आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ–सभापति देउवा

इनेप्लिज २०७३ कार्तिक ३ गते ९:२२ मा प्रकाशित

deuwaकाठमाडौँ, ३ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो “महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ, यसैबाट महिला सशक्तीकरण हुन्छ ।”

“महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र” विषय आजदेखि सुरु भएको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षाले मात्र महिलाको चौतर्फी विकासमा सहयोग पु¥याउँछ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला नेत्रीको सहभागिता रहेको छ ।

सभापति देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको चर्चा गर्नुभयो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पाकिस्तान र भारतका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को शिखर सम्मेलन आयोजना गर्न अध्यक्ष देशका रुपमा नेपालले पहल गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व प्रदान गरिरहँदा विश्वमा नयाँ सन्देश गएको चर्चा गर्दै नीति निर्माण तहमा महिला सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया