अमेरिकाको मेरिल्याण्डमा बानाले आयोजना गरेको “नेपाली सडक महोत्सव २०१६” को औचित्य र महत्व – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असोज २८ गते २०:२३ मा प्रकाशित

thumbnail_image1

भाषा, कला, संस्कृती, परम्परा, रितीरिवाज, संस्कारको संरक्षण हुनसके मात्र जुनसुकै मुलुकमा रहेपनि आफ्नो नेपालीपन र नेपाली पहिचान विश्वसामु परिचित गराउन सकिन्छ भन्ने मुल लक्ष्यका साथ आजकल विदेशमा रहेका नेपालीहरुको सामुहिक हितका लागी खोलिएका संघ संस्थाहरुले विभिन्न सांस्कृतिक महत्व झल्काउने कार्यक्रमहरु, महोत्सवहरु आयोजना गर्दै आएको पाईन्छ । यस्तै सांस्कृतिक महत्व राख्ने कार्यलाई निरन्तरता दिनको लागी अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालीहरुको सामाजिक छाता संगठन BANA( Baltimore association of Nepalese in America) ले गत साल देखि संचालन गर्दै आएको “नेपाली सडक महोत्सव” लाई यस बर्ष पनि धुमधामले मनाउने तयारी अन्तिम चरणमा पुगेको खवर आयोजकहरुबाट सामाजिक संजाल र संचारका माध्यमहरुमा आईरहेको पाईन्छ ।

वास्तवमा यस्ता महोत्सवहरुको आयोजना हुनु विदेशमा रहेका नेपालीहरुको वीचमा आपसमा आत्मियता बढाउने, आपसी परिचय एवं सम्पर्कलाई जीवन्त पार्दै आफ्नो कला, संस्कृती, भेषभुषा, संस्कार, प्राचीन परम्परा, मुल्यमान्यताहरुलाई सार्वजनिकरुपमा सबै सामु( नेपाली समुदायका साथै विश्व समुदायका नागरिकहरु ) प्रदर्शित गरेर नेपाल र नेपालीहरुबारे परिचित गराएर नेपाली पहिचानलाई संरक्षण र सम्वर्धन गर्न महत्वपुर्ण योगदान पुग्ने देखिन्छ । विशेषगरि अमेरिका जस्तो विविध सांस्कृतिक पहिचान बोकेका विश्वका विभिन्न मुलुकबाट आप्रवासी बनेर आएका व्यक्तीहरुको बाहुल्यता भएको मुलुकमा नेपाल र नेपालीको बारेमा सकारात्मक संदेश प्रवाहित गरेर नेपाली समुदायलाई सधै सम्मानजनक ढंगबाट हेर्न र यस्ता कार्यक्रमबाट प्रवाहित भएर नेपालमा पर्यटककोरुपमा भ्रमण गर्न उत्प्रेरित गर्न पनि समय समयमा “नेपाल परेड डे” वा यस्तै सडक महोत्सव लगायत विविध सांस्कृतिक महत्व झल्किने कार्यक्रमहरु आयोजना हुनु अति आवस्यक देखिन्छ ।

यसै सन्दर्भमा यही अक्टुवर १६ तारिक आईतवारका दिन BANA को नेतृत्वमा मेरिल्याण्डको बाल्टिमोरमा आयोजना हुनगईरहेको ” नेपाली सडक महोत्सव २०१६” मा मेरिल्याण्डका विभिन्न सामाजिक संघसंस्थाहरुको साथ र सहयोगमा विभिन्न किसिमका कार्यक्रमहरुलाई विशेष आकर्षणको रुपमा प्रस्तुत गर्न लागिएको बुझिएको छ । खासगरि नेपाली लोक संस्कृती झल्कने परम्परागत झाँकीहरु( विभिन्न जातजातीहरुको), नेपाली खानाका परिकारहरुको स्टलहरु, नेपाली लोकबाजाहरुको प्रस्तुती, नाँचगान, ख्याती प्राप्त कलाकारहरुबाट सांस्कृतिक स्टेज प्रोग्राम, खेलकुद कार्यक्रम, बालप्रतिभाहरुको विशेष प्रस्तुतीहरु, खेलाडीको विश्व किर्तीमान राख्ने कार्यक्रमको प्रस्तुती, विभिन्न परम्परागत भेषभुषाहरुमा सजिएका नेपालीहरुको प्लेकार्ड र ब्यानरहरु सहितको उपस्थिती, कलात्मक वस्तुहरुको प्रदर्शन, नेपाली मौलिक हस्तकला, बाद्यवाधनका सामाग्रीहरु प्रदर्शनी लगायत थुप्रै नेपाली कला, संस्कृतीलाई झल्काउने गतिविधी संचालन हुने कार्यक्रम रहेको जानकारीमा आएको छ । यसले गर्दा पनि यस कार्यक्रमको विशेष औचित्य एवं महत्व रहेको देखिन्छ ।

यस्तो कार्यक्रममा जति सक्दो बढि नेपालीहरुको उपस्थिती हुन सक्यो त्यतिनै कार्यक्रम सशक्त एवं प्रभावकारी हुन सक्छ र जसबाट नेपालीहरुको आपसमा एकता र भाईचारा कायम हुने हुन्छ साथै नेपाली समुदाय बाहेक अन्य समुदायहरुमा समेत नेपालीहरुको त्यस किसिमको व्यवहारले विशेष अर्थ र महत्व राख्छ । त्यस्तै हरेक गतिविधीमा सामुहिक आवाजलाई सम्बन्धित निकायहरुमा राख्न सकिने र त्यसले मुर्तरुप लिन सक्ने देखिन्छ किनकी हामी सबै जुट्न सके मात्र नेपालीहरुको हित हुन सक्छ । अन्यथा सामुहिक हित एवं आवस्यकता पुरा गर्न एकल प्रयासबाट विदेशी भुमिमा हाम्रो आवाजको कुनै सुनाई हुन संभव हुँदैन । तसर्थ हामी सबैको सरोकार राख्ने यस्ता हरेक कार्यक्रममा आपसी खिचातानी र ईगो देखाउने काममा कदापी लाग्नु हुँदैन । कतिपय स-साना मतमतान्तरहरु भएपनि, देखिएपनि त्यसलाई आपसी समझदारी र सुझवुझमा समाधान गरेर वृहत्तर हित हुने काममा सबैको मन एवं आत्म एकसाथ हुनु आवस्यक छ । अत: यो नेपाली सडक महोत्सवमा सबै पायक पर्ने नेपालीजनहरु सहभागी भएर नेपाली कला, संस्कृती र पहिचानलाई अझै सशक्त बनाउन उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भव्यताका साथ सफल पारौ ।
अन्त्यमा यस्ता कार्यक्रमहरु विभिन्न देशमा बस्ने नेपालीहरुबाट आयोजना हुँदै गएमा ती देशहरुमा बसोबास गर्ने नयाँ पुस्ताहरुमा समेत आफ्नो भाषा, कला, संस्कृती, परम्परा एवं रितीरिवाजहरुको पनि क्रमश हस्तान्तरण गर्दै लैजान सजिलो हुने देखिन्छ । त्यसैले पनि यस्ता कार्यक्रमहरुलाई नेपाली समुदायका विदेशमा रहेका सामाजिक संघसंस्थाहरुले विशेष महत्वका साथ आयोजना गर्नु पर्दछ । अत: बानाको सकृयतामा आयोजित यस नेपाली सडक महोत्सवले डि.सी, भर्जिनिया, मेरिल्याण्ड राज्य र यस वरपरमा रहेका नेपाल र नेपालीलाई एकताको शुत्रमा बाँध्न मद्दत पुर्याउने देखिन्छ । त्यसैले नेपाली कला, भेषभुषा, भाषा संस्कृतिको प्रबर्द्धन र सम्बर्द्धनका लागि भनि सुरु गरिएको यस नेपाल मेलाको थालनी गरेकोमा बानाको अहिलेको कार्यसमिति 2015/17″ लाई हामी सम्पुर्ण नेपालीहरुले बिशेष धन्यवाद दिनै पर्ने हुन्छ । त्यस्तै आगामी दिनमा समेत नेपाली समुदायको हितमा सधै समर्पित हुन अनुरोध गर्दै कार्यक्रमको पुर्ण सफलताको शुभकामना छ । साथै कार्यक्रम हुने तिथी, मिती र समय यसप्रकार रहेको जानकारी पनि गराईन्छ-

Date: October 16, 2016 (Sunday) Time: 12:00PM – 5:00PM
Venue: 400 Washington Ave, Towson, MD 21204.

प्रतिक्रिया