जनताको प्यारो पागल डाक्टरको पक्षमा

इनेप्लिज २०७३ साउन ४ गते २०:१७ मा प्रकाशित
unnamed

जनताका प्यारा डाक्टर गोबिन्द के. सी. देशमा मेडिकल माफ़िया र भ्रष्टाचार बिरुद्द जतिपटक अनसन बसिरहेका छन्, उनलाई त्यतिपटक नै माग पूरा गर्ने ललिपप देखाएर अनसन तोडाईएको छ । आम जनताले बुझ्ने भाषामा सात्विकताको माग गरेर देहत्याग गर्न डाक्टर साहेब तयार हुँदा उनले राखेका माग पूरा गर्न त कता हो कता उनलाई पागल साबित गर्न एेराबत हात्ती देखि छुचुन्द्रा सम्म  लागिपरेका छन् , मानौँ यहाँ जो चर्को स्वरमा बोल्छ, त्यहि हरिश्चन्द्र बन्छ र बनिरहेको छ ।

देशका गजाननहरु डाक्टर के.सी. लाई बहुलाहा साबित गर्न ठूलै जाल झेल गरिरहेका छन्, यहाँ सम्म पेशाले डाक्टर भनिनेहरु पनि डाक्टर के. सी. को आन्दोलनको बिप़क्षमा आफ्ना जाली स्वरहरु ट्वार्र ट्वार्र गरिरहेका छन् यहाँ सम्म कि सात्विकता र न्यायकै लागि अनसन बस्ने डा. के. सी.कै बिरुद्द अनसन बस्छु भन्ने ऐरावत र गजाननबाट प्रायोजित र निर्देशित मुसाहरु दुलो बाहिर आईसकेका छन् । कतै कोट काट्न त कतै नोट काट्न ब्यस्त यी मुसाहरुको चीँ चीँ बजारमा ठूलै छ ।
अचम्म लाग्छ, नाजायज़ मागहरु टायर बालेर चक्काजाम गर्दै, रगतले रंगाउँदै हिंस्रक बनेर पूरा हुने देशमा डाक्टर गोबिन्द के. सी. को जनताका छोरा छोरीहरुलाई डाक्टर बनाउन गरेको कसैलाई नपिर्ने अनसन कस्ले सुनिदेओस ! ईमानको कुनै दुनियाँमा डाक्टर के. सी. को आन्दोलनको पबित्रताको बयान हजार मुख भएका शेषनागले पनि गर्न सक्दैनन् । फोहोरको डंगुरबाट जन्मेका लोकमान र तोकमानले आफ्नो लाज ढाक्न डाक्टर के. सी. लाई पागल आरोप लगाउँदैमा कोहि पागल हुँदैन, हिम्मत भए साबित गरे हुन्छ । जनताहरु भ्रष्टलाई भन्दा पागल लाई काखी च्याप्न तयार छन् ।

हो , जब जब जनजिभ्रोहरु न्यायका आवाजहरु बोल्न थाल्छन् तब झूठ सम्राटहरु झूठलाई साँचो बनाउन हरेक हतकण्डा प्रयोग गर्छन् त्यस्तो बेला सत्य चुप लाग्छ अनि त्यसैको बदनाम गरेर आफ्नो अस्तित्व रक्षा गर्नेहरु केहि समय सम्म चलमलाएपनि समय आएपछि आफै हराएर जान्छन । डा. के. सी. को अहिलेको आन्दोलन पनि त्यस्तै सत्यको आन्दोलन हो जसलाई दुत्कार्नेहरु समय आएपछि बढारिन्छन्, बढारिनै लागेका छन् ।

राज्यलाई बिभिन्न प्रभावमा  पारेर स्वास्थ्य क्षेत्रलाई कमाई खाने भाँडो बनाएका मेडिकल माफ़ियाहरुले संगठित रुपमा डाक्टर के. सी. बिरुद्द बिरोधका कार्यक्रम गर्नु भनेको आफ्नो लाज छोप्न बाहेक केहि  होईन । समाजसेवाको खोल ओढेकाहरुले  गरीबका छोरा छोरी क्षमतावान हुँदा समेत पनि पढ्न नपाउने, गुणस्तरहीन र राजधानी केन्द्रित तथा लूटको ब्यापार गर्नेहरु डा. के. सी. को आन्दोलनलाई दाग लगाएर एकछत्र स्वास्थ्य क्षेत्र दोहन गर्ने ध्याउन्नमा रहेको बेला आफ्नो प्रतिरक्षा गरिरहेका मात्र हुन् ।

ब्यक्तिगत रुपमा डाक्टर के. सी. लाई कमाउनु थियो भने उनी औषधिका झोला बोकेर दुर्गममा धाउनुपर्ने थिएन, उनको क्षमताले मात्रै लाखौ रुपैया राजधानीमै बसेर कमाउन सक्थे । भुकम्प प्रभावित क्षेत्रमा भोक भोकै जनताको उपचार गर्न उनी नोट र भोटको लालचले गएका थिएनन् । जनताका छोरा छोरीलाई डाक्टर बनाउन उनले गरेको आन्दोलनलाई बिदेशी मेडिकल माफ़िया संग उनको साँठगाँठ छ भनेर तुच्छ आरोप लगाउनेहरु मेडिकल डनहरु हुन । हिम्मत भए पुष्टि गरेर देखाए हुन्छ ।

मेडिकल माफ़ियाहरुले एउटा कुरा छातीमा हात राखेर भन्न सक्नुपर्छ, के उनको आफ्नो र केही जनाको आर्थिक स्वार्थ, त्यसमा पनि रातारात अकुत धन आर्जन गर्ने स्वार्थका अगाडि भोलि अहिले बनेका अयोग्य डाक्टरसित स्वास्थ्य सेवा लिन बाध्य हुने आम मानिसको ज्यान तुच्छ हो? के  राजनितिक नेतृत्व र एलिट नागरिकहरुझैं उपचारका लागि परिवारजनलाई बिदेश लैजान नसक्नेहरुको ज्यान ज्यान होईन ,जसको स्वास्थ्यप्रति राज्यले आँखा चिम्लिए पनि हुन्छ? नेपालको मेडिकल शिक्षालाई अब्बल गुणस्तर को हौवा गफ चुटिरहँदा धेरै मेडिकल कलेजमा वर्षभर खाली भएका बेड अनुगमनका बेला वृद्धाश्रमबाट बिरामी ओसारेर भरेको कुरा मिडियामा सप्रमाण आएका हुन् कि होईनन् ?  मेडिकल कलेजका कमजोर परीक्षा प्रणालीका बारेमा छापाहरु रंगिएका हुन् कि होईनन् ? हामी जस्ता जनताका छोरा छोरी ७५ लाख तिरेर पढ्न सक्दैनन्, त्यसैले यो बिसंगतिका बिरुद्द डाक्टर के. सी. को आन्दोलन का समर्थकहरुको जुन दिन धैर्यताको बाँध टुट्नेछ, त्यस दिन निजी मेडिकल कलेजहरुका मालिकहरु र छद्म डाक्टरहरु सुत्न सक्ने छैनन् । त्यो दिन अब नजिकै छ । सधैभरि ठूलो स्वर गर्दैमा झूठ सत्य हुँदैन, सर्बसाधारण मानिसको ध्यान आफ्नो लाजमर्दो  अवस्थाबाट अन्यत्र तान्न अहिले निजी मेडिकल कलेजहरुका डनहरु डा. केसीविरुद्ध छाती पिटेर उफ्रेपनि अब नांगिने दिन आउन धेरै दिन छैन ।

के लोकमान र तोकमानहरुलाई थाहा छैन र  डाक्टर के. सी. को पृष्ठभूमि के हो ? के डाक्टर गोबिन्दको नियत नेपालको स्वास्थ्य क्षेत्र तहस नहस पार्नु हो ? आम जनताका छोरी छोरीहरु योग्यताका आधारमा बिशेषज्ञ डाक्टर बन्न पाउनुपर्छ भन्दै पैसाको भरमा मेडिकल कलेज खोल्ने र पढ्नेहरुको नांगेझार गर्नु पागलपन होईन एउटा सच्चा नागरिकले न्यायका लागि गरेको त्याग र जिम्मेवारीपन हो , माफियाहरुले खाईपाई आएको भाग खोसेर जनताका छोरा छोरीलाई बाँड्न गरेको आमरण अनसनलाई भ्रष्टहरुले बाहेक अरुले पागलपन भनेकै छैनन् । अचम्मको कुरा जनताले चुनेर पठाएका सांसदहरुले डाक्टर के. सी. को मागलाई बेवास्ता गरेर अहिलेसम्म ठोस क़दम चाल्न नसक्नु जस्तो लाजमर्दो अरु केहि होईन ।

अहिले डाक्टर के. सी. को बिरोधमा गरिएका प्रायोजित र खेताला स्वरहरु जनताका स्वर हैनन्, भ्रष्ट र मेडिकल माफ़िया र काला ब्यापारीका स्वरहरु हुन् , अरुको जुठो र मुठो खाएर कुर्लने स्याल हुईयाहरु उज्यालो भएपछि जंगल पस्ने छन् । आउनुस,  हामी पनि डाक्टर के. सी. को स्वाभिमान र न्यायको आन्दोलनमा बिवेकशील भएर लागौँ । जनताका डाक्टर गोबिन्द के. सी. को ज्यानको ज़िम्मा राज्यले लिएर उनको माग यथाशिघ्र पूरा गरोस् । न्यायको लागि अनसन बसेका डाक्टर के. सी. लाई पागल सावित गर्न उद्दत मेडिकल माफ़िया बिरुद्द सबै नेपालीको एउटै आवाज गरौँ: आई एम विद डक्टर के.सी. ।

image1.pngलेखक: सरगम भट्टराई

 

प्रतिक्रिया