कोजागरा पर्व मनाइँदै

इनेप्लिज २०७३ असोज २९ गते १०:१७ मा प्रकाशित

kpजनकपुरधाम, २९ असोज । मिथिलाञ्चलमा आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदै छ ।

पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिकारूपमा प्रसिद्ध मानिएको छ ।

कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयम् निरीक्षण गर्ने र रातिमा जाग्राम बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने जनविश्वास रहेको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिन्छ ।

मैथिल संस्कतिको एउटा प्रमुख अङ्ग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाई खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन छ ।

मिथिला क्षेत्रमा मङ्सिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई कोजागरामा चुमाउने गरिन्छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले यो पर्वमा रमाइलो गरी पासा र पचिसी खेल्ने परम्परा छ ।

चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँचवटा प्रमुख स्थानलाई चुमाउने गरिन्छ । हातका पाँच औंँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच स्थानको स्पर्शले शरीर ऊर्जावान हुने विश्वास मिथिला क्षेत्रमा पाइन्छ ।

शरद् पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ । यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ । त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीककारूपमा समाजले स्वीकार गरेको पाइन्छ ।

प्रतिक्रिया