हिमालयन रेष्टुरेण्ट बरदुबईमा बडादशैंको टिका लगाउने ब्यबस्था

इनेप्लिज २०७३ असोज २० गते १६:४३ मा प्रकाशित

badadashai

न्युज हिमालय, यूएई ।

नेपालीहरुको महान चाड बडादशैंको अवसरमा यूएईमा रहेका नेपालीहरुलाई दशैंको टिकाको दिनमा एभरेष्ट रेष्टुरेण्ट ग्रुप अन्तर्गत रहेको हिमालयन रेष्टुरेण्ट, बरदुबईले टिका ग्रहणको ब्यबस्था गरेको छ ।

हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको दिनमा घर परिवारबाट टाढा रहेका नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई आपसी सद्भाव र भाईचाराको सम्बन्ध प्रगाढ बनाउँदै आफ्नो संस्कृति मान्नेहरुका लागि टिका लगाउने कार्यक्रमको आयोजना गरिएको हो । विगत एक दशक भन्दा बढि समयदेखि दुबईमा बसोबास गर्दै आउनु भएका अग्रज नेपाली पत्रकार, समाजसेवी तथा एभरेष्ट रेष्टुरेण्ट ग्रुपका सञ्चालक डा. दिनेश आचार्यका ८० वर्षीय पिता डिल्ली प्रसाद आचार्य र ७८ वर्षीय माता मिठु आचार्यले उक्त दिन टिका तथा आशिर्वाद प्रदान गर्ने बताईएको छ । घरबाट टाढा रहेका नेपालीहरुलाई मुख्य चाडबाडका दिन निधार खाली राखेर खल्लो महशुस गर्नु नपरोस भनेर विगतका वर्षहरुमा झैं टिका ग्रहण गर्ने कार्यक्रम राखिएको डा. दिनेश आचार्यले न्युज हिमालयलाई बताउनु भएको छ ।

‘हामी सबै नेपालीहरुको महान चाड भएकाले बडादशैंको दिन टिका लगाउन इच्छुक जो कोही नेपालीले आएर टिका ग्रहण गर्न सक्नु हुन्छ’, डा. आचार्यले भन्नुभयो । असोज २५ गते तद्नुसार अक्टोबर ११, मङ्गलबार परेको बडादशैंको दिन बरदुबईमा रहेको हिमालयन रेष्टुरेण्टमा विहान १० बजेदेखि टिका लगाउने ब्यबस्था गरिएको छ । यसका लागि रेष्टुरेण्टले इच्छुक समस्त नेपालीलाई आमन्त्रण गरेको छ ।

टिका ग्रहण गर्न चाहनेहरुलाई स्थान पहिचानको लागि सहज होस भनेर रेष्टुरेण्टले ०५५४१२६७०७ र ०५५१८४७७४६ नम्बरका दुई ओटा फोनमा सम्पर्क गरेर जानकारी लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया