शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:२४
वासिङटन डिसी 22:39

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैन : उपप्रधानमन्त्री मैनाली

इनेप्लिज २०७३ असार १३ गते ११:४५ मा प्रकाशित

CP-Mainaliचितवन, १३ असार । उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताउनुभएको छ ।

मन्त्रालय मातहतका योजना अनुगमन गर्न आज यहाँ आउनुभएका मन्त्री मैनालीले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले आन्तरिक कोषबाट रकम दिने भन्दा पनि दातृ निकायको रकम प्रभावितलाई दिने भएकाले दातृ निकाय एकमुष्ट राहत रकम दिन मान्ने स्थिति नरहेको बताउनुभयो ।

भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिँदा आवास बन्न नसक्ने देखिएकाले पनि किस्तामा रकम दिनु प्रभावकारी हुने उहाँको तर्क छ । अझै पनि विभिन्न कठिनाइका कारण भूकम्प प्रभावितले राहत पाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । नेकपा (माले)का महासचिवसमेत रहनुभएका मन्त्री मैनालीले कार्यविधि फेरबदल गरेर भए पनि रकम बढाउन सकिने भए पनि सरकारले चाहेर मात्रै पनि एकमुष्ट रकम दिन नसकिने बताउनुभयो ।

भूकम्प प्रभावितको नाममा राजनीति भएको भन्ने एक प्रश्नमा उहाँले त्यस्तो भएको भए छानबिन गर्न उपयुक्त बताउनुभयो । चौध जिल्लाका मात्रै नभएर सबै जिल्लाका भूकम्प प्रभाबितलाई राहत दिन सरकार तयार रहेको उहाँको भनाइ थियोे ।

प्रतिक्रिया