बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:२२
वासिङटन डिसी 08:37

जनतालाई प्रभावकारी सेवा दिन आग्रह

इनेप्लिज २०७३ असार २४ गते १२:५३ मा प्रकाशित

बनेपा, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयतालाई मुलुकको परिस्थितिअनुसार प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रतिष्ठानले आज धुलिखेलमा आयोजना गरेको ‘सङ्घीयतामा प्रशासनिक पुनःसरंचना’ विषयको दुईदिने गोष्ठीमा उहाँले सङ्घीयता अन्यत्र ठाउँमा जस्तै ठ्याक्कै अनुसरण पनि गर्न सक्दैना, त्यसैले हाम्रो समाज र भूगोलका आधारमा यसलाई लागू गर्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीयतामा गएपछि जनतालाई प्रभावकारी सेवा तथा सुविधा दिन नसके बाख्राको टाउकोमा भैँसीको सिङ जोडेजस्तै हुने उल्लेख गर्दै कर्मचारीलाई पुरानो मानसिकता र सङ्कीणण सोचबाट माथि उठ्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो– “सङ्घीयतामा हामी हुत्तिएर अघि बढ्न पनि सक्दैनौँ र जड्ताबाट ग्रसित भएर पनि अघि बढ्न सक्दैनौँ, त्यसैले सन्तुलित ढङ्गले अघि बढ्नु आवश्यक छ ।” प्रधानमन्त्री ओलीले सङ्घात्मक व्यवस्थालाई व्यावहारिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा सामान्य प्रशासनमन्त्री रेखा शर्माले सङ्घीयतामार्फत जनताको घरदैलामा सरकार पु¥याउने प्रयास भएको उल्लेख गर्दै प्रशासनको पुनःसंरचनाको विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो ।

मुख्य सचिव डा सोमलाल सुवेदीले कर्मचारीतन्त्रलाई अझ बढी उत्तरदायी र जिम्मेवार बनाउन आवश्यक भएको बताउनुभयो । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले राजनीतिसँग कर्मचारीतन्त्रले लय मिलाउन नसकेको विचार व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव टङ्कमणि शर्मा लगायतले सङ्घीयतामा पुनःसंरचनाको विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । विभिन्न मन्त्रालयका सचिव तथा विशिष्ट श्रेणीका कर्मचारी सहभागी भएको गोष्ठीमा पुनःसंरचनाका विषयमा चार कार्यपत्र प्रस्तुत हुनेछ ।

यसैबीच प्रधानमन्त्री ओलीले आज जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । मुकेश कायस्थ प्रतिष्ठानका तर्फबाट हेरचाह केन्द्र स्थापना गर्ने र हुलाक टिकटमा कायस्थको तस्बिर उल्लेख गर्ने विषयमा प्रधानमन्त्री ओली सकारात्मक हुनुभएको छ ।

प्रतिक्रिया