नेजस अमेरिकामा आर्थिक हिनामिना प्रकरण २४ घण्टा नवित्दै केन्द्रबाट २ वटा पत्राचार

इनेप्लिज २०७३ भदौ १९ गते २०:२८ मा प्रकाशित

आर्थिक अपचलन गर्ने समूहको परराष्ट्रमन्त्री महतद्वारा बचाउ, पत्राचारका विषयमा पार्टी सभापति नै अनभिज्ञ !

क्यालिफोर्निया ।

नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भित्र भूकम्पपीडितको नाममा उठाइएको रकम चरम दुरुपयोग भएपनि यो विषय यतिबेला सिँगो पार्टीका लागि टाउको दुःखाईको विषय बनेको छ । भूकम्प पीडितको नाममा अमेरिकामा उठाईएको रकम दुरुपयोग गर्ने जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको कार्यशैलीका कारण सिँगो जनसम्पर्क समिति मात्र नभै यतिबेला पार्टी केन्द्रीय कार्यालय पनि आजित बनेको छ ।

सभापति विष्टले नेज समितिका पदाधिकारीहरुसँग छलफल नै नगरी आफूखुसी र मनलाग्दी ढंगले रकम बाँडफाँड गरेको भन्दै केही समय अघि जनसम्पर्क समितिका बहुमत पदाधिकारीहरुले त्यसको कडा विरोध गरेका थिए । विगतमा स्वर्गीय शुशील कोइराला पार्टी सभापति रहेका बेला उहाँले पटक पटक समितिका सभापति विष्टलाई पार्टीलाई नै बद्नाम गराउने गरी जनसम्पर्क समितिभित्र भित्र आर्थिक हिनामिना भएको घटना सार्वजनिक हुनु दुर्भाग्यपूर्ण भन्दै तत्काल यो हिसाव हिताव सार्वजनिक गर्न आग्रह गर्नुभएको थियो । तर अहिलेसम्म सो विषयको विवाद मिल्न नसकेपछि केन्द्रले नै विवाद मिलाउन र आर्थिक हिनामिनाको विषयमा यथार्थ पत्ता लगाउन निरन्तर रुपमा पहल गरिरहेको छ ।

विगतमा पनि केन्द्रीय कार्यालयले जनसम्पर्क समितिका अध्यक्षको नाममा धेरैचोटी पत्र पठाई विवाद समाधान गर्न र आर्थिक हिसाव किताव पारदर्शी ढंगले राख्न निर्देशन दिएको थियो । तर केन्द्रले जारी गरेको पत्र तथा निर्देशनलाई वेवास्ता गर्दै सभापति विष्टले मनलाग्दी ढंगले रकम बाँडफाँड गर्ने, नक्कली भूकम्पपीडित तथा आफू निकटका व्यक्तिलाई रकम बाँड्ने, भूकम्प पीडितलाई रकम बाँडेको भन्दै भ्याट नै नतिरेको विल बनाउने जस्ता संगठनको न्यूनतम म्यान्डेड विपरितका काम गरेका कारण केन्द्रीय कार्यालयले पछिल्लो पटक यही भदौ ८ गते जनसम्पर्क समितिको नाममा पुनः पत्राचार गरेको छ ।

सो पत्रमा अमेरिकाको जनसम्पर्क समिति भित्र देखिएको विवाद समाधानका लागि पार्टीका केन्द्रीय सदस्य एवं सांसद महेन्द्र यादव र अर्का सांसद मोहन बराललाई अमेरिका पठाइएको र उहाँहरुलाई समिति भित्रको आर्थिक हिसाव किताव तथा अन्य वास्तविकता यथार्थ रुपमा जानकारी गराउन सभापति मार्फतसमितिलाई भनिएको छ । सो पत्र नेजस अमेकिराका सभापति विष्टलाई प्राप्त भएको भएपनि सभापति मार्फत् भन्दा पनि महासचिवमार्फत् मात्रै सबै केन्द्रीय पदाधिकारीहरुले यसको जानकारी पाएको बताइएको छ ।

स्मरणीय के छ भने, गैर आवासीय नेपालीहरुको अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन यादव र बराल पार्टीका तर्फबाट न्यू जर्सीमा पुगेका बेला जनसम्पर्क समिति भित्र देखिएको विवादको पनि छानबिन गर्न केन्द्रीय कार्यालयले भदौ ८ गते उहाँहरुलाई निर्देशन दिएको थियो । पार्टीको निर्देशन अनुसार बराल र यादवले जनसम्पर्क समितिको विवाद, आर्थिक अपचलनलगायतका विषयमा समितिका सबै पदाधिकारीहरुसँग गहन ढंगले छलफल अघि बढाईरहनुभएको छ ।

तर पहिलो पत्र प्राप्त भएको २४ घण्टा वित्न नपाउँदै वर्तमान परराष्ट्रमन्त्री प्रकाशशरण महतको ठाडो निर्देशनमा पार्टी कार्यालयले पुनः अर्को पत्र पठाई आर्थिक अपचलनमा संलग्न सभापति विष्टको बचाउ गर्दै समितिले उठाएको सबै रकम पार्टीको खातामा हाल्न निर्देशन गरिएको बताइएको छ । स्मरणीय के छ भने विगतमा बहुमत केन्द्रीय सदस्यले सभापति विष्टले आर्थिक हिनामिना गरेका तथा भूकम्प पीडितका लागि उठाईको रकम मनलाग्दी ढंगले बाँडेको भन्दै तत्काल यो रकम पार्टीको केन्द्रीय राहत कोषमा दाखिला गर्न सभापतिको ध्यानाकर्षण गराएको थियो ।

नेजस अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङ्ले बहुमत केन्द्रीय पदाधिकारीहरुले विगत ८ महिना अघिदेखि समितिका अध्यक्षलाई हिसाव चुस्त दुरुस्त राख्न आग्रह गरेको भएपनि उहाँले यस विषयमा गम्भीरता नदेखाउँदा पार्टी कार्यालयले नै यथार्थता स्पष्ट गर्न माग गर्नु खुसीको विषय भएको बताउनुभयो । उहाँले घटनाको विषयमा पार्टी कार्यालयले पठाएको टोलीले आवश्यक छानबिन गरिरहेको बेला भूकम्पपीडितका नाममा उठाईको रकम पार्टीको केन्द्रीय राहत कोषमा पठाउन निर्देशन दिनु आफैंमा सकारात्मक विषय भएपनि विष्टलाई बचाउने हिसावले दोश्रो पत्र पठाइएको भन्दै यसप्रति आश्चर्य व्यक्त गर्नुभएको छ ।

दोश्रो पटक पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जनसम्पर्क समितिका सभापतिको नाममा जारी भएका पत्रको विषयमा जनसम्पर्क समितिका सभापति बाहेक अन्य कोही पदाधिकारीलाई जानकारी नभएको र पछि पत्रिका मार्फत् जानकारी पाएको बताइएको छ । अझै अचम्मको कुरा त के छ भने पार्टी कार्यालयले भदौ ९ गते पठाएको दोश्रो पत्रको विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी नभएको दाबी देउवा निकट स्रोतको छ । दोश्रो पत्रमा काँग्रेस पार्टी कार्यालयले भूकम्पपीडितका लागि उठाईको रकम दुरुपयोग गरेको विषयलाई केन्द्रले गम्भीरताको रुपमा लिएको उल्लेख छ । पत्रमा संगठनको निष्ठा, आदर्श मूल्य–मान्यता तथा अनुशासन कायम गर्ने जिम्मेवारी विशेष गरी अध्यक्षको हुने भन्दै यसतर्फ सचेत रहँदै पार्टीको निर्देशनलाई पालना गर्न र संगठन भित्र सौहार्दता एवं समन्वय कायम राख्न सभापतिलाई निर्देशन दिइएको छ ।

यसैबीच नेजस अमेरिकाका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले केन्द्रीय कार्यालयले पठाएको प्रतिनिधिले नेजस अमेरिका भित्रको आर्थिक हिनामिनाको विषयमा छानबिन गरिरहेका बेला पार्टी सभापतिलाई समेत जानकारी नगराईकन केन्द्रीय कार्यालयको नाममा अर्को पत्र प्राप्त हुनु आश्चर्यजनक भएको बताउनुभएको छ । उहाँले पार्टीले खटाएको प्रतिनिधिले आर्थिक अपचलन तथा संगठन भित्रका गतिविधिको बारे गहन ढंगले छाननबिन गरेको भन्दै आर्थिक अपचलन गर्ने व्यक्तिलाई उन्मुक्ति दिने हिसावले दोश्रोपटक २४ घण्टा भित्र पत्र प्राप्त हुँदा निष्पक्ष काम गर्न खोज्नेहरुको मनोबल गिर्न सक्नेतर्फ पार्टीको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले नेजस अमेरिकाको विवाद समाधानका लागि केन्द्रले नै हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै विशेष समिति गठन गरी अध्ययन तथा छानबिन गर्नुपर्नेमा जोड दिनुभएको छ । यसका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको उहाँको भनाई छ । जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीले काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको प्रवासी संगठन भित्र यस्तो आर्थिक चलखेल तथा आर्थिक हिनामिनाको घटना हुनु दुःखद भएको भन्दै पार्टीले यस्ता घटनामा संलग्न हुनेलाई तत्काल कानुन अनुसार कारबाही अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टी नेतृत्वलाई नेजस अमेरिकाभित्र देखिएको विवाद मिलाउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

अन्यथा विगतमा आधिकारिक जनसम्पर्क समिति हुँदा हुँदै अर्को जनसम्पर्क समिति गठन गरेर त्यसको बागी सभापतिको आनन्द बिस्ट भय जस्तै फेरी अर्कों घटना पुःन दोहोरिन सक्नेतर्फ बेलैमा सचेत बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको छ । साथै जनसम्पर्क समितिभित्र बसेर इमानन्दारितापूर्व काम गर्नेहरु विगतदेखि नै चेपुवामा परेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न पनि उहाँले सिँगो पार्टी पंक्तिलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया