शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:३९
वासिङटन डिसी 16:54

उपभोत्ता ठग्ने नौ सय व्यापारी कारबाहीमा

इनेप्लिज २०७३ असार ८ गते ११:४४ मा प्रकाशित

download (1)जनकपुरधाम, ८ असार । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरले कम तौल गरी उपभोत्ता ठग्ने ९०२ जना व्यापारीलाई कारबाही गरी करिब रु १४ लाख जरिवानाबापतको रकम असुल गरेको छ ।

धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही र रामेछापको जिम्मेवारी पाएको सो कार्यालयले ढक, डिजिटल तराजु, लिटर र कपडा नाप्ने मिटर समयमा नवीकरण नगरी उपभोत्ता ठग्दै आएका ती व्यापारीलाई कारबाही गरेको कार्यालयका प्रमुख मुकुन्द चौहानले जानकारी दिनुभयो ।

आव २०७२-७३ को हालसम्म अनुमति पत्र लिने व्यापारी २४४, नियमित जाँच पास नवीकरण गर्ने एक हजार ९५, जरिवाना असुलेको व्यापारी ९०२, नवीकरण गरेका पेट्रोलपम्प २७१ रहेका छन् भने नियमित अनुगमनमा परेका फर्म ११६, संयुक्त अनुगमनमा परेका पसल २६ वटा रहेको बताइएको छ ।

डिजिटल तराजु नभएका पसलमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था भएको, जाँचपास गरी डिजिटल तराजु र ढक प्रयोग गर्नु पर्ने कानुनी प्रक्रिया रहे पनि यहाँका केही सुनचाँदी पसलले पुरानै ढक तथा डिजिटल तराजु राखी उपभोक्ता ठग्दै आएका अनुगमनका क्रममा पाइएको छ । समयमा फर्मको नवीकरण नगर्ने, डिजिटल तराजु ढक, लिटर, कपडा नाप्ने मिटरको नवीकरण नगर्ने व्यापारीलाई नापतौल ऐन २०२५ अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया