कञ्चनपुर, ९ असार । अपाङ्गता भएका ४४ जनालाई बुधबार कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रमा ट्राइसाइकल र ह्विलचेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा झलारी पिपलाडी नगर अपाङ्ग सञ्जालको समन्वयमा ट्राइसाइकल र ह्विलचेयर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् व्यवस्थापिका–संसद्का सांसद नारायणप्रकाश साउद र सांसद कृपाराम रानाले संयुक्तरुपमा वितरण गर्नुभएको हो ।
कार्यक्रममा सांसद साउदले सार्वजनिक निर्माण अपाङ्गमैत्री हुनुपर्ने सरकारी नीति लागू गर्नका लागि गम्भीर भएर लाग्ने बताउनुभयो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले देशको शिर ठाडो पार्ने गरी कार्य गरेका कैयौँ उदाहरण रहेको चर्चा गर्नुहँुदै उहाँले उनीहरुलाई माया हैन अवसरको खाँचो रहेको बताउनुभयो ।
व्यवस्थापिका–संसद्का सांसद कृपाराम रानाले अपाङ्गता जो सुकैलाई पनि हुनसक्ने भएकाले अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका राकेश हमालले दश वर्षदेखि अपाङ्गता भएका क्षेत्रमा संस्थाले कार्य गर्दै आएको धारणा अघि सार्दैै भन्नुभयो, “यस अवधिमा रु २५ करोडभन्दा बढीका १० हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ ।”
नगर सञ्जालका अध्यक्ष हरि भट्टले कार्यक्रममा अपाङ्गता भएका ३० लाई ह्विलचेयर र १४ जनालाई ट्राइसाइकल प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार झलारीका २३, पुनर्वासका एक, कृष्णपुरका १३, देखतभूलीका ६ र भीमदत्तनगरपालिकाको उल्टाखामका एक गरी ४४ जनालाई रु सात लाख ५० हजार मूल्यका ट्राइसाइकल र ह्विलचेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले कैलालीको अत्तरिया, धनगढी, भजनी र कञ्चनपुरको महेन्द्रनगरमा १२० भन्दा बढीलाई रु ३० लाख भन्दा बढीका ट्राइसाइकल र ह्विलचेयर अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने कार्यक्रममा जानकारी गराएको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न सहयोग पुग्ने भएको छ ।
प्रतिक्रिया