म नेपालमा साधारण मतदाता भएर बाच्न चाहन्छु : रमा सिंह

इनेप्लिज २०७३ असोज १९ गते ०:०४ मा प्रकाशित

rama-4रमा सिंहको जीवन एकाधका लागि ईश्र्यालाग्दो छ, तर धेरैका लागि प्रेरणादायी । पहिलो टेलिभिजन समाचारवाचिका उनी टेलिभिजनकी छोरीको रुपमा सुपरिचित छिन । पहिलो महिला फुटवल टिमकी कप्तान उनी राखेप र एन्फामा नेतृत्व दिने सफल खेलाडी र खेल नेता पनि हुन । तर उनको जीवन खुल्ला किताव जस्तै छ । उनी कट्टर राजावादीका रुपमा देशमा राजसंस्था फर्काउने अभियानमा आफ्नै तरिकाले सक्रिय छिन ।

तपाई त देशकै पहिलो सरकारी टेलिभिजन नेपाल टेलिजिनकी छोरी, नेपालमा टेलिभिजन सुरु गर्ने टीमकी एक संस्थापक सदस्य, उत्कृष्ट प्रस्तोता, पत्रकार । एकाएक ओझेल पर्नु भो किन होला ?

सरकारी टेलिभिजन नेपाल टेलिभिजनकी मात्रै छोरी हैन म । मैले त आफुलाई नेपाली टेलिभिजनकी छोरी भन्ने गरेकी छु । यसको राज पछि खोल्ने छु । रह्यो कुरा ओझेलमा परेको सन्दर्भमा भने मान्छे परिस्थितिको दास हो । परिस्थितिसंग सिंगौरी खेल्दै अगाडि बढ्ने क्रममा बनबास पनि जानुपर्ने हुदोरहेछ । समयको कुरा हो । समयभन्दा बलबान कोहि पनि हुदोरहेनछ । भगवान राम पनि १४ वर्ष बनबास जानु भएको थियो । म पनि अहिले त्यही परिस्थितिको बाटोमा हिड्दै छु । बादलले छेकेको मात्रै हो सूर्यलाई आखिर बादल त केहि बेरपछि हट्नै पर्छ ।

देशैभरका टेलिभिजनबाट त हराउनु भो भो, देशमा पनि बस्नु भएन किन नी ?

देशभरकै टेलिभिजनबाट भन्नु भन्दा पनि म नेपाल टेलिभिजनसंग मात्र सम्बद्ध थिए । जब नेपाल टेलिभिजन छोड्ने मनस्थिति बनाएको थिए, त्यतिबेला निजी टेलिभिजन खोल्ने योजना पनि बनाएको थिए । तर समय र परिस्थिति अनुकुल भएन । किन भने त्यति नै बेला माओबादीले राजाको मान्छे भनेर १ करोड फिरौती माग्यो नभए छोरी अपहरण गर्ने धम्की दिन थाल्यो । म टिभिमा भएको बेलामा घरमा फोन गरेर ९ बर्षको छोरीलाई आमालाई पैसा दिन भन नत्र मारिदिन्छु भनेछ । त्यसपछि छोरीको साइकोलोजी बिग्रदै गयो । मलाई छोरी अपहरण गर्ने धम्की ,छोरीलाई आमा मारिदिने धम्की भन्नुस त कस्तो भयो होला त्यो क्षण ? छोरी मलाई एकछिन पनि छोड्न चाहादीन थिईन् । मैले टेलिभिजन जादासंगै लिएर जान थाले । यहासम्म कि समाचार पढ्न जांदा पनि उनी स्टुडियो भित्रै बस्न थालीन । उनले आफुलाई एकदम असुरक्षित ठान्न थालिन ।

एकपल्ट टेलिभिजनमा समाचार पढ्न तयारी गर्दै मेकअप रुममा थिए । छोरीले मलाई देखिनछिन । अनि पुष्पहरि क्याम्पा राईजीलाई सोधिछिन । पुष्पजीले जिस्किएर मामु त बाहिर जानुभो भन्दा “मेरो मामुलाई अब माओबादिले मार्छ “भन्दै रोएर बबाल गरिन । त्यसपछि मेरो धोती समातेर समाचार पढुन्जेल पनि मसंगै बसिरहिन । यस्ता तनावहरुमा पल पल मारिनुु भनदा टाढिनु ठीक लाग्यो । त्यसबाहेक केहि निजी कारण पनि सहायक बन्यो म विदेशिनुमा !

तपाईको अमेरिका यात्रा, बसाई रहर की वाध्यता वा सौख ?

बाध्यता र रहरभन्दा पनि एक्लो सन्तानको सुरक्षाको लागि भन्न रुचाउछु म । जब ९ बर्षको बच्चाले मानसिक रुपमा सुरक्षाको अनुभूति गर्दैन भने, त्यतिबेला उसको आमाले आफ्नो लागि भन्दा पनि उसको लागि सोच्नु पर्ने हुदो रहेछ । वस म असल आमाको भुमिकामा रहें ।

सांच्चि भन्नुुस त अब स्वदेश फर्किनुहुन्छ की हुन्न ? फर्के कहिले ?

rama-6

साच्चै भन्ने हो भन्देखि त देशको परिस्थिति हेर्दा नेपालमा कुनै दल बिनाको मान्छे भएर बाच्न सकिन्छ जस्तो लाग्दैन । म नेपालमा साधारण मतदाता भएर बाच्न चाहन्छु । तर राजनैतिक बातावरणले त्यो हुन दिदैन । तपाइँले कुनै राजनीतिक दलको पुच्छर समात्न सक्नु भएन भने तपाइलाई बाद र अपवादमा गिज्ज्याउछन ।

अमेरिका आएपछि मैले थाहा पाए की नेपाल भित्रै बसेर भन्दा नेपाल बाहिर बस्दा देश बुझिदो रहेछ । जति बिदेशमा बस्दा देश दुख्ने र देशको माया लाग्ने रहेछ त्यति नेपालमै बस्दा नहुदो रहेछ । यो कुरा बिदेशिएका अरु दाजुभाई, दिदीबहिनीले पनि भन्नु होला सायद । मलाई मात्रै यस्तो भएको हैन होला । जसले देशको माया मार्न सक्दैन त्यो मान्छे फर्कदैन भनेर सोच्न्नु हुदैन । अब छोरी १५ बर्षकी भईन् । १० मा पढ्दै छिन् । र, अब उसलाई बाबु आमाको संरक्षकत्व कानुनी रुपमा आवश्यक छैन । त्यसैले उसलाई स्थानीय अविभावकको जिम्मा लगाएर मात्रै नेपाल फर्कने योजनामा छु ।

यदि देश फर्कनुभो भने के गर्ने योजनाहरु ल्याउनुहुनेछ ?

मैले अहिलेसम्म जति पनि कार्य गरे बिना योजना नै गरे । म दिमागले भन्दा पनि मनले चल्ने मान्छे हुं । मनको मझेरीमा देशलाई राखेर त्यो मनले जे आदेश दिन्छ त्यही पालना गर्ने मान्छे हुं म । त्यसैले सबै कुरा फर्केपछि मात्रै भन्न सक्छु । अनि अमेरिकामा यहांको आवद्धता, व्यस्तता के मा होला भन्न मिल्छ भने….

अमेरिका आउना साथै नयां सिस्टममा भिज्नै केही समय लाग्यो । त्यसपछि मास कमिन्युकेशन पढ्ने कोशिश गरे । तर एक्लो आमा छोरी हेर्नु , छोरीको पढाई ,आफ्नो काम सम्हाल्नु अनि आफ्नो पढाई तालमेल मिलाउन सार्है गाह्रो भयो । साथसाथै भर्खरै देश छोडेको डिप्रेसनको शिकार । अनि त भर्ना भएको कलेज पनि छोडिदिए । र, छोरीको लागि सम्पूूर्ण समय दिनतिर लागे ।

त्यसै वीचमा हामी हेमन्त श्रेष्ठ , आनन्दु लामा ,नबराज श्रेष्ठ र म लगायतका साथीको टीम मिलेर बिशुद्ध नाफारहित संस्था अमेरिका नेपाल टेलिभिजन, सामुदायिक टेलिभिजन खोलेर चलाउन थाल्यौ । त्यसपछि एउटा आफन्तले ग्यांस स्टेसन किन्ने सल्लाह दिए । र, ग्यांस स्टेसन किने । तर नेपालीले नेपालीलाई पाएकी फसाउने र होच्च्याउने ठाऊ रहेछ अमेरिका । पैसाको मामलामा कमजोर आफन्तसंग पैसाको लागि कानुनी लडाई लड्दै छु । र, अहिले यसै के बस्नु भनेर फेसन डिजाइनिङ्ग पढ्न थालेको छु । ब्यस्त भन्ने कि अस्तव्यस्त भन्ने परदेशी जीवनको दिनचर्या यस्तै यस्तै छ ।

यँहा सामाजिक संजालहरुमा निकै कडा रुपमा आफ्ना विचार, अडानहरु राख्नुहुन्छ ? किन ?

किन भन्ने प्रश्नै छैन ! म सार्वभौम राष्ट्रको स्वतन्त्र नागरिक हुं । साथै म “सत्य मेव जयते “ को मूलमन्त्र समेटी जस्तोसुकै गल्ती गरे पनि सत्य बोल्न न छोड्नु भन्ने पारिवारिक संस्कारमा हुर्केको ठकुरीको छोरी हुं । पंचायत कालमा निर शाहको (तात्कालिन हाम्रा हाकिम ) अगाडि त बोल्न डराईन । कृष्ण मल्ल ,लय संग्रौलाजीहरु तपाइँ कस्तो निडर भएर बोल्नु हुन्छ हाकिम साहेबसंग भन्नु हुन्थ्यो ।

अहिले त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र । खै के के तन्त्र हो के । तन्त्रै तन्त्रको प्रजातन्त्रमा बिचार राख्न डराउनु पर्ने अबस्था म देख्दिन । फेरी आस र त्रास को राजनीतिमा डर हुन्छ ,जसलाई आस त्रास र लोभ छैन त्यो मान्छे कहिँ कसैसंग डराउदैन । मेरा विचार अरुलाई पाच्य नहोला । तर त्यसो भन्दैमा मेरो विचार मार्ने अधिकार पनि कसैलाई छैन, त्यसैले म बोल्न, लेख्न पट्क्कै डराउदीन ।

तपाईका अभिव्यक्तिहरु निकै आक्रामक र खरो लाग्छन । के कारण होला ?

मैले माथि नै भनि सके की म सत्यमा हिड्ने स्पस्टवक्ता हु । कसैले बाङ्गो रुखलाई उ त्यो रुख कस्तो सिधा रहेछ हगी भन्दा ,उसलाई रिझाउन “हो हजुर “ भन्न नसक्ने मान्छे हुं म । मेरो यो स्वभावले सुरुमा मान्छेले मलाई मन पराउदैन्न । तर कालान्तरमा गएर जसले मलाई दुश्मन ठान्थ,े उनीहरु नै अत्यन्त नजिकको मित्र बन्न आउछन । तपाइलाई एउटा उदाहरण दिन चाहन्छु ।

२०६२ र ६३ पछि नेपाल टेलिभिजनको अध्यक्ष पदमा नेपाली भाषाबिज्ञ डा. ऋषिराज बराल ( माओबादी ) आउनु भयो । उँहा आए लगतै मलाई प्रसाशन शाखामा सरुवा गरियो । मैले पनि हाटा ( हाजिर गर्ने टाप कस्ने गर्न थाले ) । उँहाले नेपाल टेलिभिजनको पुरै प्रशासन लगाएर मलाई दिनभरी कार्यालयमा बस्न दबाब दिन थाल्नु भयो । मैले पनि मेरो नियुक्ति समाचार महाशाखासंग सम्वन्धित छ , मलाई बाध्य पारियो भने अदालत जान्छु भने । र, २ वर्ष हाटा मै (हाजिर गर्ने टाप कस्ने ) बिताए । पछि उँहालाई भाषाको गोष्ठीहरुमा जादाखेरी सबैले मेरो बारेमा सोध्दा रहेछन ।

र, अन्तमा आजित भएर उहांले मलाइ फेरी न्युजरुम सम्हाल्ने र समाचार पनि पढ्न सरुवा फिर्ता गर्नु भो । म फिर्ता त भए तर समाचार पढ़ीन । र, महिनौसम्म समाचार नपढ्दा उहाले मलाई आफै भेटेर भन्नु भयो “ रमा जी कमसेकम राष्ट्रियताको सवालमा हाम्रो धारणा मिल्छ अब हामी मिलेर काम गरौ पुराना मतभेद त्यागौ र अगाडि बढौ “ । त्यसकारण मलाई नचिन्ने मान्छेका लागि म आक्रामक लाग्छ । मलाई चिन्नेका लागि म सहृदयी ।

तपाईको व्यक्तित्व, स्वभाव र अभिव्यक्तिहरु अलि भिन्न हुन भन्ने ठान्छन मानिसहरु । के त्यो सही हो वा गलत ?

समाजमा आफुलाई आफ्नै बलबुतामा स्थापित गरिसकेको मान्छे सबैको व्यक्तित्व, स्वभाव र अभिव्यक्तिहरु भिन्दै नै हुन्छन । तर त्यसमा पनि मेरो झनै भिन्नै देखिन्छ । किनकी नेपालमा आफ्ना सबै राम्रा , अरुका सबै नराम्रामा गनिन्छन तर म नराम्रा भए आफ्ना पनि नराम्रा , राम्रा भए अरुका पनि राम्रा स्पस्ट भनि दिन्छु । अब म सहि हो या गलत मलाई चिन्ने र बुझ्ने हरुले जानेका छन् ।
पछिल्ला दिनमा सामाजिक संजालहरुको सदुपयोग वा दुरुपयोगबारे यहांको अनुुभव, सल्लाह, सुुझाव केही शेयर गरिदिनुहोस न ?

अहिलेको युगमा सामाजिक संजाल भनेको छापा र टेलिभिजनको मिश्रित स्वरूप बन्दै गएको छ । अहिले समाचार प्रवाह गर्न कुनै संचार माध्यम आवश्यक पर्छ जस्तो लाग्दैन । २० वर्ष अगाडि कुनै देशको भिजुअल देखाउन हामीले भूउपग्रह खोज्दै हिड्नु पर्थियो भने अब हातैको फोनबाट हुन्छ । यसलाई पक्ष बिपक्षमा प्रयोग गर्नु भन्दा पनि समाजलाई सही बाटो देखाउन , राजनीतिलाई राष्ट्रिय हितमा प्रयोग गर्न र सत्य उजागर गर्न यसको प्रयोग गर्न सकियो भने हाम्रो जस्तो झुठको खेती गर्ने देशका लागि विकासको राम्रो सम्बाहक बन्न सक्छ जस्तो लाग्छ मलाई ।

तपाई त स्टार पूर्व खेलाडी पनि । अचेल कत्तिको रुचि राख्नुु हुन्छ खेलकुदमा ? दैनिकीमा कुनै खेल तालिका पनि हुुन्छन की यँहाका ?

हाम्रो जमानामा खेलाडीलाई स्टार कहां मानिन्थ्यो र ? तर पनि महिला फुटबलको राष्ट्रिय टिमको पहिलो कप्तान बन्ने सौभाग्य मेरो देशले मलाई दिएको छ । यो स्टारको उपमा भन्दा पनि धेरै धेरै हो मेरा लागि । खेलाडीलाई जुनसुकै उमेरमा पनि खेलकुदमा लगाव रहदोरहेछ । त्यो लगाव मसंग पनि अझै छ । एकपल्ट नेपालको फुटबलको पहिलो राष्ट्रिय कप्तान ७५ वर्ष काटेका नरशम्सेर जबरासंग भेट हुदा उहांले तपाइहरु खेलेको देख्दा मलाइ अझै पनि खेल्न मन लाग्छ भन्नु हुदा अचम्म मान्थे । तर त्यो सत्य रहेछ जस्तो लाग्छ अहिले आएर । अहिले म कुनै खेल त खेल्दिन तर बिहान निरन्तर योग अभ्यास चांहि गर्छु ।
राखेपको पूर्व सदस्यका रुपमा नेपाली खेल क्षेत्रको वर्तमानलाई नजर लाउदा कस्तो पाउनुहुन्छ ?

मैले कस्तो पाए भनेर बताउनु भन्दा पनि हालसालै देखिएको दशरथ रंगशालाको भौतिक अवस्थाले नै सबै प्रष्ट पार्दैन र ? देशको हर सबै क्षेत्रमा बढी राजनीतिकरण भयो । विश्वमानचित्रमा नेपाली खेलाडीको सम्मान पहिले कस्तो थियो र अहिले कस्तो छ ? सबै जगजाहेर नै छ । मैले के बोल्नु ? अन्र्तरास्ट्रिय खेलमा खेलाडीभन्दा पदाधिकारी बढी जाने र सुविधा पनि उनीहरुलाई नै बढी हुने परम्पराले खेल स्तर कहिले उभो लाग्छ खै ? भर्खरको रियो ओलम्पिकमा विश्वकै कान्छी खेलाडी गरिमा सिंहको स्विमिंग कस्ट्युम च्यातिएको प्रसङ्ग पनि खेलाडीप्रति ध्यान जान नसकेको अबस्थाको सचित्र उदाहरण हैन र ..?

तपाई पहिलो महिला फुटबल क्याप्टेन पनि । महिला फुटवल वा नेपाली फुटबलको वर्तमान स्थितिप्रति यहांको सटिक मूल्यांकन के होला ?

हामीले जति गर्न सक्थ्यौ त्यति गर्न सकेका छैनौं । दक्षिण एसियामा भारत र हामी नै फुटबलको स्टार हौ । तर हामीले खेलाडीलाई प्रचुर मात्रामा तालिम र प्रोत्साहन दिन सकेका छैनौ । खेलाडीलाई जीवन धान्ने आधार नै खेल हुनु पर्छ । सेना र पुलिसको जागिरले मात्रैले खेलाडी तयार हुन्छन भन्ने सोच अब पुरानो भै सक्यो जस्तो लाग्छ । धेरै टाढा जानु पर्दैन , भारतमै खेलाडीहरु खेलकै माध्यमबाट करोडपति , अरबपति हुन थालेका छन् । हामी भने पौष्टिक आहार बाटै बन्चित छौ , त्यसमाथि राजनीति !

२० बर्ष एन्फा हांकेका गणेश थापा त यहांका दौतरी पनि, समकालिन पनि । फिफाबाट भ्रष्टाचारमा कारवाहीमा परेको तथ्यले यहांलाई कत्तिको मन दुखाउछ ?

हो, म महिला राष्ट्रिय टिमको कप्तान हुदा गणेश थापा पुरुष राष्ट्रिय टिमको कप्तान हुनु हुनुहुन्थ्यो भने कमल थापा फुटबल संघको अध्यक्ष । अनि कमल थापा ज्यूूको श्रीमती पलिता थापा टेबुल टेनिसको राष्ट्रिय खेलाडी । जुनसुकै खेलको खेलाडी भए पनि खेलाडी खेलाडी बिचको जस्तो हार्दिक आत्मियता अरु क्षेत्रमा मैले विरलै देखेको छु । अरु क्षेत्रमा प्रतिस्पर्धादेखि डराउछन तर खेलमा प्रतिस्पर्धा नगरी धरै छैन । कसैले टिको लगाएको भरमा खेलाडी बन्ने कल्पना पनि गर्न सकिन्न । त्यही भएर होला आत्मियता पनि बढी हुन्छ ।

हामी सबै कडा प्रतिस्पर्धाबाट खरो उत्रिएका अन्र्तराष्टिय खेलाडी थियौ,कति कुरामा हाम्रो समान धारणा होलान ,कति ठाउमा नहोलान । त्यो बेग्लै कुरा हो तर फुटबलको विकासमा कमल थापा , गणेश थापा मात्रै हैन शरदचन्द्र शाहाको योगदानलाई पनि नकार्न सकिदैन । इतिहासले मुल्यांकन गर्छ नै ।

जबसम्म म महिला फुटबलको अध्यक्ष थिए, मेरो जहिले पनि गणेश जीसंग झगडा मात्रै हुन्थ्यो । उहांको कार्यशैली चित्त नबुझेमा धरधरी बाझ्ने मान्छे म मात्रै थिए, एन्फामा ।

रह्यो कुरा फिफाको कारवाहीको ! कारवाहीको जरो नेपाल मात्रै होइन रहेछ नि त ,जब फिफा मै माफिया घुसेको र त्यसकोे लहरो युईएफए र एएफसि हुदै नेशनल एशोसियसनसम्म पुगेको कुरा फिफाले नै जनाई सकेपछि यसमा मन दुखाउनु पर्ने कारण म कतै देख्दिन । उहाहरुसंग मेरो पारिवारिक सम्बन्ध पनि छ ,ब्यवसायिक सम्बन्ध पनि छ , दुवै सम्वन्धका भूमिका पनि बेग्ला बेग्लै हुन्छन ।
एन्फाको सन्निकट अध्यक्ष, उपाध्यक्षको चुनावमा यहांको समर्थन कस्लाई ? नरेन्द्र श्रेष्ठ की कर्मा्छिरींग शेर्पा ? अनि किन ?

म व्यक्तिको पछाडि लाग्ने मान्छे होइन । एक पल्ट एन्फाको चुनाबमा उपाध्यक्ष्यमा अत्यधिक मतले जितेको मान्छे हुं म । दुबैको तौर तरिका मैले हेर्न पाएको छैन । मेरो उहांहरु दुबैलाई शुभकामना छ । जसले जिते पनि फुटबलको विकासले जित्नु पर्छ । उहांहरुले गणेश थापालाई जुन आरोप लगाउनु भएको थियो,त्यही आरोप उहाहरुमाथि अरुले लगाउनु नपरोस र एनफालाई राजनीतिबाट टाढा राख्न सफलता मिलोस ।

पूर्व अध्यक्ष थापा फिफाबाट कारवाहीमा पर्दा पनि सांसद, त्यो पनि राजावादी राप्रपा नेपालको । कस्तो लाग्छ यहांलाई यो प्रसंग ? सही, गलत ? वा बिडम्वना ?

तपाईको प्रश्नले मलाई मात्रै हैन, देशलाई नै ब्यङ्ग गरे जस्तो लाग्यो मलाई । कथित क्रान्तिको नाममा १८ हजार मान्छे मारेर आएको मान्छे देशमा २, २ पल्ट प्रधानमन्त्री हुन सक्छ, लडाकु समायोजनको नाममा अरबौ रकम व्यक्तिको नाममा गएको लडाकुले नै जाहेरी दिएको बिषयमा कारवाहीको ’ क ’ गर्ने हिम्मत कसै संग हुदैन भने तपाइले “हारा र मारा “कसरी छुट्ट्याउनु हुन्छ ? भोलि कोहि जंगल पसेर २० हजार मान्छे मारेर आउंछ भने पनि हाम्रो कानुनले उसलाई पुरस्कृत नै गर्ने गर्छ अब ।यँहालाई एकाथरी मान्छे प्रखर गणतन्त्र विरोधी भन्छन । सही हो ?

म गणतन्त्र विरोधी हैन ,गणतन्त्र भनेको के हो मैले बुझेको पनि छैन । तर राजतन्त्र र अहिलेको कार्यशैलीमा फरक भने देखेको छु । त्यो के हो भने राजाले राष्ट्र र जनहितमा काम गर्थे, नेताहरुले धुपौरे र आफ्नै लागि गर्दछन् । यो सबैले देखेकै कुरो हो । त्यसैले मलाई गणतन्त्रको विरोधी भन्नु भन्दा पनि राष्ट जोगाउने राजतन्त्रको समर्थक भन्न रुचाउछु ।
पूर्वराजाको अति विश्वास पात्र हुनुु भएकोले पो हो की ?

कस्तो राम्रो प्रश्न गर्नु भयो । ‘जुनबेला राजाको कार्यकाल थियो संचार माध्यममा सबै भन्दा पीडित मै थिए । आज बल्ल भन्ने मौका पाए । राजाको शासन कालमा नेपाल टेलिभिजनको महाप्रवन्धक पदका लागि मैले पनि आफ्नो दाबेदारी राखे । संस्थापक सदस्यको नाताले मात्रै हैन योग्यता र क्षमताले पनि । अर्को प्रबल दाबेदार थिए शम्भुजित बास्कोटा । सहकर्मीदेखि बाहिरका सबैले मलाई योग्य ठानेका पनि थिए । तर दरबारका सम्बाद सचिब योगेश्वर कार्कीको ठाडो आदेशमा शम्भुजित बास्कोटा महाप्रबन्धक भए । अनि कालान्तरमा उनै बास्कोटा खांटी गणतन्त्रबादी भए तर म अझै राजावादी नै छु ।

अब अर्को प्रसङ्ग पनि कोट्याउछु २०६२ , ६३ को आन्दोलन अगाडि श्री ५ ज्ञानेन्द्र को सुदुरपश्चिम, मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्रको भ्रमण थियो । सुरक्षादेखि मिडिया सबै एउटै टिम जादा सजिलो हुन्छ भन्ने भो , म समाचार महाशाखा प्रमुख थिए । महाप्रबन्धक विश्वप्रकाश मास्केले तपाइँ नै जानुपर्छ भनेर मलाई पठाए । १८ महिनाको छोरी छोडेर डेढ महिना डाडाकांडा नभनी खानु न पिउनु संग रिपोटिंग गरियो । र फर्केर आउदा त्यो भ्रमण दलमा रहेको कुकुर र बिरालोले पनि तक्मा पायो तर मै एक जना छुटे । यो कुरा मैले राजालाई पनि सचिव मार्फत बिन्ति चढाए । त्यसबेलाको तक्माको रेकर्ड हेर्न सक्नुहुन्छ । अब भन्नुस म अति विस्वास पात्र ? तर हो किनकी म आफ्नो सिद्धान्तमा अझै पनि अडिग छु । पद र तक्मा जस्ता बिषय मेरा लागि गौण छन् ।

साच्ची भन्दिनुस न पूर्व राजासंग यहांको संवन्ध कस्तो छ अहिले ? कत्तिको सम्पर्क भैरहन्छ ?

एउटा देशप्रेमी राजा र देशप्रेमी जनता बीच कस्तो सम्बन्ध हुन्छ र हुनु पर्छ त्यही नै हो मेरो र राजाको संवन्ध । सम्पर्कको हकमा भने म सामाजिक संजालमा राष्ट्रिय स्वाभिमान जोगाउने आवाज उठाउछु । देश र राजालाई भएको अन्याय उजागर गर्छु । अरुले जस्तै मौसुफले पनि त्यसलाई हेरीबक्सन्छ होला भन्ठान्छु । जो मान्छे आफ्नो निष्ठा र अडानमा हुन्छ, उ आफ्नो प्रवाहमा बगीरहन्छ कसैसंग सम्पर्क हुनु नहुनु त्यो गौण कुरा हो जस्तो लाग्छ ।

एकाथरी मान्छे पूर्वराजाले कुनै जिम्मेवारी नदिनुलाई नै यहां नबस्नुु कारण मान्छन । के यो सही हो ?

विदेशिनुको मेरो आफ्ना कथा ब्यथा मैले माथि नै भनिसके । राजाको कार्यकालमा त जिम्मेवारी नपाएको मान्छे अब राजा नै जोगी भएर हिडेको बेला मैले के जिम्मेवारी खोज्ने ?

के लाग्छ यँहालाई देशमा पुनः राजसंस्था पुर्नस्थापना संभव छ ?

मेरो जिन्दगीको शब्दकोषमा असम्भव भन्ने शब्द नै छैन । यदि थियो भने नेपालमा स्वास्नीमान्छेले नखेलेको फुटबल खेलेर हाई हाई कमाउने थिईन होला । टेलिभिजनमा कसरी समाचार पढिन्छ ? कतै नदेख्दा पनि नेपालको इतिहासमा पहिलो समाचार बाचक हुने थिईन होला । धैर्य र समयले सबै कुरा सम्भव बनाउछ । यो नै मेरो जिन्दगीको मुलमन्त्र हो ।

पूर्व राजा आफै जनता आऊ, राजा फर्काऊ भन्छन । जनता राजाको नाममा संगठित छैन्न । कुरो कसरी संभव होला ?

नेपालका राजाहरुले जहिले पनि जनताको अभिमत लिएर राजकाज गरेको इतिहास साक्षी छ । राष्ट्र निर्माता पृथ्बी नारायण शाहदेखि ज्ञानेन्द्र राजासम्म सबैले समय ,काल र परिस्थिति अनुरुप जनता कै हितमा कार्य गरेको देखिन्छ । २०६२,६३ मा जनताको अभिमत नलिइकन राष्ट्र जोगाउन राजाले हासी हासी जसरि राजपाठ छोडे, त्यो राष्ट्रप्रेम र जनकल्याणको हितमा थिएन भन्न सक्ने हिम्मत कसैसंग छ ? त्यसैले जनतासंग सल्लाह नगरी गरिएको कार्यलाइ जनताले फर्काउनु पर्छ भन्ने मेरो पनि मान्यता हो ।

मौसुफले पनि जनताको राजा बन्न चाहि बक्सेको होला र न जनतालाई आव्हान गरिबक्सेको होला भन्छु म । रह्यो कुरा संगठनको , राजा कुनै गुट उपगुट , जातजाती र भाषा भाषीको हैन । सबै नेपालीको एकताको प्रतिक भएर रहनु पर्छ । त्यसैले म त भन्छु राजालाई हामीले कुनै पनि गुटमा आबद्ध गराउन हुदैन । राजाको लागि रमासिंह वा एसवी खड्का वा माओवादीका कन्चन थापा सबै बराबर हुनु पर्छ ।

राजावादी राप्रपाको सत्ता यात्रा र हालको प्रतिपक्षी भुमिका जायज वा अवसरवादी चरित्र के हो तपाईको नजरमा ?

अहिले मैले यस बिषयमा कमेण्ट गर्दा अलि हतारो हुन्छ कि ? अलि दिन कुर्यौ भने यसलाई भबिष्यले नै बताउने छ ।

राजसंस्थाले पनि पुर्नस्थापनाका लागि कुनै प्रयाश नै गरेन भन्ने जनगुनासोसंग तपाई सहमत की असहमत ? अनि किन ?

राजा आफ्नो प्रयासले गएका पनि हैनन् र देश छोडेर भागेका पनि छैनन् । जनताको हित र सुखका लागि राजाले केही दिन राजगद्धी छोडेका मात्र हुन् । राजाले गद्धी छोडदा पनि जनताको हित र कल्याण भएन भने अब जनताले गुनासो गरेर समय बरबाद गर्नु भन्दा राष्ट्रहितको लागि जुर्मुराउने बेला आएको हैन र भनेको ?

तपाई आफ्ना सामाजिक संजालका अभिव्यक्तिहरुमा खरो रुपमा राजाको समर्थन गर्नुहुन्छ नी किन ?

हेर्नुस बिपी कोइराला जस्तो महान क्रान्तिकारी नेताले पनि देशको भू राजनीतिलाई हृदयगम गरी राष्ट्र जोगाउन राजासंग घांटी जोडेको इतिहास छ । म पनि त्यही राष्ट्रको सचेत नागरिक । र, बिद्यार्थी कालमा नेबि संघमा लागेको मान्छे । मैले पनि त केही सिके बुझे होला बिपीको जीवन, आर्दश र किताबबाट । अहिले कांग्रेस मूलबाटोमा हैन, गोरेटो र घोडेटोमा हिड्दै छ । तर मैले बाटो बिराएको छैन । म राजा महेन्द्रको राष्ट्रबाद र बिपिको समाजबादबाट बढी प्रभावित छु । त्यसैले पनि आफ्ना कुरा राख्न मलाई कुनै हिच्किचाहट छैन ।

ताली वा गाली पनि धेरै पाउनुु हुन्छ । कस्तो लाग्छ ?

जब तपाइँ साउनको उर्लदो भेल बन्नु हुन्छ ताली र गाली को प्रभावले छुदैन । भेलको गन्तब्य निश्चित छ ,छेउ छाउ किनार उसले हेर्न भ्याउदैन । सके समेट्छ नसके बाटैमा छोडिन्छ ।

पूर्व राजा ज्ञानेन्द्रप्रति यहांको सारगर्भित टिप्पणी के छ ? 

जनताको दुखमा राजा र राजाको दुखमा जनता साथ रहने परम्परागत मूल्य र मान्यता जिवितै छ र यसलाई मजबुत बनाउन मौसुफबाट पहल भइरहनु पर्छ जस्तो लाग्छ मलाई ।

पूर्व यूवराज्ञी हिमानी शाहको संस्थामा यहां संलग्न देखिनुहुन्न, त्यति प्रखर राजावादी भएर पनि किन ?

मेरो योग्यता र क्षमताले गर्ने सहयोग म जहासुकै बसे पनि गर्न सक्छु ,गरिरहेकै छु । को प्रखर राजाबादी ? को नबोधित राजाबादी ? राजाबादी राजाबादी भन्दै अघिपछि हिड्ने तर जनता र राजसंस्थाको हितमा काम गर्न नसक्ने राजाबादीको बिल्ला मलाइ भिर्नु छैन ।

हिमानी टस्टका कार्यप्रति यहांको मूल्यांकन के छ ?

जब जब हिमानी ट्रष्ट बाढीपीडित ,भुकम्पपीडित कहां पुग्न खोज्छ, तब तब निषेधको राजनीति सुरु भएको सबैले देखेकै छौ । यस्तो प्रतिकुल परिस्थितिमा मैले यति टाढा बसेर मुल्यांकन गर्दा त्यति राम्रो नदेखिएला कि ?

अन्त्यमा यँहाका शुुभ सन्देशहरु पाठकहरुलाई …….

यो देश हामी सबै नेपालीको हो । को राजाबादी , को कांग्रेसबादी ,को माओबादी , को मधेशबादी ,को हिमालबादी , को पहाडबादी , को को आदि इत्यादि । सुख र दुखका सारथी त हामी मध्ये कोहि नै त हौ । त्यसैले सानो देशको ठूूलो चित्त भएको नागरिक बनौ र देशलाई समृद्ध बनाउने तिर लागौ । धन्यवाद ।

प्रतिक्रिया