मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०५:१८
वासिङटन डिसी 18:33

उपयोगी भएर पनि अन्डाको उपभोग कम

इनेप्लिज २०७३ असोज २८ गते १०:०६ मा प्रकाशित

eggचितवन, २८ असोज । मानव स्वास्थ्यका लागि अन्डा महत्वपूर्ण परिकार भए पनि यसको महत्वका बारेमा जनमानसमा बुझाउन नसक्दा आवश्यक मात्रामा उपभोग नभएको पाइन्छ । चिकित्सक र पोषण विज्ञहरुले अन्डाको बारेमा जनमानसमा बुझाउन थालेपछि पछिल्लो समय व्यावसायिक कुखुरापालन फस्टाउँदै जाँदा बर्सेनि उत्पादन बढ्दो छ ।

व्यवसायीले देश अन्डामा आत्मनिर्भर रहेको दाबी गर्दै आएका छन् । लुकीछिपी सीमा क्षेत्रमा भारतीय अन्डा भित्रिए पनि स्वतन्त्र ढङ्गबाट अन्डा भित्रिएको अवस्था भने छैन । देशमा आवश्यक मात्रामा अन्डा पूर्ति गर्न नेपाली कृषक सक्षम रहेको नेपाल अन्डा उत्पादक सङ्घका महासचिव त्रिलोचन कँडेल बताउनुहुन्छ ।

अन्डा स्वास्थ्यवद्र्धक खानेकुरा हो र यसले मानिसको जीउलाई स्वस्थ राख्न मद्दत पु-याउने चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी अन्डामा विभिन्नखालका पोषक तत्व हुने हुँदा बिरामीका लागि लाभदायी हुने बताउनुहुन्छ । यसमा क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डार रहेको उहाँको कथन छ । अन्डाको सेवनले शरीरलाई दैनिक चाहिने पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पु-याउने चिकित्सकहरु बताउँछन् ।

अन्डामा भिटामिन ‘ए’, फोलेट, भिटामिन ‘बी टु’, भिटामिन ‘बी फाइभ’, भिटामिन ‘बी १२’, फस्फोरस, सेलेनियम, भिटामिन ‘डी, ई, के’ तथा जिङ्कलगायतका तत्व पनि पाइन्छ । विज्ञहरुका अनुसार एउटा अन्डामा यतिधेरै पौष्टिक पदार्थ हुन्छ कि त्यसले एउटा कोषलाई चल्लामा बदल्न मद्दत पुग्छ । अन्डामा आधुनिक भोजनका दुर्लभ पौष्टिक तत्वसमेत पाइन्छ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी वरिष्ठ खाद्य पोषण अधिकृत शिलु श्रेष्ठ अधिकांश बिरामीका लागि अन्डाजत्तिको महत्वपूर्ण खाना अरु नहुने बताउनुहुन्छ । उहाँले शल्यक्रिया गरेका बिरामीलाई समेत अन्डा खुवाउँदा घाउ छिटो निको हुने बताउनुभयो ।

मोटा मानिसले पनि अन्डा खान हुने, अन्डाले ग्यास्ट्रिक नहुने बताउँदै श्रेष्ठले सबैखाले क्यान्सरका बिरामीलाई अन्डा लाभदायक हुने बताउनुभयो । कोलेस्टोर बढी भएकाले पहेँलो भाग हटाएर सेतो भाग खानु पर्ने श्रेष्ठले बताउनुभयो ।

बच्चादेखि वृद्धसम्मका लागि सबैखालको प्रोटिन पाइने एकमात्र माध्यम अन्डा भएकाले यसमाथिका विभिन्नखाले भ्रमहरु चिर्दै उपभोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सेतो भागमा चिल्लो नहुने हुँदा जन्डिसका बिरामीले पनि सेतो भाग मात्रै खान हुने उहाँले सुझाउनुभयो । बढी मोटो मान्छेले अन्डा खाँदा मोटोपन घटाउन सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो ।

अन्डाले दुब्लो व्यक्तिलाई मोटाउनभन्दा मोटोपनाबाट पीडित मानिसलाई वजन घटाउन सहयोग पु-याउँछ । बिहानको खानामा अन्डा समावेश गर्नाले दिउँसो कम खानेकुराले पुग्ने र सामान्य अवस्थामा भन्दा ४०० क्यालोरी कम खानेकुरा खाइने भएकाले मोटोपनाबाट पीडित मानिसलाई वजन घटाउन सहयोग मिल्छ । अन्डाले जीउमा पर्याप्त क्यालोरी आपूर्ति गर्ने भएकाले त्यसले दुब्ला मानिसलाई फाइदा पुग्ने चिकित्सकको भनाइ छ ।

नेपालका ७५ जिल्लामध्ये ६४ जिल्लामा मात्र व्यावसायिक रुपले कुखुरापालन गरेको पाइएको छ । ती ६४ जिल्लामा २१ हजार ९५६ फार्म÷कृषकले व्यावसायिक कुखुरापालन गरेको पछिल्लोपटक तथ्याङ्क विभागले गरेको सर्वेक्षणले देखाएको छ ।

तथ्याङ्कअनुसार नेपालमा ६९ लाख आठ हजार ५९५ अन्डा उत्पादन गर्ने लेयर्स कुखुरा पालिँदै आएको छ । चितवनमा मात्रै ४० लाख ६८ हजार ६६५ लेयर्स कुखुरा पालिएका छन् । यो कुल सङ्ख्याको ५८ दशमलब ९ प्रतिशत हो ।

त्यस्तै, नेपालमा वर्षमा एक अर्ब २० करोड २१ लाख ६६ हजारवटा अन्डा उत्पादन भएको अनुमान गरिएको छ । चितवन जिल्लामा मात्र ८१ करोड १९ लाख एक हजारवटा अन्डा उत्पादन गरेको अनुमान छ । यो कुल देशको करिब ६८ प्रतिशत हुन आउँछ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष करिब ४४ वटा अन्डा उपलब्ध हुने गरी उत्पादन भएकोे अनुमान गरिएको छ ।

नेपाल अन्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी विकसित मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष २०० वटाभन्दा बढी अन्डा उपभोग हुने गरेको बताउनुहुन्छ । सर्वगुणी भएर पनि जनमानसमा अन्डाको महत्वका बारेमा बुझाउन नसक्दा उपभोग कम भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया