भाग्यले बाँचेकाहरु’ हङकङमा प्रदर्शन हुँदै

इनेप्लिज २०७३ असोज ७ गते १०:५० मा प्रकाशित

bhagyale-bachekaharu_big-file

हङकङ, ६ असोज । नेपालको विनाशकारी भूकम्पमा परी चमत्कारिक रुपमा नयाँ जीवन पाएका नेपालीको कथामा तयार पारिएको चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ हङकङमा पनि प्रदर्शन हुने भएको छ । हङकङमा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो ।

लमजुङ सेवा समिति हङकङको आयोजनामा आगामी अक्टोबर २ तारिख आइतबारका दिन युनलोङ टाउन हलमा हुन लागेको प्रदर्शनमा हङकङ र मकाउका नेपाली समुदायको उपस्थिति हुने समितिका अध्यक्ष सरोज गुरुङ (खम)ले बताउनुभयो । उहाँका अनुसार, अहिले धमाधम टिकट बिक्री भइरहेको छ । वृत्तचित्र प्रदर्शनीलाई भव्य बनाउन लमजुङ सेवा समितिले स्वयम्सेवकहरुलाई परिचालन गरेको छ ।

प्रदर्शनीबाट संकलित रकम लमजुङको सदरमुकाम बेसीशहरमा सहजी फुटबल मैदान निर्माणका लागि सहयोग गर्ने लमजुङ सेवा समितिका सचिव सुरेन्द्रमान घलेले बताउनुभयो । उहाँका अनुसार, वृत्तचित्र प्रदर्शनी समारोहमा भाग लिन ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरे हङकङ आउने कार्यक्रम छ ।

काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको भाग्यले बाँचेकाहरुले करिब एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । यसैगरी, विश्वका ३२ वटा देशका ६५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनीका लागि छनौट भइसकेको छ ।

नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ । यसअघिको नेपाली संस्करण ५५ मिनेटको थियो । अंग्रेजी संस्करणका लागि अमेरिकी चलचित्रकर्मी जोशाय हुपर र सपना शाक्यले परामर्शदाता सम्पादकको भूमिका निर्वाह गरेका छन् । यसैगरी, लेखन तथा भ्वाइसओभर पनि जोशाय हुपरकै रहेको छ ।

नेपाली संस्करणको लेखन तथा भ्वायसओभर भने सशस्त्र प्रहरी निरीक्षक दीपक कोइरालाले गरेका छन् । शारदा गैरेको निर्माण, कुमार शाहको सम्पादन, विनोद विष्टको छायाँकन, जुगल डंगोलको संगीत संयोजन तथा सम्राट भुमिजको पोस्टप्रडक्सनमा बनेको डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर चमत्कारिक रुपमा नयाँ जीवन पाएका ९ जना नेपालीको कथालाई पर्दामा उतारिएको छ ।

प्रतिक्रिया