उच्चस्तरीय सुकुम्वासी समस्या समाधान आयोग माग

इनेप्लिज २०७३ असार १० गते ४:५० मा प्रकाशित

गुलरिया (बर्दिया), १० असार । भूमि अधिकारसम्बन्धी काम गर्ने विभिन्न सङ्घसंस्था र सङ्गठनका प्रमुख तथा प्रतिनिधिले भूमिहीन जनताको समस्या समाधानका लागि उच्चस्तरीय सुकुम्वासी समस्या समाधान आयोग गठन गर्न माग गरेका छन् ।

गुलरिया नगरपालिका–२ स्थित सङ्गमबस्तीका भूमिहीनले ‘टुरिस्ट’ आयोगले जनताको समस्या समाधान नहुने भन्दै अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका हुन् ।

भूमि अधिकार मञ्च बर्दियाका अध्यक्ष केशबहादुर विकले भूमिहीन सुकुम्वासी तथा मुक्त कमैया जनताको समस्या समाधान गर्न अधिकार सम्पन्न उच्चस्तरीय सुकुम्वासी समस्या समाधान आयोग गठन गरिनुपर्ने बताए । उनले जिल्लाका कुनै पनि सुकुम्वासी तथा मुक्तकमैया बस्तीमा बिनाकारण बेदखल गरिए मञ्च चुप लागेर नबस्ने बताए । उनले वन समुदायको नाममा अझै पनि सुकुम्वासी जनतामाथि विभिन्न दुःख दिने काम भइरहेको बताए ।

अखिल नेपाल सुकुम्वासी सङ्घका टेकबहादुर विकले सुकुम्वासी जनताको अधिकार स्थापित गर्नका लागि अझै सङ्घर्षको खाँचो रहेको बताए । मिलन मूल समितिका अध्यक्ष पलबहादुर थापा, स्थानीय अगुवा दलु फडेरा, दीपेन्द्र बस्नेत, पूर्णबहादुर महतारा, मदन खत्री, विष्णु खड्का लगायतले सुकुम्वासीको मुद्दामा सरकारले आफ्नो माग सम्बोधन नगरेको बताएका छन् ।

प्रतिक्रिया