यो हप्ता सामाजिक मिडियामा एउटा समाचारले राम्रै चर्चा पायो: न्यूज़ ट्वान्टी फोरमा ‘जय स्वाभिमान’ कार्यक्रम चलाउने चर्चित पत्रकार प्रेम बानियाँ सपरिवार अमेरिका छिरे रे ! कसैले उनलाई झूठो स्वाभिमान भिरेका भगौड़ा भने, कोही हामी बिरुद्द प्रहार गर्ने पात्र पलायन भो भनेर खुशी मनाए भने कसैले डलरको लोभमा छिरेका छ्द्म राष्ट्रवादी भने, कोही छुद्र पत्रकारिता गर्ने स्वाँठहरुले त बिभिन्न अपराध गरेर अमेरिका भाग्यो सम्म भ्याए, कसैले जनतामा स्वाभिमानको उद्घोष गर्ने प्रेम स्वदेशकै उदेकलाग्दो राजनीति संग टिक्न नसकेर अमेरिका भाँसियो भनेर सहानुभूति प्रकट गरे।
म प्रेम बानियाँलाई ब्यक्तिगत रुपमा चिन्दिन तर उनको प्रस्तुतिको शैली संग प्रभावित छु। उनले पनि शायद मलाई चिन्दैनन्, तर उनको जस्तै धेरै नेपालीको बाध्यता र रहर अमेरिका प्रवेशका बारेमा केहि कुरा लेख्ने हुट्हुटी जाग्यो मलाई ।
सबैले भन्छन: अमेरिका सम्भावनाको देश हो, सपनाको देश हो। संसारकै राजनीतिको केन्द्र बिन्दु अमेरिका भएकै हुनाले होला नेपाल लगायत बिष्वका धेरै मुलुकबाट अमेरिका छिर्नेको लश्कर चलिरहेकै छ ।
पछिल्लो समयमा निजामति सेवाका उच्च ओहोदा देखि लिएर, कलाकार, पत्रकार,बिद्यार्थी,ब्यापारी सबैको लक्ष्य अमेरिका बनेको छ। यसो हुनुमा भासिनेलाई मात्र दोष दिएर कोही उम्कन मिल्दैन । राज्यको मौजूदा परिवेशमा सीमित ब्यक्तिको हालीमुहाली, आर्थिक र सामाजिक अवस्था जिम्मेवार छ ।
मेरा एक मित्र छन्: दिनेश (नाम परिवर्तन) झण्डै ६ बर्षको बेलायत बसाई पछि देशप्रेमको भूत जागेर सपरिवार नेपाल फर्के,एयरपोर्टमा झर्दा मेरो माटो भनेर धर्ती ढोग्दै पाईला टेकेका मित्र एयरपोर्ट देखि घर पुगुन्जेल ठगै ठगको पन्जामा पर्छन। एयरपोर्टका कर्मचारीको रुखो ब्यवहार सहँदै बाहिर निस्केका मेरा मित्र दिनेश ट्याक्सी वालाको पन्जामा, त्यसपछि होटलमा पुग्दा होटलवालाकै फन्दामा पर्छन, भोलि बिहान बस चढ्न बसपार्क पुग्दा बसवालाको मनपरी भाडा तिर्नमा बिवस हुन्छन् यस्तो लाग्छ उनले बिदेशबाट डलर टपटप्ती टिपेर ल्याएका हुन् । यति मात्र हैन यात्राका क्रममा उनको झोला समेत हराउँछ, उनी प्रहरी कहाँ जान्छन, प्रहरीले सुनेको नसुन्यै गर्छ।
घर पुग्छन आफ्ना आमा बाबु धेरै बर्षमा भेट्दा खुशीको सिमा हुँदैन। सबै दुख र झन्झटहरु बिर्सेर भलाकुसारी चल्छ, एक दुई दिन रमाईलै लाग्छ तर लोडशेडिंग, पानी, ग्याँस र राशन समेतको हाहाकार छ, गाडी हरु कथित आन्दोलनले बन्द छन्, पसलहरु बन्द छन, पैसा भएकैहरु भोकै छन्, नभएकाहरुलाई के हाल थियो होला ? अर्को दिन बैंकमा पैसा निकाल्न जान्छन: उनको पैसाको चियों चर्चों गर्नेले उनको पिँछा गर्छ, अन्त्यमा एकान्तमा पुगेपछि पेस्तोल तेर्स्याएर पैसा लुट्छ। पुर्पुरोमा हात राख्दै घर फर्कन्छन् मेरा मित्र ।
आफू जन्मेको देश, आफ्ना डाँडा काँडा पाखा पखेरा प्रतिको अपार प्रेम छताछुल्ल भएर स्वदेशमै केहि गरेर वेलायतमा सिकेको सिप र योग्यता पोख्न आतुर भएर स्वदेश झरेका मेरा मित्रले साझेदारीमा एउटा ब्यापार गर्ने भनेर फ़र्म दर्ता गर्छन् आफ्नै नाममा । दर्ता गर्दाको झन्झटिलो प्रकृया, घुस नखुवाई कतै काम नहुने, जताततै ठगहरुको बिगबिगी हुँदा हुँदै पनि आफ्नै देशमा केहि गर्नुपर्छ भनेर संकल्प लिएका मित्र त्यतिबेला मात्र मेरो सम्पर्कमा आउँछन् जब उनकै पार्टनर बनेको साथी २० लाख हत्याएर फ़रार हुन्छ ।
दिनेशले बचेको पैसा जग्गामा लगाउने बिचार गर्छन्, आफ्नै नजिकका आफन्त पर्नेले १० लाख रुपैया कमिशन खाएर जग्गा किनिदिएको थाहा हुन्छ, त्यहि जग्गा पनि नापी लिएर नाप्दा फिल्डमा २ आना कम ठहरिन्छ, मित्रको रिसको पारा चढ्छ अदालतमा मुद्दा चल्छ, तर प्रमाण पुगेन भन्दै राजनितिक संरक्षणले उल्टो पूर्व जग्गा धनीले नै मुद्दा जित्छ। न्याँय मरेको देख्छन् आफ्नै अघि मित्रले ।
तर पनि उता आफन्तहरुले उनलाई करोडपतिको दर्जामा राखिरहन्छन्, फ़लाना संग मनग्गे पैसा छ भनेर निर्ब्याज पैसा माग्ने र दुख देखाउनेहरु धेरै आउँछन्।
अब उनी राम्रो कलेज पढाउने नोकरीको कतै केहि उपाय लागि हाल्छ कि भनेर आफू सम्बद्द राजनीतिक दलका नेताहरु कहाँ धाउँछन, भनसून गर्छन्, कसैले उनलाई टेर्दैनन्, सुन्दैनन्। सबै आफ्नै ध्याउन्नमा छन् । उनको कुरो सुन्ने कसैको समय हुँदैन ।
अन्तत: भएको सबै पैसा एक दुई बर्षमै सकिन्छ, त्यहि एक टुक्रा जमिन मात्र बाँकी रहन्छ । संयोगले अमेरिका जाने डि.भी. परेपछि दुई बर्ष अघि फेरि उनी सपरिवार अमेरिका भाँसिन्छन् ।
अहिले उनी अमेरिकामा प्राध्यापनको पेशा गर्छन्, जुन अमेरिकाकै आकर्षक पेशा भित्र पर्छ ।
माथिको घटना एउटा प्रतिनिधि घटना मात्र हो, देशमा ईमान्दार मान्छेहरु पाईला पाईलामा ठगिने र च्यापिने, सरकारी, ग़ैरसरकारी संस्थाहरु जनता प्रति जिम्मेवार नहुने, गलत कुरा लाई नज़ीर बनाएर न्याँयको तेजोवध गरेपछि मान्छेहरु अवसरको खोजिमा हिड्छन, पत्रकार प्रेम बानियाँले त्यहि अवसरको सदुपयोग गरेको हुनुपर्छ।
प्रेम बानियाँ तथा उनको कदम पछ्याउने कसैले खुशीले देश छाडेका छैनन, आफ्ना परम प्रिय आफन्त र साथी भाइ छोड्दा कसको मन अमिलो हुँदैन र? देशको मायाको हुट्हुटी अमेरिका आएर सकिन्न बरु अझ बढ्छ ।
२०४६ सालको राजनैतिक परिवर्तन पछि एकाएक बिदेश पलायन हुनेहरुको लहर नै चल्यो, अझ साठीको दशक देखि त यो क्रम दिन दुगुना रात चौगुना भयो । अहिले भारत बाहेक पचास लाखको हाराहारीमा नेपालीहरु बिदेश पलायन भएको अनुमान छ। यो क्रम दिन दिनै बढिरहेकै छ।
लोकतन्त्रको आगमन पछि नागरिकहरुमा जुन आशाको संचार भएको थियो, त्यो आशालाई भ्रष्ट राजनीति र कर्मचारी प्रशासनले लत्याई दिएपछि नागरिकहरुमा सक्नेहरु युरोप र अमेरिका र नसक्ने हरु अरबतिर भाँसिने क्रम झन बढ्यो । त्यसो त माओवादी जनयुद्दले बिस्थापित भएर पनि कैयौ युवाहरु समेत बिदेश पलायन भए ।
देशमा चलेको जातीय द्वन्द, संक्रमण क़ालीन राजनीति र अवसरको कमी र नातावाद र कृपावादको हाई हाई भईरहँदा अन्याय र अभाव सहन नसक्ने युवाहरुले वैकल्पिक बाटो रोज्नै पर्थ्यो, राजनीतिमा राम्रा संकेत नदेखेपछि धेरैले बिदेश रोज़े । ती मध्ये कसैले भाग्यले अमेरिकाको डि. भी. पाए त कसैले मेक्सिको र ग्वाटेमालाको मृत्युपथ हुँदै अमेरिका टेके त केही पर्यटक बनेर भित्रिरहे। यो क्रम युरोप अष्ट्रेलिया तिर पनि निरन्तर जारी छ ।
आफ्ना साथी भाइले अमेरिका छिरेको केहि बर्षमै घर, गाडी र नेपालमा जग्गा जोडेको देख्ने हरुले जसरी पनि अमेरिका टेक्न भगवानका मन्दिर देखि कन्सल्टेंसी तथा मानव दलालहरु सबै पुकारे । अचेल दश बर्षका बच्चाहरुले पनि ठूलो भएपछि अमेरिका जाने हो भन्नु सामान्य कुरा भैसक्यो ।
त्यति मात्रै होईन नेपालमा ठूला साना बिपत्ति पर्दा लाखौँ करोडौँ सहायता बिदेशबाट आएको देखेपछि बिदेशमा बिशेष गरी अमेरिका छिर्नु नेपालमा मैँ हूँ भन्नेको पनि सपना रह्यो। स्वदेशका अंग अंग बिग्रेपछि भ्रष्टहरुको पक्षमा टायर बालेर बिकृति च्याप्नु भन्दा संभावनाको खोजी गर्न बिदेश
हानिए । एउटा सत्य कुरा त के हो भने भ्रष्ट कर्मचारी होस या नेतृत्व उनीहरु अमेरिका आउने आवश्यकता पर्दैन । मासिक ७ लाख सम्म भागबन्डामा हात पार्ने भन्सारका कर्मचारीहरुको अमेरिका आउने सपना हुँदैन। संयोग जुरेका र नूनको सोझो गर्ने ईमान्दार ब्यक्ति र टिक्न मुस्किल भएका कर्मचारीहरु र मेहनती मान्छेहरुको गन्तब्य भएको छ अमेरिका ।
अमेरिका त्यसमाथि संसारकै शक्तिकेन्द्र जसको ईशारामा संसारका अरु देशहरु चलिरहेकै छन, यस्तो ठाउँ जहाँ कानून सर्बोपरि हुन्छ र गल्ती गर्ने जो सुकै पनि सजाँयको भागिदार हुने देखेपछि मान्छेहरु हत्तपत्त अपराध गर्दैनन् गरे पनि उम्कन पाउँदैनन् त्यसैले दिनरात मेहनत गर्छन र केहि न केहि संचित गर्छन, यहाँ कसैको कुरा काटेर, दलको हनुमान बनेर डलर फल्दैन त्यसको लागि मजाले डटेर काम गर्नुपर्छ अनि त्यहि मेहनत गरेर जोडेको सम्पति देख्नेहरुलाई अमेरिकाको सपना देख्ने भूत चढ्छ ।
जनताको हितमा गरिने राजनीति, बिज्ञान प्रबिधिको भरपुर उपयोग र प्रदूषणको कमी, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र यातायातमा राज्यको उत्कृष्ट लगानी तथा रोज़गारको प्रचुर सम्भावना, न्याँयपूर्ण कानून आदिको प्रत्याभूति देखेपछि मान्छेहरु अमेरिका भाँसिएको भाँसियै छन् ।
अहिले बिष्वब्यापीकरणको युग हो त्यसैले मान्छेहरु ब्यक्तिगत स्वतन्त्रता प्रयोग गरेरै अमेरिका आएका हुन, अमेरिका बसेर नेपालको भ्रष्ट खेमाको राजनीतिको पक्षपोषण गर्ने केहि ब्यक्ति तथा संस्था बाहेक अरु स्वच्छ र निस्कलंक छन् । जसले परेको बेलामा देशको घाउमा मलम लगाएका छन् । लेख्नेले अमेरिका बसेरै पनि मन छुने कृति लेखेका छन्, पुरस्कृत भएका छन्, लेखकीय बिचार पोखेर हरेक क्षण बिकृति र बिसंगति बिरुद्द खनिएका छन् । साँच्चै भन्ने हो भने उनीहरुलाई देशको अपार माया छ, आफू बिदेशमा भए पनि पल पल देश दुखेको देख्दा पिरोलिएका छन् । अमेरिका बस्ने मात्र होईन सबै परदेशिएकाले सोचिरहन्छन्: साँच्चै ! हाम्रो देश अमेरिका जस्तो सम्पन्न भैदिए ! साँच्चै हाम्रो राजनीति पनि यहाँको जस्तै नमूना भईदिए !
अमेरिका सपनाको देश त्यसै भएको होईन, यहाँ दृढ भएर लगनशीलताले काम गर्ने हो भने राम्रो कमाई गर्न गाह्रो हुँदैन। बिशेष गरी सूचना प्रबिधि, नर्सिंग, मेडिकल डक्टर, लयर्स, अडिटर र आफ्नै ब्यापार तर्फ धेरै राम्रो कमाई हुन्छ। अंग्रेज़ीमा दक्ष हुनेले यहाँका सामुदायिक स्कूलहरुमा पढाउने हो भने पनि राम्रो आम्दानी हुन्छ । अन्य सीप नभएका र अंग्रेज़ी नजान्नेहरुका लागि यहाँ गाह्रै हुन्छ। तर सामान्य जीवन बाँच्न त्यति गाह्रो हुँदैन । ट्याक्सी ड्राईभिंग, ग्याँस स्टेशनमा क्यासियर , रेष्टुरेन्ट र सुपर मार्केटमा यस्ता धेरै मान्छेले काम गर्छन । त्यस बाहेक पेन्टिंग, बिल्डर र कन्स्ट्रक्शन्समा काम गर्नेको पनि राम्रै कमाई हुन्छ।
एक दिन काम गरेको पैसाले राशन मात्र किन्ने हो भने झण्डै दश दिन पुग्छ अमेरिकामा । अपार्टमेन्टको भाडा, हेल्थ ईन्स्योरेन्स, कारको ईन्स्टलमेन्ट, कार ईन्स्योरेन्स, टेलिफ़ोन, ईन्टरनेट तथा ग्याँसमा खर्च गरेर पनि केहि रकम फूल टाईम काम गर्ने मान्छेले बचाउन सक्छ। दुई जनाले काम गर्ने हो भने त भविष्यको लागि संचित गर्न पनि मदत पुग्छ ।
जे होस देशले मागेका मान्छे अमेरिका पलायन हुनु राम्रो कुरा पक्कै होईन तर देशको राज्यसत्तामा हालीमुहाली गर्नेहरु प्राय सबैले आफ्ना छोरा छोरी बिदेश पठाएर जनताका छोरालाई भर्यांग बनाउने तथा स्वाभिमानी मान्छेहरुलाई काम गर्न नदिई तेजोवध गरिन्छ भने मान्छेले कतै न कतै आफ्नो ठाउँ खोज्छ र खोज्नुपर्छ । प्रेम बानियाँ र बिदेशका धेरै युवाहरु स्वदेश फर्केर जय स्वाभिमान भन्ने दिन आउन हाम्रो धमिलो राजनीति संग्लो हुनुपर्ने छ, त्यतिन्जेल सम्म बिदेशबाटै भए पनि जय स्वाभिमानको उद्घोष भईरहनु पनि नराम्रो हो भनेर कसरी भन्नु र ?
प्रेम बानियाँकै शब्दमा भन्नुपर्दा राज्यसत्तामा पहूँच भएका टाईवालाहरुले आफ्ना छोरा छोरीहरु अमेरिका पठाएर जनताका छोरा छोरीहरुलाई टायर बाल्न पठाउने देशमा केहि गरौँ भन्ने सोच्नु पनि गलत सावित हुने रहेछ। देशलाई परिवर्तन गर्ने ठेक्का लिएकाहरुले पहिला आफ्ना छोरा छोरी अमेरिका पठाउन रोक्नु पर्छ पर्दैन? हैन भने तिनीहरुका छोरा छोरी राष्ट्रवादी र प्रेम बानियाँहरु कसरी देशद्रोही भए? कसरी अस्तित्वका लागि देश छाड्नेहरु देश द्रोही भए?
देश सम्पन्न र समृद्द भए कोही बिदेश भाँसिदैन , अमेरिकनहरु कुन देशमा गएर भाँसिएका छन् र ? बरु नेपाललाई अमेरिका हाम्रै पालामा बनाउछु भनेर देशको ढुकुटीमा रजाईँ गर्नेहरुले छातीमा हात राखेर आफ्नै सन्तान स्वदेश फर्काउने हिम्मत राख्न सक्छन? देश बनाउने ज़िम्मा तिनका सन्तानको हो कि होईन? तमाम युवाहरुको एउटै ईच्छा छ: स्वाभिमानको उद्घोष गर्ने कसैलाई बिदेशिन नपरोस् । जय स्वाभिमान !
प्रतिक्रिया