आफ्नो गौरव,आफ्नो पर्व, आफ्नो पहिचान र मेरी सत्तरी बर्षकी आमा र आफन्तले दिएको वरदान जडित त्यो रातो टीका त मेरो ‘स्वाभिमान’ पो

इनेप्लिज २०७३ असोज ३० गते २:०२ मा प्रकाशित

unnamed

धेरै नेपालीहरुको खुशी र मिलन अनि बिजयको प्रतिबिम्ब दशैँ, अन्याय बिरुद्द न्यायले बाज़ी मारेको दिन दशैँ । यहि एउटा दशैँ हो जुन बेला शहर सन्नाटा हुन्छ अनि गाउँ हाँस्छ, परदेशमा बस्नेहरु छुट्टी पाउनेहरु पनि मिठो मिलनको अनुभूति गर्दै घर फर्कने, सबै सबै समुदायको मनमै बसेको छ दशैँ ।

दशैँको बेला हुने लामो बिदा तथा अतिरिक्त दशैँ भत्ता हुने भएर होला घरदेशमा सरकारी जागिर गर्नेहरुलाई बिदा र दशैँ खर्च दुबै हुन्छ तर परदेशमा त्यहि दशैँमा पनि मन नलागी नलागी काममा जानुपर्दाको पीडा कसरी नाप्नु र ! तर कहिलेकाहिँ पीडा भित्रै पनि खुशी फूल्दो रहेछ । त्यहि सिलसिलाको संस्मरणको भूमिका बाँध्दै छु ।

अमेरिकाको दशैँ बिशेष गरी नेपालीहरुको जमघट दशैँ पार्टी आयोजना गरेर नेपालबाट नाम चलेका कलाकारलाई निम्त्याएर तथा स्थानीय कलाकारहरुको संगितमय प्रस्तुति अनि बिजयादशमीमा सिमित आफन्तको हातबाट टिका थापेर बित्छ । आफन्त नहुने धेरै मान्छेहरु ख़ाली निधार राख्नुपर्दा कति दुखी हुन्छन त्यो कुरा त त्यहि पीडा भोग्नेलाई सोध्दा थाहा हुन्छ ।

बडादशैँको गहिरो प्रभाव धार्मिक भन्दा पनि साँस्कृतिक र सामाजिक एकतामा केन्द्रित छ, बर्ष भरि भएका स-साना मनमुटावलाई यहि दशैँले मिलाएको देखेका हामी परदेशीहरु घरदेशमा सुख र समृद्दिको कामना गरेरै बिताउँछौ ।

एउटा ज्यान मात्र परदेशमा भएर के भो मन त हरपल त्यो रमाईलो दशैँमा खेलेको पिंग, आमाले बनाएको सेल रोटी, सानोमा गाउँ भरि टीका थापेर बटुलेका रोटीहरु र पूर्णिमाको मेला सम्झेरै बित्छ परदेशको दशैँ ।

यसपालीको दशैँ पनि घरदेश सम्झेरै बित्यो ।

घरदेशमा जस्तो दशैँमा बिदा हुँदैन अमेरिकामा । त्यसमाथि क्रिश्चियनहरुको देशमा सानो संख्यामा भएका नेपालीहरुले मनाउने दशैँको बारेमा यहाँका धेरै मान्छेलाई थाहै छैन । तर खुशीको कुरा सबै धर्म र संस्कारको सम्मान हुन्छ अमेरिकामा । त्यसैले होला नेपालको लागि अमेरिकी राजदूतले टीका थापेर दशैँको सम्मान गरेको ।

हो ! मलाई पनि धेरैलाई जस्तै दशैँको दिनमा छुट्टी मिलेन,यसपालि परदेशमा आमाको हातको टीका थाप्न पाएको खुशी त जति नापे पनि सकिन्नथ्यो होला तर टीका थापेको केहि घन्टामै मन गह्रुंगो बनाई काममा जाँदा परदेशी जीवन प्रति आएको बितृष्णा पनि मापन गर्न नसकिने थियो ।

जे होस काममा त जानै पर्ने थियो नै । साथी भाइले काममा जाँदा “टीका पुछेर जा” भन्दै थिए ।

तर म मेरी सात समून्द्र पारिबाट मेरो निधार रंग्याउन आएकी मेरी सत्तरी बर्षकी आमाले हर्षका आँशु झार्दै दीर्घायु र सुस्वास्थ्य अनि समृद्दिका लागि लगाईदिएको टीका केहि घन्टामै म कसरी पुछ्न सक्थेँ, मेरा सिमित आफन्त र अभिभावकले दिएको आशिष अनि न्याँय र बिजयको प्रतीक त्यो रातो टिका र पहेँलो जमरा म कसरी पखाल्न सक्थेँ !

मैले पुछिन, पखालिन ।

निधार भरि रातो टीका र जमरा लिएर म काममा हिँडे ।

बाटो भरि मान्छेहरु मलाई हेर्दै थिए:

अलि टाढाका मान्छेहरु मेरो निधार भरिको रातो टीकालाई रगत ठानेछन् क्यारे: ओह माई गड़ ! भन्दैथिए ।

कोहि मान्छेले ‘ह्वाट्स रोंग अन योर फोरहेड’ भन्दा त रिसले कन्सुरी पनि तातेको थियो मेरो ।

तर म संयम भएर मुस्कुराउँदै असत्य र बेईमान बिरुद्द बिजय प्राप्त गरेको गौरबशाली दिनको सम्झनामा मनाईने महान चाड बिजयाद़शमी मनाएको भन्दा मान्छेहरु बडो उत्सुक भएर सोधिरहेका थिए ।

म काममा आईपुगेँ, सहकर्मी साथीहरु पनि मुखामुख गरिरहेका थिए । सबैको नजर मेरै निधारमा थियो ।

आफ्नो गौरव,आफ्नो पर्व, आफ्नो पहिचान र मेरी सत्तरी बर्षकी आमा र आफन्तले दिएको वरदान जडित त्यो रातो टीका त मेरो ‘स्वाभिमान’ पो थियो । म हाँस्दै काममा तल्लीन भएँ ।

दशैँ भनेर जान्ने अत्यन्त थोरैले शुभकामना दिए मलाई, कोही रगत भनेर झस्किए त धेरै जसो “ह्वाट्स रोंग अन योर फोरहेड” भन्नेहरु धेरै आए, धेरै गए ।

सबैलाई मेरो प्यारो दशैँको बखान गर्न म बबुरोले कहाँ सक्थेँ र ! त्यो पनि काममा ब्यस्त भएको बेला । त्यसैले केहि कागजका चिर्कटोमा नेपालमा मनाईने दशैँको बारेमा ‘गुगल’ गरेर हेर्न सुझाएँ ।

नेपाललाई हिमाल, बुद्द र सगरमाथाको देश भनेर चिन्ने अमेरिकनहरुले अनौठो पर्व दशैँको बारेमा मैले भन्दा बढि मेरो निधारले धेरै बताएको कुरा सुन्दा म आफैलाई कति भाग्यमानी ठानेँ त्यो म शब्दमा बताउन सक्दिन ।

जे होस धेरै मान्छेहरु यो गज्जबको देश नेपालको भ्रमण गर्न ईच्छुक देखिए । मैले दशैँको दिनमा काममा आउनुपर्दाको सबै पीडा भूलेँ ।

सबैले यसै गरी हाम्रो नेपाल र सस्कृतिको बारेमा बताई रहने हो भने एक दिन हाम्रो देश सबैको गन्तब्यमा पर्ने निश्चित छ ।

म त अमेरिकामा भए पनि अझै सम्म जनै फालेको छैन र फाल्ने पनि छैन । एक दिन यो जनैको बारेमा पनि धेरै अमेरिकनहरुलाई बताउनु छ, जनै मात्र हैन हिमाल पहाड र तराईका धेरै संस्कृति र पर्वको बारेमा बताउनु छ । यहि विविध संस्कृतिको प्रचार प्रसारले नेपालको नाम अझ उच्च राख्न सकिन्छ भन्ने मेरो ठहर छ ।
– अमेरिका

प्रतिक्रिया