पहिरो र कटानले छ घरधुरी जोखिममा

इनेप्लिज २०७३ असार २९ गते ३:१६ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), २९ असार । म्याग्दीको ओखरबोट गाविस–३ धान्दुङका छ घरधुरी पहिरो र कटानको जोखिममा परेका छन् ।

भिरबाट निरन्तर खस्ने पहिरो र दाजुङ खोलाको कटानका कारण बस्ती जोखिममा परेको हो । धान्दुङ गोठका गमबहादुर दर्जी, दलबहादुर दर्जी, सोमबहादुर दर्जीलगायत छ घरपरिवार पहिरो र कटानका कारण रातभर जाग्राम बस्ने गरेका छन् ।

भिरालो पाखोमा रहेको बस्तीमा भलपानी र ढुङ्गा खसेर जोखिमपूर्ण बनाएको त्यहाँबाट साधन राम्जालीले जानकारी दिनुभयो । दाजुङ खोलामा रहेको काठको अस्थायी पुल पनि जीर्ण भएकाले खोला वारपार गर्न समस्या भएको छ ।

चिउरीबोटको विद्यालयमा पढ्न जाने विद्यार्थी पहिरो र साँघु जीर्ण हुँदा समस्यामा परेका छन् । पानी पर्दा रातभरि नसुतेरै रात कटाउने गरेको स्थानीय गमबहादुर दर्जीले बताउनुभयो ।

उनीहरुसँग बस्दै आएको घरजग्गाको लालपुर्जा पनि छैन । कतै पनि आफ्नो घरजग्गा नभएकाले उनीहरुलाई त्यो ठाउँ छोडेर अन्यत्र सर्नका लागि पनि समस्या भएको छ ।

प्रतिक्रिया