अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन सन्निकट छ र यतिबेला निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यतालिका पनि प्रकाशित गरिसकेको छ । यसभन्दा केही महिना अगाडि नै जारी भइसकेको निर्वाचन कार्यतालिका केही प्राविधिक कारणले निर्वाचन आयोगले जुलाई २, २०१६ मा स्थगित गरेको थियो ।
निर्वाचन स्थगित गर्नुपर्ने मूल कारण भनेको लामो समयदेखि मतदाता नामावली अद्यावधिक गरिनुपर्ने भन्ने मुद्दा उठेको र सम्मानित अदालतबाट पनि निर्वाचन मतदाता नामावली अद्यावधिक गर्नु भन्ने व्यहारोको पत्र प्राप्त भएकोले सोही उद्देश्यका लागि पूर्व निर्धारित निर्वाचन स्थगित गर्नुपरेको कुरा निर्वाचन आयोगद्वारा प्रेशित विज्ञप्तिमा जनाइएको थियो ।
त्यसपछि मतादाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगकका अध्यक्ष श्री तीर्थ पाण्डेलगायत सदस्यहरू भीम कार्की र प्रविन भण्डारीको तीन सदस्यीय समिति गठन भयो । मतदाता नामावली अद्यावधिक गर्न बनेको उक्त समितिले आफ्नो कार्य समयमै सम्पन्न गरी सोको विवरण गत सेप्टेम्बर २७, २०१६ मा अनेसासको अनलाईन साइटमा पनि प्रकाशित गरिसकेको छ भने आयोगले निर्वाचनसम्बन्धी अन्य कार्यतालिका पनि जारी गरिसकेको छ । कार्यतालिका अनुसार अक्टोबर १३ देखि अक्टोबर १५ सम्म अनलाइन पद्धतिमार्फत मतदान हुनेछ भने निर्वाचनको अन्तिम मत परिणाम अक्टोबर १६ मा घोषणा हुनेछ ।
अब भोट माग्ने कुरा गरौं ।
निर्वाचनको यस पूर्वसन्ध्यामा सर्व प्रथम वर्तमान अध्यक्ष पदम विश्वकर्माको पूर्ण टिमलाई म समर्थन गर्दै आगामी २०१६–२०१८ को कार्यकालका लागि पनि पदम विश्वकर्माको टिमलाई विजयी गराऔं भनेर आम मतदाताहरूसँग अनुरोध गर्दछु । यो पनि एक आम मतदाताकै आव्हान हो ।
मतदाता नामावली अद्यावधिक नगरिएको भन्ने विषयलाई लिएर अनेसासभित्र केही अराजक व्यक्तिहरूले यसलाई चुनावमा धाँधली गर्ने र फर्जी मत खसाउने षड्यन्त्रको रूपमा लिएर ठूलै मुद्दा बनाएका थिए, तर अब मतदाता नामावली नवीकरण भइसकेको छ र विवादको टुंगो पनि लागिसकेको छ । तर आश्चर्य ! यति हुँदाहुँदै पनि अराजक व्यक्तिहरूको अराजकताको भने टुंगो लागेको छैन । पूर्व अध्यक्ष्य समेत भइसक्नुभएका ज्ञानेन्द्र गदालसमेत लागेर दुई कार्यकालका लागि पदम विश्वकर्मालाई अध्यक्ष दिनु हुँदैन भनी अनर्गल प्रचार गरिरहेको पनि भेटिएको छ । त्यति मात्र होइन, हिजै मात्र उहाँले एउटा अन्तर्वार्तामा पदम विश्वकर्माको कार्यकाल पूर्ण रूपमा असफल भनेर यो शताब्दीकै सबैभन्दा भद्दा जोक गर्नुभएको छ ।
म ज्ञानेन्द्र गदालजीका सम्बन्धमा यहाँ ज्यादा बोल्न चाहन्न । उहाँले लगाएका आरोपहरू गलत हुन् । जसले संस्थामा अध्यक्षमा रहँदा विवादको वीजारोपण गर्नुभयो; ट्रष्टी र केन्द्रका बीच वाकयुद्ध लडेरै बिताउनुभयो; आर्थिक हिनामिना उहाँकै पालामा उठे; संस्थाको पैसामा नेपाल उड्नेसम्मका गलत काम गर्नुभयो, उहाँले नै अहिलेका प्रत्याशीलाई विवादित भन्नु सोह्र दुना आठ भन्नु बाहेक केही होइन । ज्ञानेन्द्र गदालजी निकै राम्रा राम्रा गीतहरू पनि लेख्नुहुन्छ; तसर्थ म उहाँलाई अरू राम्रा गीतहरू लेखेर बस्न सुझाउँछु । गदाज सर ! निराधार र हावादारी कुरा गर्दा इतिहासमा नामको होइन, बदनामको पाना थपिन्छ ।
अनेसासकी अर्का प्रत्याशी कमला प्रसाईंज्यूको पनि गुनासो सकिएको छैन । उहाँले वर्तमान अध्यक्षका विरूद्ध भएका दावी विरोधहरू सावित भइसकेको कुरा गरी पदम विश्वकर्मालाई पदविमुख गराउनपर्ने माग गर्नुभएको छ तर इमेलबाट “दावी विरोधको विवरण के रहेछ ?” भनी सोधिएको प्रश्नको उत्तर भने अहिलेसम्म यो मतदाताले पाएको छैन, त्यति अधिकार माग गर्ने अधिकार चाहिँ यो मतदातालाई छ भन्ने लाग्छ ।
यो आलेख अध्यक्षका एक उम्मेदवार पदम विश्वकर्माका पक्षमा हो तर प्रतिद्वन्द्वी कमला प्रसाईंको विरोधमा भने पटक्कै होइन । अध्यक्षबाहेक सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भइसकेको अवस्थामा कमला प्रसाईंज्यूले आफ्नै चुनावी प्रतिद्वन्द्वी पदम विश्वकर्मालाई प्रतिश्पर्धाकै माध्यमले पराजित गर्ने हिम्मत गर्नु राम्रो हुनेछ तर हारको मनस्थितिमा पुगेर पदम विश्वकर्मालाई निराधार आरोप लगाई कुनै तेस्रो व्यक्तिलाई अध्यक्षको रूपमा राखौं भन्ने कार्ड फाल्नु चुनावबाट भाग्ने पराजित सोच हो भन्ने मलाई लागिरहेको छ । उहाँले उठाउँदै आउनुभएका सबै मागहरू प्रक्रियागत रूपमा पूरा भइसकेका छन् र उहाँलाई अब केवल प्रतिस्पर्धाको बाटोमात्र खुला छ, खुला बाटोमा हिँड्नुहुन म कमला प्रसाईंज्यूलाई अनुरोध गर्दछ ।
पदम विश्वकर्माले वर्तमान कार्यसमितिमा रहेर अनेसासको उन्नति र विकासमा जुन योगदान दिनुभएको छ, त्यो सह्राहनीय छ । २०१०–२०१२ मा ज्ञानेन्द्र गदाल अध्यक्ष रहनुहुँदा भताभुङ्ग जस्तै भएको र कार्यसमितिका पदाधिकारीहरूमध्येबाट एउटाले सडकबाट अध्यक्षलाई हटाई आफू अध्यक्ष भएको सडक घोषणाको तामासा र अध्यक्षले आफूले मन नपराएका सदस्यहरूलाई बर्खास्त गरेको लज्जास्पद र अनुशासनहीन कार्यहरूको दर्शक पनि म आफैं बन्नुपर्यो । त्यस्तो कार्यसमितिको विरासतलाई अर्का पूर्व अध्यक्ष गीता खत्री (२०१२–२०१४)ले समालेपछि त्यो अराजकतामा कमी आएको थियो । गीता खत्रीको कार्यकालमा वर्तमान अध्यक्ष एवम् अहिलेका प्रत्याशी पदम विश्वकर्माले महासचिवको भूमिका सफलतापूर्वक निर्वाह गरेको कुराको साक्षी म त्यो कमिटीमा कोषाध्यक्ष पदमा रहँदा गरेको छु । त्यसै गरी २०१४–२०१६ को स्वयम् पदम विश्वकर्माको कार्यकालमा उहाँले के कति गर्नुभयो भन्ने कुराको जानकारी विदितै छ, यहाँ उल्लेख गर्न चाहिँन ।
अध्यक्षका प्रत्याशी एवम् वर्तमान अध्यक्ष पदम विश्वकर्मालाई अब एक कार्यकालका लागि जिताऔं । उहाँले आफ्नो वर्तमान कालमा एशिया, युरोप, अष्ट्रेलियालगायत अमेरिकाका सबै च्याप्टरहरूमा आफू प्रत्यक्ष उपस्थित भएर साहित्यिक गतिविधिहरूलाई अगाडि बढाउने कार्यक्रम सक्रिय लाग्नुभएको कुरा यहाँ राख्न चाहन्छु ।
यसर्थ, सम्पूर्ण मतदाताज्यूहरू, आगामी अक्टोबर १३ तारिकमा हुन लागिरहेको अनेसासको केन्द्रीय निर्वाचनमा पदम विश्वकर्मालाई अत्यधिक मत दिई विजयी बनाऔं ।
प्रतिक्रिया