विश्वका हरेक मुलुकमा रहेका मानिसहरुले आ-आफ्नो रितिरिवाज, परम्परा र संस्कार अनुसार चाडवाड, पर्व, उत्सवहरु मनाउने गर्दछन् । त्यस्तै नेपालमा पनि विभिन्न धर्मालम्बीहरुले आ-आफ्नै विशेष चाडवाड मनाउने गरेको पाईन्छ । त्यसमा पनि हिन्दुहरुको बाहुल्यता रहेको मुलुक नेपालमा दशैलाई विशेष महान चाडपर्वको रुपमा मनाईदै आएको पाईन्छ ।
विशेषत विदेशमा रोजगारी एवं अध्ययनका लागी गएका नेपालीहरु दशैको लागी भनेर नै जन्मभुमि नेपालमा जानेहरुको घुईचो अत्यान्त बढि रहन्छ । त्यस्तै गाउँ छोडेर राजधानी काठमाण्डौ र मुख्य शहरबजारमा व्यापार-व्यवसाय एवं जागिर र अध्ययन गर्नेहरु पनि मुल घर वा जन्मस्थलमा केही दिनको लागी भए पनि फर्केर परिवार, आफन्त, ईस्टमित्र, छरछिमेकीहरु सँग भेटघाट गरेर विजयदशमीको दिन जमरा र टिका लगाएर आशिर्वाद आदानप्रदान गरेर रमाईलो सँग उत्सव मनाउने गरेको पाईन्छ ।
दशैलाई सामान्यतः १५ दिन सम्म मनाईने भएपनि विशेष त विजयदशमी( घटस्थापनाको दशौ दिन) देखि पुर्णिमाको दिन सम्म मान्यजनहरुबाट जमरा, टिका, प्रसाद ग्रहण गर्ने चलनचल्ती रहेको पाईन्छ । विशेषत धार्मिक मान्यता र विश्वासलाई हेर्दा वास्तवमा दशै एउटा समुन्नत भविष्यको कामना सहित कार्यसिद्धि प्राप्तीमा खुशियाली मनाउने पर्वको रुपमा यसलाई लिन सकिन्छ । धार्मिक शास्त्रका जे जस्ता कथनहरु भएपनि यो पर्व यत्रतत्र छरिएर रहेका आफन्त, ईस्टमित्र, साथीभाईहरुलाई एक ठाउँमा जमघट गराएर आपसमा आत्मियता एवं सौहार्दपूर्ण मैत्री भावको विकास गराउने एउटा महत्वपुर्ण कडीको रुपमा यसलाई लिन सकिन्छ ।
आजको व्यस्त समाजमा विभिन्न काम विशेषले एउटा ठाउँमा खुम्चिएर जीवनयापन गर्न सकिने सम्भावना न्युन भईरहेको अवस्थामा यस्ता परम्परागत आस्थायुक्त चाडवाड, रितीरिवाज, संस्कृतीले कम्तीमा केही समय भएपनि खुशियाली साट्नको लागी एकआपसमा जम्काभेट गराउने काम दशै, तिहार लगायत पर्वहरुले गराएको पाईन्छ । त्यसो त बौद्धधर्मालम्बी, मुस्लिम एवं क्रियश्चियन धर्मालम्बीहरुले समेत आ-आफ्नो चाडवाडहरु धुमधामले देश विदेशमा मनाउने गरेको पाईन्छ । समग्रमा यस्ता चाडवाडले आजको यान्त्रिक स्वरुपको मानव समुदायलाई केही समय आफन्तहरु, ईष्टमित्रहरुलाई संझने फुर्सद निकाल्न सहयोग गर्न सक्छ ।
हामीलाई थाहाँ छ बर्षका ३६५ दिनहरु मध्ये कतिपय दिनहरु विशेष महत्वका र विशेष अर्थ राख्ने हुन्छन् । त्यस मध्ये पनि हाम्रा पुर्खाहरुले चलाउँदै र मान्दै आएका सांस्कृतिक महत्वका विशेष दिनहरुमा सबैको चासो रहने गर्छ । त्यसमा पनि चाडवाड र पर्वहरुलाई विशेषरुपमा हेरिन्छ । त्यही भएर पनि हुन सक्छ, परिवार एवं आफन्तहरुबाट टाढा भएर विभिन्न बाध्यता र परिस्थितीले गर्दा आफु जन्मेको घरआगनमा त्यस्ता विशेष महत्व राख्ने दिनहरुमा उपस्थित हुन नसक्दा स्वभाविकरुपमा मानविय संवेदनशीलता जो कोहीमा झल्कन्छ । यस्तै परिस्थिती विदेशमा बस्ने नेपालीहरुमा नभएको होईन । तथापी आजकल विदेशमा समेत आपसमा मिलेर यस्ता चाडवाडमा रमाईलो गर्ने, सामुहिक भेटघाट एवं शुभकामना आदानप्रदान गर्ने चलन तिव्ररुपमा अगाडी बढेको पाईन्छ । यसले गर्दा पनि विदेशमा रहेर घरदेशको झल्को र न्यास्रोपनमा केही हद सम्म कमि ल्याउन मद्दत भने पुगेको पाईन्छ ।
यसो त गाउँ छोडेर विभिन्न कारणबाट शहरबजार बसोबास गर्दै आएकाहरु पनि केही समयकै लागी भएपनि आफ्नो गाउँ फर्किदा गाउँघरमा एक किसिमको रोनक र खुशियाली छाएको पाईन्छ । बर्षभरि गाउँको घरआगन कुरेर बसेका गाउँले आमाबाबुहरुमा खुशीका तरंगहरु तरंगित भएको अनुमान गर्न सकिन्छ । यसरी अक्कल झुक्कल आउने खुशीमै मन बुझाएर बस्ने धेरै जेष्ठ नागरिकहरु गाउँघरमा पाईन्छन् । हुन पनि आजकल गाउँघर साँच्चै युवा विहिन भईसकेको छ । बढ्दो विदेश मोह, शहरी रमझमले युवाहरु गाउँमा लामो समय रोकिएर बस्न सक्दैनन् । त्यसमा उनीहरुको आ-आफ्नै बाध्यता र विवसता होलान्, राज्यका पनि धेरै कमिकमजोरी होलान् । जे होस्, कम्तीमा चाडवाडकै कारण भएपनि एकपटक केही दिनका लागी गाउँमा फर्कन चाहनेहरुको मन भने जगाउने काम भएको पाईन्छ ।
अव केही दिन गाउँमा फर्केर फेरि कर्मभुमीमा फर्कनु पर्ने बाध्यताको अन्त्य गर्न र गाउँघरमै पनि जीविकोपार्जनको क्षेत्रहरुको विकास गर्न एवं देश भित्रै रोजगारीको अवसर सृजना गर्न समयमै राज्यको आँखा पुग्नु पर्छ । युवाहरु विदेश पठाएर गर्भ गर्ने दिनहरुको क्रमश अन्त्य हुनुपर्छ । वैदेशिक रोजगारीको प्रवर्धन गरेर युवाहरु धमाधम विदेश पलायन गराउने बाटो बन्द गर्न तर्फ पहल गर्दै वैदेशिक रोजगारीको व्यवस्थापन गरि स्वदेशमै रोजगारीका तमाम सम्भावनाका ढोकाहरु खोल्नु आवस्यक छ ।
नेपालीहरु कामदार बनेर विभिन्न मुलुकमा जाने प्रवृतिको अन्त्य गरेर समुन्नत मुलुक बनाएर आउँदा दिनहरुमा नेपालीहरु पनि पर्यटक बनेर विभिन्न देशमा जाने हैसियतका हुन सक्ने वातावरण सृजना हुनुपर्छ । त्यसको लागी राज्यले अहिले सम्म करिव ४० लाख विदेशिएका युवाहरुले कमाई गरेर पठाउने रेमिटेन्सलाई उपयोग गरेर लगानीको क्षेत्रमा प्रवाहित गर्न सकिने माहोल बनाउन सक्नु पर्छ । अन्यथा यसरी बार्षिक रुपमा रेमिटेन्सको रुपमा भित्रिने खरबौ रुपियाँ माटोमा नै मिलेर जान्छ किनकी यस्तो रकमहरु विलासिताको सरसामान र घरघडेरी किनमेलमै प्रयोग भएको पाईन्छ । जवसम्म यस्तो आयलाई उत्पादनमुलक क्षेत्रमा प्रवाहित गर्न सकिदैन तव सम्म रेमिटेन्सबाट राज्य र जनताले महत्वपुर्ण लाभ लिन सक्दैनन् । यस तर्फ राज्यको निती निर्माताहरुको ध्यान पुग्नु जरुरी छ ।
अत: अन्त्यमा अव आउँदो दिनहरुमा शुट्केश बोकेर एरपोर्टबाट घरदेशमा जान मरिहत्ते गर्न पर्ने अवस्था न्युन हुन सकोस् र गाउँ छोडेर शहरबजारमा डेरा सर्न बाध्य हुनुपर्ने अवस्था पनि कम होस् । साथै सकभर सधै जसो घरआगनमै बसेर रमाउन पाउने वातावरण बनोस् । अझै भन्ने हो भने यातायातको द्रुत विकास भएर गाउँमै बसेर पनि राजधानी लगायत विभिन्न शहरबजारमा कामधाम गर्न सक्ने अवस्था आउन सकोस् । त्यस्तै दुरीले टाढा भएपनि मनले सबै सधै नजिक हुन सकियोस् र सधै नेपालको उन्नती हुनसकोस्, वैरीको कुदृष्टिबाट नेपाललाई जोगाउन सकियोस्, सदासर्वदा नेपाल र नेपाली भन्दा गर्भ मान्न सकियोस् । देश-विदेशमा रहनु भएका सबै सबैमा बडादशैको हार्दिक मंगलमय शुभकामना छ ।
प्रतिक्रिया