गरुडाका अधिकांश सरकारी कार्यालयमा दोस्रो र तेस्रो दर्जाका कर्मचारी हुँदा कार्य सम्पादन प्रभावित भएको स्थानीयको आरोप

इनेप्लिज २०७३ साउन १२ गते १३:३९ मा प्रकाशित

गरुडाका अधिकांश सरकारी कार्यालयमा दोस्रो र तेस्रो दर्जाका कर्मचारी हुँदा कार्य सम्पादन प्रभावित भएको स्थानीयको आरोप रौतहटको गरुडा नगरपालिका अन्तर्गतका अधिकांश सरकारी कार्यालयहरु दोस्रो र तेस्रो दर्जाका प्रमुखहरुबाट सञ्चालित रहँदा कार्य सम्पादन प्रभावित भएको स्थानीयको आरोप रहेको छ । गृह मन्त्रालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रशासन कार्यालय गरुडा, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको गरुडा नगरपालिका, शिक्षा मन्त्रालय अन्तर्गतका विभिन्न माध्यमिक विद्यालयहरु तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न उपस्वास्थ् चौकीहरु दोस्रो र तेस्रो दर्जाका प्रमुखहरुले सम्हालेको पाइएको छ ।

नगरपालिकाभित्र कार्यालय रहेको महिला तथा बालबालिका सेवा केन्द्र जिल्ला कार्यालय गरुडामा सईको दरबन्दी रहेको भए पनि हवलदारको भरमा कार्यालय चलेको छ । सईको दरबन्दी रहे पनि दरबन्दी अनुसारको व्यक्ति विभागले नपठाउँदा हवलदारको भरमा कार्यालय चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत महिनादेखि सञ्चालनमा आएको इलाका प्रशासन कार्यालय गरुडा पनि नायब सुब्बाको भरमा चलेको छ । अधिकृतको दरबन्दी हुने इलाका प्रशासन कार्यालय गरुडाको लागि दरबन्दी अनुसारको कर्मचारी पठाइदिन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि नपठाएपछि नायब सुब्बालाई कार्यालय प्रमुखको जिम्मेवारी दिनु बाध्यता भएको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले बताएका छन् ।

गरुडा नगरपालिका कार्यालयमा कार्यकारी अधिकृतको दरबन्दी छ तर गाविस सचिवले कार्यालय सम्हालेका छन् । नगरपालिका घोषणा भएको डेढ वर्ष नाघिसक्दा पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत नपठाउँदा नायब सुब्बाको भरमा नगरपालिका सञ्चालनमा रहेको छ ।
यसै गरी शिक्षा मन्त्रालय अन्तर्गत पर्ने विभिन्न विद्यालयहरु पनि दोस्रो र तेस्रो दर्जाका शिक्षकहरुको भरमा चलेका छन् । मावि गेडहीमा प्राथमिक तहका शिक्षक नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन् भने मावि बसबिटी जिंगडिया र झाँझपुल चाहिँ निम्न माध्यमिक तहका शिक्षक प्रधानाध्यापक रहेका छन् । तीनवटै विद्यालयबाट कैयौँ पटक विद्यार्थीहरु प्रवेशिका परीक्षामा सामेल भइसकेका भए पनि सम्बन्धित जिल्ला शिक्षा कार्यालयले विद्यालयको तहअनुसारको शिक्षक नपठाएकोले दोस्रो तथा तेस्रो दर्जाका शिक्षकबाट कार्य सम्पादन भइरहेको पाइएको छ ।

नगरपालिकाका विभिन्न वडाहरुमा रहेका इलाका हेल्थ पोस्ट, उपस्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीहरुमा समेत दरबन्दी अनुसारको कार्यालय प्रमुख छैनन् । अधिकांश स्वास्थ्य संस्थाहरु दोस्रो दर्जाका प्रमुखबाट चलेका छन् ।
अधिकांश कार्यालयमा दरबन्दी अनुसारको कार्यालय प्रमुख नहुँदा कार्य सम्पादन गतिलो हुन नसकेको स्थानीयले आरोप लगाएका छन् । सरकारले जानी जानी गरुडा नगरपालिका अन्तर्गतका कार्यालयहरुमा दोस्रो तथा तेस्रो दर्जाको कार्यालय प्रमुख पठाएर नगरका बासिन्दाहरुको कामलाई प्रभावकारी हुन नदिएको पोठियाहीका मकेसर यादवको भनाइ छ ।
सरकारले कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नपठाउने र कर्मचारीहरु पनि आउन नमान्ने प्रवृत्तिले गर्दा गरुडा नगरपालिकाका अधिकांश सरकारी कार्यालयमा त्यसो हुन पुगेको बताउँदै रौतहटका प्रजिअ बरालले आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।

प्रतिक्रिया