सोमबार, कार्तिक १ २०७८
काठमाडौं २२:३७
वासिङटन डिसी 12:52

अमेरिकामा नेपाली सामाजिक संस्थाहरुले “जनरल ईन्फरमेसन सेन्टर” खोल्नु आवस्यक -प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असार ७ गते २०:३९ मा प्रकाशित

prakashप्रदेश भन्दा वित्तिकै आफ्नो देशमा जस्तो सामान्य किसिमको अवस्था, सहजता सबै क्षेत्रमा हुँदैन । अझै शुरुवाती दिनहरुमा भिन्न सामाजिक संस्कार र प्रचलन भएका मुलुकहरुमा सामाजिकरण(Socialization) हुन र त्यहाँको नियम कानुनहरु बुझेर सोही अनुरुप व्यवहार गर्न त्यति सजिलो हुँदैन र यसको लागी अरुको सहयोग हुन सके सहज हुन सक्छ । त्यस्तै काम गर्दै जाँदा विदेशमा अनेकन समस्याहरु वा कठिनाईहरु अथवा असहज परिस्थीती आईलाग्न सक्छन् त्यस्तो अवस्थामा सही सुचनाहरुको अभावमा कतिपय व्यक्तीहरुले गम्भीर समस्याहरु र दुर्घटनाहरु झेल्नु पर्ने हुन सक्छ । अझै विकसित देशहरुमा परिवार सहित बस्नेहरुलाई दैनिक जीवनमा बालबालिकालाई स्कुल पढाउने देखि रोजगारीका साथै अन्य व्यवहारिक एवं सामाजिक समस्याहरु झेल्नु पर्ने हुन्छ त्यसका लागी आवस्यक सरसल्लाह र मार्ग दर्शनको खाँचो देखा पर्दछ ।

अहिले अमेरिकामा धेरै नेपालीहरुको बसोबास हुँदै गरेको अवस्थामा त्यहाँका नेपालीहरुमा विभिन्न दैनिक समस्या कानुनी देखि सामाजिक जीवन एवं व्यक्तीगत जीवन व्यवस्थापनको सन्दर्भमा देखा परिरहेका छन् । जटिल कानुनी समस्या अझै ईमिरिगेसन एवं असाईलम सम्बन्धी समस्या त प्रायः नेपाली अधिवक्ताहरुको कानुनी परामर्श सेवा केन्द्रबाट समाधान गर्दै आएको पाईन्छ तर अन्य दैनिक व्यवहारिक नियम, कानुनका कुराहरु बारे जानकारी लिनका लागी र अन्य समस्याहरु जस्तै जीवन वीमा, सम्पत्ती वीमा, घर खरिद-विक्री, स्वास्थ्य वीमा, व्यवसायिक ज्ञान, सिप, रोजगारी र रोजगारदाता, स्कुल, कलेज को छनौट र भर्ना देखि अनेकन विषय वस्तुहरुमा देखा पर्ने समस्यालाई समाधान गर्नको लागी आवस्यक सुचना, जानकारी दिएर आवस्यक मार्ग निर्देशन एवं परामर्श दिनको लागी नेपाली समुदायलाई हित हुने गरि नेपाली सामाजिक संघ, संस्थाहरु मिलेर कम्तीमा हरेक स्टेटहरुको मुख्य शहरहरुमा ” General Information Center ” खोलेर सहयोग गर्नु पर्ने देखिन्छ ।

यसरी हरेक स्टेटका मुख्य शहरहरुमा नेपालीहरुलाई सहयोग पुर्याउन यस्ता सुचनामुलक जानकारीहरु दिएर सर्वसाधरणहरुलाई कानुनी एवं दैनिक व्यवहारमा देखा पर्ने समस्याहरु समाधान गर्न आवस्यक सल्लाह, सुझाव दिएर सहयोग पुर्याउन नेपालीहरुको भरपर्दो साझा संस्था भनेर चर्चामा ल्याईने संस्था- गैरआवासिय नेपाली संघ( एन.आर.एन.) ले यस बारे आवस्यक पहल गरिनु आवस्यक छ । केवल प्रचारमुखी सामाजिक संस्थाहरु भएर खासै हामी जस्ता सामान्य नेपालीहरुलाई कुनै किसिमको सहयोग पुग्न सक्दैन त्यसको लागी त फिल्डमै यथार्थमा सहयोग गर्न सकिने गरि ” विभिन्न यूनिटहरु” को स्थापना गरि सहयोग पुर्याउनु पर्दछ ।

अमेरिकाका विभिन्न राज्यहरुमा करिव ७ सयको हाराहारीमा नेपाली सामाजिक संघ संस्थाहरु क्रियाशिल रहेर केवल चाडवाड र उत्सवमा जम्काभेट गरेर खुशियाली मनाउने मात्रै काम हो भने त्यसको कुनै औचित्य पनि छैन । बरु कमै संस्थाहरु हुन तर नेपालीहरुलाई परेका हरेक समस्याहरुलाई समाधानको लागी आवस्यक मार्गनिर्देशन गर्न सकुन, आपत एवं विपतमा परेकालाई सघाउन सकुन, एउटा नेपालीको समस्या अर्को नेपालीले आफ्नै सम्झेर सहयोगको हात बढाउन सकोस् र अमेरिकी जीवनयापनका लागी चाहिने आवस्यक सामान्य सुचनाहरु बारे सबैलाई जानकारी हुन सकोस् , कहिकतै सुचना एवं जानकारीहरु आवस्यक परेमा सजिलै सम्पर्क गरेर त्यसबारे जानकारीहरु लिन सकियोस् । त्यसो हुन सकेमा मात्र नेपालीहरुको वास्तविक साना साना दैनिक समस्याहरु समाधान हुन सक्छन् र अमेरिकी समाजमा सजिलै घुलमिल भएर उच्च हैसियतको मानव जीवनयापन गर्न सक्ने अवस्था आउँछ ।

हामीलाई थाहाँ छ अमेरिका त्यस्तो मुलुक हो जहाँ सुविधा र अवसरहरु आफै खोज्नु पर्छ न की राज्य आफैले दैलो-दैलोमा सुविधा र अवसर बाँड्दै हिडोस् । हुनपनि अमेरिकामा नेपाली समाज बल्ल घुँडा घिसारेर हिड्न खोज्दै छ, यस्तो वेला खुट्टा टेकेर हिड्ने बनाउन अर्काले सहयोग गर्नै पर्छ अर्थात् एकआपसमा सहयोग र आवस्यक जानकारीहरु आदान प्रदान हुनै पर्छ यसको लागी एउटा अाधिकारिक निकाय वा सम्पर्क संस्थाहरु अवस्य पर्छ जहाँबाट हरेक खाले सुचनाहरु, जानकारीहरु सजिलै लिएर सबै खाले समस्याहरु समाधान गर्न सकियोस् । नयाँ ठाउँमा, नयाँ परिवेशमा अगाडी बढ्नको लागी साझा चौतारीको रुपमा काम गर्ने संस्थाको रुपमा भुमिका निभाउन सक्ने सामाजिक संस्थाको विकास हुन सकेमा मात्र त्यस्तो संस्थाको मात्र सामाजिक मान्यता र सद्भाव हुन सक्छ ।

यसको लागी हरेक राज्यका मुख्य शहरहरुमा नेपाली सबैको प्रयास सामाजिक संस्थाहरु मिलेर वा एन.आर.एन. अमेरिकाका राज्य च्याप्टरहरुले यस तर्फ प्रयास गरेर कम्तीमा ” सामान्य सुचना केन्द्र” ( General Information Center) स्थापना गर्न अविलम्ब कार्य थालनी गरोस् भनि अनुरोध छ । यसरी सुचना केन्द्र स्थापना हुन सकेमा पक्कै पनि अमेरिकामा बस्ने आम सर्वसाधारण नेपालीहरुलाई आवस्यक सुचना सम्बन्धी सहयोग यथासिघ्र चाडै सजिलै पुग्न सक्ने छ र एन.आर.एन.अमेरिका प्रति सर्वसाधारणको विश्वास पनि बढ्ने छ ।

प्रतिक्रिया