रत्ननगर (चितवन), २३ साउन । निकुञ्जपारिको क्षेत्र दक्षिण चितवनको माडीका युवाले सहयोग सङ्कलन गरी बाढीपीडितलाई राहत दिएका छन् ।
‘सुरुवात आफैँबाट’ भन्ने नारालाई आत्मसात् गर्दै गाउँका युवा मिलेर चलाएको राहत सङ्कलन अभियानमार्फत यहाँका पाँच घर बाढीपीडितलाई राहत उपलब्ध गराइएको युवा अभियन्ता गोविन्द न्यौपानेले बताउनुभयो ।
अघिल्लो साता यहाँ आएको बाढीले भत्काएका दुई घर र विस्थापित भएका तीन घर गरी पाँच घरका परिवारलाई रु ६० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा उपलबध गराइएको न्यौपानेले बताउनुभयो । उनीहरुलाई चामल, दाल, लत्ताकपडा दिइएको हो ।
चितई खोलामा आएको बाढीले विस्थापित भएका माडी नगरपालिका–२, सित्ततलपुरका नेत्र आचार्य, पदमलाल बस्याल, रमादेवी तिमल्सिनाको परिवार, बाँदरमुढे खोलाबाट घर नै बगाई छिमेकीको घरमा आश्रय लिई बसेका माडी नगरपालिका–८ वसन्तपुरका सत्यनारायण शाहका परिवारलाई राहत सामग्री तथा घर पुनःनिर्माणका लागि आर्थिक सहयोग गरिएको हो ।
त्यस्तै बाढीबाट प्रभावित माडी नगरपालिका–५, सिमराकी सुत्केरी खेमी महतो तथा बच्चालाई खानेकुरा, लत्ताकपडा र नगद सहयोग गरिएको न्यौपानेले बताउनुभयो । क्षतिअनुसार हेरेर सहयोग गरिएको हो ।
गाउँका विपन्न र पीडितलाई सहयोग गर्ने, माडी क्षेत्रको विकासमा साप्ताहिक रुपमा अघि बढ्ने, संरक्षण र सरसफाइका कार्यक्रम अगाडि बढाउने योजनासहित युवा अभियानमा लागेका हुन् ।
उनीहरुले सो कामका लागि सामाजिक चेतना तथा वातावरण संरक्षण–नेपाल (सीप–नेपाल) नामक संस्थासमेत गठन गरेका छन् ।
‘हप्तामा एक दिन आफ्नो जन्मभूमि माडीका लागि’ भन्ने अभियान नै चलाएर युवा सङ्गठित भएको न्यौपानेले जानकारी दिनुभयो । स्थानीयवासी श्रीप्रसाद दवाडीले युवा मिलेर विपन्न र बाढीपीडितको सहयोग सङ्कलनमा लाग्नु उदाहरणीय काम भएको बताउनुभयो ।
प्रतिक्रिया