सरकार कलाकारको साथमा छ :प्रधानमन्त्री

इनेप्लिज २०७३ असार १८ गते १२:४७ मा प्रकाशित

Kp-oli-1काठमाडौँ, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली सरकार चलचित्र क्षेत्रको विकासका लागि प्रतिबद्ध भएको बताउनुभएको छ ।

नेपाल चलचित्र कलाकार सङ्घ(फ्यान)द्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले चलचित्र क्षेत्र उपेक्षित हुँदैन भन्दै समाजका सबै क्षेत्रको विकासबाट मात्र राष्ट्रको विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मुलुकलाई चलचित्र गन्तव्य बनाउन र चलचित्र उद्योगलाई विकसित गर्न हामी लाग्नेछौँ । तपाईँहरु यस क्षेत्रको उत्थानमा लाग्नुस्, सरकार कलाकारको साथमा छ ।’’ प्रधानमन्त्रीले सङ्घको कार्यालय भवनका लागि आफूले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सङ्घले सञ्चालन गरेको प्रथम फ्यान सम्मान, २०७२ बाट वरिष्ठ गायक, नाट्यकर्मी तथा चलचित्र अभिनेता हरिप्रसाद रिमाललाई सम्मान गरियो । सम्मानका साथ रु एक लाख ११ हजार एक सय ११ छ । प्रधानमन्त्री ओली र सूचना तथा सञ्चारमन्त्री शेरधन राईबाट सो सम्मान प्रदान गरियो ।
विसं १९८२ असोज २ मा जन्मनुभएका रिमाल नाट्य प्रशिक्षक हुनाका साथै ‘आमा’, ‘सिन्दुर’, ‘के घर के डेरा ?’, ‘प्रीति’ जस्ता चलचित्रमा अभिनय समेत गर्नुभएको छ । यसैगरी फ्यानको विशेष सम्मानबाट नायक राजेश हमाल, नायिका रेखा थापा र चलचित्र कलाकार अनमोल केसीलाई पनि सम्मान गरियो ।

प्रतिक्रिया