शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०२:०५
वासिङटन डिसी 16:20

सत्तारुढ दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेः देउवा

इनेप्लिज २०७३ असार १० गते १०:३९ मा प्रकाशित

Deuba-3काठमाडौँ, १० असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रको आवरण ओढेर सत्ता साझेदार दलहरुले सर्वसत्तावादी शैली लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

उहाँले प्रश्न गर्नुभयोे –“स्थानीय निकाय पुनःसंरचना आयोगले अगामी फागुन महिनामा आफ्नो काम पूरा गर्दैछ, सरकार मङ्सिर महिनामा स्थानीय निकायको निर्वाचन गर्छु भनेर फलाक्दै छ, के निर्वाचनका लागि निर्वाचन मात्र गर्ने हो कि साँँच्चैको निर्वाचन ?”

प्रजातान्त्रिक विचार समाजको १०औं राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले राष्ट्रिय सहमति कायम गरेर मात्र संविधानका प्रावधानअनुरुप तिनै तह (स्थानीय, प्रदेश र संसद्)को निर्वाचनको तिथिमिति तय गर्नुपर्छ भन्नुभयो ।

“गत संविधानसभाको दोस्रो निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याए, जनताको यो अभिमतलाई नेकाँले जनचाहनाअनुरुपको संविधान जनतालाई दिई कार्यभार पूरा गरेको छ, अब पार्टी संविधान कार्यान्वयनमा लाग्नेछ” – उहाँले भन्नुभयो ।

सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रमा अटुट विश्वास राख्ने आफ्नो पार्टी निर्वाचनदेखि नडराउने चर्चा गर्दै निर्वाचनमा सबैले भाग लिने वातावरण मिलाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रजातन्त्र सुदृढ र संविधान कार्यान्वयनमा चुनौती रहेको उल्लेख गर्दै सभापति देउवाले यी चुनौती समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो – “महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्ने सरकारले पूरा हुन नसक्ने कुरा गर्दै जनतालाई रनभुलमा पारिरहेको छ ।”

नेकाँका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनमा भन्दा कसरी सत्ता जोगिन्छ भन्ने चिन्ता र चासो सरकारमा बस्ने पार्टीहरुको रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “सरकारको काम गराई हेर्दा संविधान कार्यान्वयनमा देखिँदैन, सत्तामा कसरी टाँसिरहने भन्नेमा छ ।”

नेकाँको सिद्धान्तले विजय प्राप्त गर्छ तर पार्टीले हारिरहेको हुन्छ किन ? भन्ने प्रश्न गर्दै वरिष्ठ नेता पौडेलले यसका लागि पार्टी विचार र सिद्धान्तले सञ्चालन हुनुपर्छ भन्नुभयो ।

नेता पौडेलले पार्टीलाई विचार र सिद्धान्त दिन समाजले बौद्धिक हस्तक्षेप दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

सो अवसरमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले समाजका पूर्व अध्यक्षहरु होमनाथ दाहाल, हरिहर दाहाल, प्रा डा जीवराज पोखरेल, प्रा डा चन्द्रलाल श्रेष्ठ, प्रा वसन्तकुमार गौतम, प्रा डा हरिबहादुर कार्की र प्रा डा भरत झालाई सम्मान गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा समाजलाई रु ५० हजार आर्थिक सहयोग प्रदान गर्नुहुने पोखराका गणेशशङ्कर पालिखे तथा वरिष्ठ पत्रकार इन्द्रकान्त मिश्र र शशि थापालाई पनि सम्मान गरिएको थियो ।

विसं २०५२ मा प्रा वासुदेवचन्द्र मल्लको अध्यक्षतामा गठन भएको सो समाजको सो दुईदिने अधिवेशनमा ४० जिल्लाका ३५० प्रतिनिधिले भाग लिएका छन् । सो अधिवेशनले नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।

अधिवेशनको उद्घाटनसत्रमा नेकाँका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न नसकिने बताउनुभयो ।

समाजका पूर्व अध्यक्षहरु होमनाथ दाहाल र प्रा वसन्त गौतमले संविधान कार्यान्वयन गर्न सबैले ध्यान दिनुपर्ने र नेकाँ पार्टीलाई थप बौद्धिक विचार दिन समाजले सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।

समाजका उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले समाजका गतिविधिमाथि जानकारी दिनुभएको थियो ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा सम्पन्न सो अधिवेशनको उद्घाटनसत्रलाई पूर्व मन्त्री सुरेश मल्ल, त्रिविविका उपकुलपति डा तीर्थराज खनियाँ, नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, डेमोक्रेडिट लयर्स एसोसिएसनका अध्यक्ष गोपाल घिमिरे, नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

प्रतिक्रिया