अभियानलाई विभिन्न दलका स्थानीय नेता, बासिन्दा र सरोकार भएका निकायले साथ दिने भएका छन् । मध्यपुरथिमिको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा पर्ने मध्यपुर अस्पताल नजिकैको आकासे पुलसँगै दाहसंस्कारका लागि शव लैजान खुला गरिएको सडकको बारलाई तत्काल बन्द गरी शव लैजाँदा मात्र खोल्न मिल्ने गरी बार लगाउने व्यवस्था तत्कालै गरिने भएको छ ।

विगत एक सातामा यहीँबाट बाटो काट्ने क्रममा पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिँदा तीन जनाको ज्यान गएको थियो । त्यसैगरी क्षयरोग अस्पताल अगाडि ६ लेन सडकमा बार नलगाई दायाँबायाँ खुला राखिएको क्षेत्रलाई बाटो काट्न नमिल्ने गरी स्थायी रुपमा बार लगाएर बन्द गरिने भएको छ ।

मध्यपुरथिमि चोकबाट अनन्तलिङ्गेश्वर नगरपालिका दधिकोटतर्फ जाने सडक दैनिक सवारी चाप हैरानी भएपछि त्यस क्षेत्रमा तत्कालका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म एकतर्फी सवारी साधन सञ्चालन गरिने भएको छ ।

जथाभाबी सवारी पार्किङ गर्ने, तीन जना सवार र तीव्र गतिमा सञ्चालित मोटरसाइकल एवम् सवारी साधन तथा बस बिसौनी बाहेक अन्यत्र रोकिएका कुनै पनि सवारी साधनलाई कारबाही गरिने, आकासे पुल भएका स्थानमा सडकबाट बाटो काट्ने पैदलयात्रीलाई सचेत गराउने र जनचेतनामूलक कार्यक्रमको सुरुआत गरिएको ओलियाले जानकारी दिनुभयो ।

यता थिमिकै बाहाखा बजार मिलरोड सडकमा जथाभाबी हुने पार्किङ र साँघुरो सडकका कारण दैनिक सवारी चाप हटाउन सवारी साधन रोक्न र पार्किङ गर्न नदिइने, सडकका दायाँबायाँ सञ्चालित तरकारी बजारलाई हटाएर अन्यत्र सारिने, बिना हेल्मेट चलाउने र तीन सवार मोटरसाइकललाई नियन्त्रणमा लिएर चालकलाई कडा कारबाही गरिने अभियान आजैदेखि सुरु गरिने भएको छ ।

मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनकृष्ण श्रेष्ठ, उपप्रमुख मुरारी आचार्य, थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, शङ्खधर साख्वा प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठ लगायत राजनीतिक दलका स्थानीय प्रतिनिनिले दुर्घटना घटाउन र सडक कब्जामा लिएर व्यवसाय सञ्चालन गरिरहेकालाई कारबाही गर्न प्रहरीलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया