महापर्व छठ मनाइँदै

इनेप्लिज २०७३ कार्तिक २१ गते ८:०४ मा प्रकाशित

chhad-parbaजनकपुरधाम, २१ कात्तिक । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवम् हर्षोल्लासपूर्वक मनाइँदै छ । श्रद्धालुहरु यहाँका इतिहासवर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिणि सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी र तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता र फूल हाली खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्छन् ।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ । यस पर्वमा धनी, गरिब एवं उचनीचको भेदभाव छाडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजार्चनाका लागि उभिने गरेको पाइन्छ ।

यस पर्वका अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरहीले पानको पात, कुमालले माटाको भाँडा र डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिकता देखिन्छ ।

बाँसको सामग्रीमा अघ्र्य दिइएपछि वंशवृद्धि, केरामा विष्णुको बास, ठकुवामा समृद्धि र मौसमी फलप्रति कृतज्ञता चढाइएको मान्यता पनि पाइन्छ । छठपर्व मनाउनाको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्य समेत छन् । वैज्ञानिक, ज्योतिष्तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै श्रद्धालुले यस पर्वमा पूजार्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास गरेको पाइन्छ ।

प्रतिक्रिया