शुक्रबार, असार ११ २०७८
काठमाडौं १४:४४
वासिङटन डिसी 04:59

नेपाली फुटबल टोली तेस्रो उपाधिका लागि टिमोरसँग भिड्दै (यसरी हेर्न सकिन्छ लाईभ)

इनेप्लिज २०७३ कार्तिक २० गते ११:०७ मा प्रकाशित

nepali-football-team-malaysiya

काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज पूर्वी टिमोरसँग पहिलो खेल खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे मैदानमा उत्रँदा नेपाल जितको खोजीमा हुने निश्चित छ । कारण नेपाल पूर्वी टिमोरभन्दा बलियो प्रतिद्वन्द्वी मानिन्छ । हुन पनि नेपालले सन् २०११ मा काठमाडौँमा भएको विश्वकप छनोटका दुवै खेलमा पूर्वी टिमोरलाई भारी अन्तरले पराजित गरेको थियो । सोक्रममा नेपालले पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा ५–० को जित दर्ता गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा पनि पूर्वी टिमोर ब्रुनाईसँग ४-० ले पराजित भइसकेको छ । तसर्थ पनि यो टोलीलाई तुलनात्मक कमजोर मानिएको छ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतुकी कोजीले भने नेपालले पूर्वी टिमोरलाई कमजोर प्रतिद्वन्द्वी नठान्ने बताउनुभयो । नेपालका लागि सुःखद यो हुन सक्छ, यसअघि हातको शल्याक्रिया गरेका भरत खवासले खेल्ने सम्भावना छ । उहाँ नेपाली टोलीका भरपर्दा स्ट्राइकर हुनुहुन्छ । गत वर्ष बङ्गलादेशमा भएको बगबन्धु कप र लगत्तै १२ औंँ दक्षिण एसियाली खेलकुद (साग)को फुटबलतर्फ स्वर्ण जितेको नेपालको हाल उच्च मनोबल छ । अहिले नेपाललगत्तै तेस्रो उपाधि जित्ने दाउमा छ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार ब्रुनार्ईविरूद्ध खेल्नेछ । यो समूहमा पाकिस्तान र बङ्गलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले आज पूर्वी टिमोरलाई हराएका खण्डमा मात्र पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । सोलिडारिटी कप एसिया क्षेत्रमा कमजोर फिफा विश्व वरियता भएका राष्ट्रको प्रतियोगिता हो । रासस नोट: खेल एएफसीको युट्युब च्यानलमा लाइभ ब्रोडकास्ट हुनेछ।

प्रतिक्रिया