सभापति देउवाद्वारा दुःख व्यक्त

इनेप्लिज २०७३ साउन २४ गते ९:४६ मा प्रकाशित

काठमाडौँ, २४ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक सरकारी अस्पतालमा आपराधिक समूहबाट आज भएको विष्फोटमा परी ३० जनाको मृत्यु र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

पाकिस्तानको इतिहासमा एक पछि अर्को गर्दै यस्ता आपराधिक घटनाको पुनरावृत्तिले पुनः विश्वलाई शोक विह्वल र स्तब्ध बनाएको छ ।

‘विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी र आपराधिक घटनाको नेपाली काँग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ’ सभापति देउवाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सभापति देउवाले यस दुःखद क्षणमा पाकिस्तान सरकार र त्यहाँका जनतामा आफू र आफ्नो पार्टीको तर्फबाट सहानुभूति प्रकट गरेको बताउनुएको छ । साथै उहाँले यस्ता घटनाको धैर्यताका साथ सामना गर्न र अगाडि बढ्न आग्रह पनि गर्नुभएको छ ।

सभापति देउवाले घटनामा परी सहादत प्राप्त गर्नुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जलि, दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया