सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:२२
वासिङटन डिसी 12:37

सरकारको परिवर्तनको खेलमा लागेर समय बर्वाद नगरौंः प्रधानमन्त्री ओली

इनेप्लिज २०७३ असार २१ गते १२:१७ मा प्रकाशित

Pm-oli-650x433

काठमाडौंँ, २१ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको परिवर्तनको खेलमा लागेर समय बर्वाद नगर्न आग्रह गर्नुभएको छ ।

सत्ता सझेदार नेकपा माओवादीतर्फ संकेत गर्दै उहाँले भन्नुभयो- ‘सरकारको परिवर्तनको हल्लामा कुनै सत्यता छैन, यसको पछि लागेर समय बर्वाद नगरौं । अर्को पदको लागि कसरत गर्दा कहिलेकाहीँ पाईरहेको पद पनि गुम्न सक्छ, यसमा साथीहरुले बुझुन् ।’

प्रधानमन्त्री ओलीले आगामी एक वर्षभित्र मुलुकको सङ्क्रमणकालीन अवस्था समाप्त गर्न राजनीति सहमति अपरिहार्य रहेकोमा समेत जोड दिनुभयो ।

नेपाल परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा टुटेका सहमतिलाई नयाँ ढङ्गबाट सहकार्यमा पुर्याउन वर्तमान सरकार कटिबद्ध छ भन्नुभयो ।

Pm-oli-1

प्रधानमन्त्री ओलीले मुलुकमा आन्दोलनको औचित्यता समाप्त भइसकेको बताउँदै आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि एकताको खाँचो औंल्याउनुभयो ।

कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सम्पूर्ण नेपालीलाई एकताको सूत्रमा आबद्ध हुन आग्रह गर्दै अहिले नेपालीले विवेकको प्रदर्शन गर्ने समय आएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले एकापसमा सहमति र सहकार्यबाट मात्र राजनीति सङ्क्रमण अन्त हुने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)का सचेतक हितराज पाण्डेले संविधानको सफल कार्यान्वयनले मात्र मुलकको भविष्य निर्देश गर्ने बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार मधेसका माग समाधानमा अग्रसर नभएको आरोप लगाउनुभयो ।

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको विकास स्वयम् नेपालीले नै गर्ने हँुदा यहाँका जनता र राजनीति पार्टीबीच देखिएको मतभेद अन्त्य गर्दै सहमति र सहकार्यको बाटो अवलम्बन नै संविधान कार्यान्वयनको महत्वपूर्ण कडी भएको बताउनुभयो । भारतीय राष्ट्रिय काँग्रेसका नेता आलोक शर्माले नेपाल र भारतको सम्बन्ध अनुपम रहेको उल्लेख गर्र्दै नेपालीले नकारात्मक सोचाइभन्दा सकारात्मक चिन्तन गर्नुपर्ने समय आएको बताउनुभयो ।

आम आदमी पार्टी भारतका नेता प्रणीव कुमारले विकास आपसी मतभेदबाट नभई एकताबाट मात्र सम्भव छ भन्नुभयो ।

परिवार दलले आफ्नो घोषणापत्रमा शान्ति, एकता र विकासलाई मूल आधार बनाएको छ । महाधिवेशनमा देशभरका एक हजार १०० प्रतिनिधिको उपस्थिति छ ।

‘असल परिवार समृद्ध नेपाल, अग्रगामी लोकतन्त्र हाम्रो मूलमन्त्र’ भन्ने नाराका साथ सुरु भएको र परिवार दलका अध्यक्ष तथा शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालको सभापतित्वमा भएको महाधिवेशनमा बङ्गलादेश र श्रीलङ्काका विभिन्न दलका प्रतिनिधि तथा युनिभर्सल पिस फेडरेसनका प्रमुख व्यक्तिको सहभागिता थियो ।

महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशन बुधबारसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया