बाबा र ममी शव्दले कसलाई सम्बोधन गर्ने ?-प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार ११ गते २१:२३ मा प्रकाशित

PRAKASH SHRESTHA

केही बर्ष पहिला, गाउँबाट धेरै समय पछि काम विशेषले काठमाण्डौ गएको वेला मेरो आत्मिय मित्र श्याम सँग बागबजारमा भेट भयो । गाउँमा हाई स्कुल सम्म सँगै पढेको मित्र यसरी लामो समय पछि भेट हुँदा निकै खुशी लाग्नु स्वाभाविक थियो । बागबजारमा भिडभाडबाट केही साईड लागेर गफगाफ गर्न नजिकैको कफी सप तिर लागियो र कफी सपमा गन्थनमन्थन एकछिन गरि सकेपछि मेरो त्यो मित्रले आफ्नो निवासस्थान नयाँ बनानेश्वर तिर जानलाई एकदमै कर गर्यो र म पनि नगई सुख पाईन उसको पछाडी बाईकमा चढेर बाटो लागियो । उ हाई स्कुल पढाई सक्दा साथ २०४८ सालमा जर्मनीमा गएको थियो र त्यहाँ १२ बर्ष बसेर नेपाल फर्केको थियो ।

त्यसपछि विवाह समेत गरेको थियो भने उनी विदेशबाट फर्कनु अगाडीनै काठमाण्डौमा घर किनेको पनि थियो जुन कुरा गाउँघरमै सबैलाई थाहाँ पनि थियो । यद्दपी मलाई भने पहिलो पटक उसको घरमा जाने मौका मिलिरहेको थियो त्यो पनि अप्रत्याशितरुपमा । सकभर मेरो पहले देखिको बानी आफुले चिनजान गरेको व्यक्ती र आफन्तहरुलाई शहरबजारमा खोज्दै जादैन्थे । त्यसमा मेरो आफ्नै अनुभव र सोच थियो की गाउँबाट शहर बजारमा त्यसरी आफन्त र चिनेजानेको व्यक्ती खोज्दै जाने क्रममा घरबाट कोसेली स्वरुप घ्यु, अनदी, झिनुवा र गौरियाको चामल, चुक अमिलो, मह, भट्मास, भाँगोको चटनी आदी झोला भरि बोकेर लगेर दिएर एक दुई दिन बस्दा पनि होटल, लजमा बस्नै नसकेर आफन्त र चिनेजानेको नाता लगाएर आए जस्तो व्यवहार गर्ने र कतिपय समयमा त अन्य व्यक्तीबाट फलानो यसरी हाम्रोमा आएको थियो भन्ने पनि सुन्नु पर्ने देखिएको थियो । त्यसैले काम विशेषले काठमाण्डौ, पोखरा जाँदा जतिसुकै खर्च लागेपछि होटल, लजमै बस्ने गर्दथे ।

श्यामसँग यसरी उसको घर जाने क्रममा बाटोमा विभिन्न कुरा मनमा खेलिरहेको थियो जस मध्ये एउटा कुरा मनमा खेलेको भनेको कतै श्यामले घर लगेर यतै बस एक दुई दिनको लागी वेकारमा किन एक्लै होटलमा बस्छस् भनेर कर गर्ने त हैन भन्ने मनमा कुरा खेलिरहेको थियो र त्यसो भनि हाल्यो भने फलानो आफन्तकोमा बोलाएका छन् भनेर तर्कन्छु भन्ने माईण्ड सेट गरेको थिए । जव एउटा विशाल आकर्षक घरको अगाडी बाईक टक्क अडियो र श्यामले गेट खोल्यो अनि दुवै जना भित्र गयौ ।

सरासर तेस्रो तलामा पुग्यौ र ढोकाको वेल थिच्दा वित्तिकै ढोका खोल्दै आकर्षक तेजस्वी मुहार भएकी एउटा भरेखरैकी महिलाले ढोका खोल्दै मलाई नमस्कार गरिन र श्याम तिर हेर्दै किन आज अबेर गरेको “बाबा” भनिन् त्यसपछि श्यामले पनि “ममी” सरी ल आज अफिसमा निकै काम थियो, तिमीलाई थाहै छ नी ट्राभल एजेन्सीको काम कहिलेकाही भिडभाड र तनावयुक्त हुन्छ । यति भन्दै महंगा सोफाहरुले आकर्षक ढंगबाट सजाएर राखिएको बैठक कोठामा तिनै जना बसियो र कुराकानीहरु अगाडी बढे । उनीहरुको विवाह भएको तिन बर्ष जति मात्र भएको थियो तर अझै सम्म कुनै सन्तान भएको भने थिएन । यद्दपी उनीहरुको केही महिना पछि सन्तान हुने तरखर भएको जस्तो बाहिरबाट हेर्दा श्यामको श्रीमतीको देखिन्थ्यो ।

वास्तवमा श्याम जर्मनीबाट फर्के पछि एकपटक गाउँमा गएको थियो र त्यती वेला उसलाई मैले भेट्ने मेसो मिलेन । त्यसपछि लगत्तै काठमाण्डौमै विवाह गर्यो तर विवाहमा निमन्त्रणा गरेको भएपनि त्यतिवेला पनि उक्त विवाहमा सहभागी हुन पाईएन र एकैचोटी धेरै बर्ष पछि त्यो भेट्नै उ विदेशबाट फर्के पछिको पहिलो भेट मेरो लागी थियो । कुराकानीको क्रममा पटक पटक उनीहरु आपसमा ममी र बाबा भन्थे र मलाई तिनीहरुले प्रयोग गरेको ती शब्दहरु अनौठो लाग्थ्यो ।

मैले गाउँघरमा विवाहित जोडिले एक अर्कालाई यसरी आफ्नो जन्मदिने बाबुआमालाई झै सम्बोधन गरेको देखेको, सुनेको थिईन, तापनि त्यहाँ मैले उनीहरुलाई कुनै प्रश्न सोध्नु उचित पनि लागेन र सोध्ने हिम्मत पनि गरिन । केही समयको कुराकानी सँगै म विदावादी भएर आफ्नो बाटो लागे । वास्तवमा बाटोमा खुल्दुली लागेको उनीहरुको घरमै बसौ की भन्छन् भनेर तर त्यसबारे केही कुरा गरेनन्, ठिकै पनि भयो, त्यसो नभनेकै ठिक भयो किनकी मलाई ढाँट्न सकभर नआउने भएकोले बनावटी कुरा बनाएर आफन्तले बोलाएका छन् भन्न पनि कसरी भन्ने भनि अप्ठ्यारो लागिरहेको थियो ।

अव भने मलाई एउटा कुराले भने मनमा झन् ठुलो खुल्दुली पो मच्चाई दियो त्यो के भने पहिलो पटक श्रीमान् र श्रीमतीले आपसमा बाबा र ममी शव्दबाट सम्बोधन गरिरहेको प्रत्यक्ष सुनेको थियो । मैले मनमनै विश्लेषण गर्न लागे यो आजकलको आधुनिक तरिका होला र यसैलाई उनीहरुले पनि अनुसरण गरे होलान् । जसरी आजकल सार्वजनिक बस चलाउने ड्राईभर र ट्याक्सी ड्राईभरलाई ” गुरु जी” भन्ने गरिन्छ त्यसरी नै नयाँ चलन मुताविक श्रीमान् र श्रीमती वीचमा आपसमा बोलाउँदा प्रयोग गर्ने शव्दहरु “बाबा र ममी ” आएको होला भन्ने जवाफ अन्तरआत्मामै आयो । त्यसपछि भने सायद शहर बजारमा यस्तै चलन चलेको होला भन्ने लाग्न थाल्यो र यो खासै बहसको विषय जस्तो लागेन ।

विस्तारै समय वित्दै गयो हाम्रै गाउँघरमा पनि शहर बजारबाट विवाह गरेर नयाँ दुलहीहरु भित्राउने नौजवानहरुको संख्या बढ्दै गयो र उनीहरुले पनि शहरीयाहरुले प्रयोग गर्ने शव्द बाबा र ममी आपसमा बोलचालमा प्रयोग गर्न थाले । यसरी विस्तारै नयाँ पिढीमा यसले निकै लोकप्रियता लिन थाल्यो । यसैको देखासिकी गर्दै मलाई पनि मेरो श्रीमतीले एकदिन “बाबा” भनेर बोलाउँदा म अलमल परेर यताउता हेरे कसैलाई देखिन उनले मेरो बुबा अर्थात् उनको ससुरालाई “बुबा” भनेर बोलाउँथिन र आज मेरो कानले गलत सुनेछ झै लाग्यो की “बुबा भनेको बाबा” सुने भनेर । त्यसपछि मैले उनलाई सोधे खै बुबा त यता हुनु हुँदैन पसल तिर किनमेल गर्न जानु भएको छ जस्तो लाग्यो । यति भनेको सुनेर उनी छक्क परेझै गर्दै भनिन् हजुरलाई नै बोलाएको हो मैले ।

त्यो सुनेर मलाई निकै हाँसो उठ्यो र मैले भने म तिम्रो बाबा होईन र बाबा बन्न पनि सक्दिन किनकी बाबा शव्द निकै ओजनयुक्त र महत्वपुर्ण शव्द हो यसको आफ्नै मौलिकता छ यसको दुरुपयोग कृपया नगर, मलाई थाहाँ छ आजकलका तन्नेरीहरुले यसलाई तिमीले प्रयोग गर्न खोजे झै प्रयोग गरिरहेका छन् तथापी म यसरी प्रयोग भएको मन पराउँदिन । तसर्थ तिमीले मलाई मेरै नामबाट बोलाउ वा अप्ठ्यारो लागे छोरीको नामबाट उनको बाबा भनेर बोलाउ । त्यसो गरेर बोलाउँदा बल्ल शव्दको न्याय हुन्छ अन्यथा विशेष व्यक्तीहरुलाई सम्बोधन गर्न प्रयोग गरिने शव्दलाई भिन्न नाता सम्बन्धमा जोडिदिदा सुन्नेलाई पनि अस्वाभाविक लाग्ने र शव्दको मर्म पनि गलत लाग्ने हुन्छ भनेर उनलाई सम्झाए त्यसपछि भने उनले अहिले सम्म पनि मलाई “बाबा” भनेर बोलाएकी छैनन् र मैले उनलाई “ममी” भन्ने त कुरै भएन ।
हुनत: यसो भनिरहँदा अधिकांश युवा जमात जसले श्रीमान् र श्रीमती वीच आपसमा बाबा र ममी शव्द प्रयोग गर्नु हुन्छ उहाँहरु मेरो भनाई प्रति आक्रोश देखाउनु होला र हाम्रो ईच्छा अनुसार शव्द प्रयोग गर्छौ भन्नु पनि होला । तर हामीले विचार गर्नु पर्ने कुरा के हो भने हरेक शव्दको आफ्नै अर्थ र उपयोगिता हुन्छ त्यसलाई त्यही अनुसार प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ । बाबा र ममी(आमा) शव्द विशेष गरि आफुलाई जन्मदिने जन्मदातालाई प्रयोग गरिन्छ । त्यस्तै उमेरले आफु भन्दा बढि अझै आफ्नो बाबुआमाको उमेर समुहमा पर्नेहरुलाई पनि आदार भाव देखाउने गरि आमा, बाबु शव्दहरु आवस्यकता अनुसार प्रयोग गरिन्छ । यसो त सासु र ससुराहरुलाई पनि आमा र बाबा शव्दनै पहिले देखिनै भन्दै आएको पाईन्छ ।

आजकल जन्मदिने बाबुआमा देखि विवाहित दम्पतीहरु वीच पनि आपसमा बोलचालको क्रममा सम्बोधन गर्दा बाबा र ममी शव्दको प्रयोग समान हिसाबले गरेको पाईन्छ जसले गर्दा यो शव्दको प्रयोगको हिसावले दायरा फराकिलो भएको छ तर खासमा शव्दको मर्म र भावमा भने प्रभाव परेको छ । यदी यसरी नै यी शव्दहरुलाई प्रयोगमा ल्याउने हो भने अव बाबा र ममी शव्दलाई नयाँरुपमा शव्दकोशमा परिभाषित गरिनु आवस्यक देखिन्छ । अर्को तर्फ आधुनिकताको नाममा र अति आदर गरेको देखाउनकै लागी चलनचल्तीका शव्दहरुलाई तोडमोड गरेर प्रयोग गर्नु त्यति बुद्धिमत्ता होला जस्तो लाग्दैन र कसै प्रति विरोध एवं गुनासो पनि छैन तथापी भोली गएर अन्य चलनचल्तीका शव्दहरुको प्रयोग पनि गलत ढंगबाट हुने हुनकी भन्ने आशंका लागेको मात्र हो र त्यस प्रति ध्यानाकर्षण गराउने सानो प्रयास गरिएको हो ।
अझै गहिरिएर हेर्दा हिजोका दिनमा प्रयोगमा ल्याईने नाता सम्बन्धका शव्दहरु आजकल अन्य नाता सम्बन्धमा पनि तोडमोड भएको पाईन्छ जस्तै आजकल फुपु ( बाबुको बहिनी) लाई दिदी भन्ने त्यस्तै छामा( आमाको बहिनी) लाई दिदी भन्ने चलन पनि चलेको छ जसले गर्दा पनि कहिले काही अन्यौलता देखाउँछ की खासमा साख्खै दिदी र फुपु एवं छामा विचमा अन्तर छुट्टाउन अन्य व्यक्ती वा छिमेकीहरुलाई कठिन पनि पर्ने गर्छ । यसरी सजिलोको लागी र बढी

आत्मियता झल्काउने नाममै परम्परागतरुपमा चल्दै आएका नाता सम्बन्धका शव्दहरुलाई गलत प्रयोग गर्नु त्यती सान्दर्भिक देखिदैन । अत: सकभर आधुनिकताको नाममा सबै चिजमा परिवर्तन ल्याउन नखोजौ । आफ्ना परम्परागत मुल्य, मान्यता र रितीतिथीलाई यथावत कायम राख्न प्रयास गरौ । केवल कुरिती, अन्धविश्वास र गलत संस्कारलाई समयानुकूल परिवर्तन गर्न आवाज उठाउ र त्यसलाई कार्यान्वयन पनि गरौ ।

प्रतिक्रिया