मास्कोमा नेपाली साहित्यकारद्वय ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित

इनेप्लिज २०७३ असार ५ गते १३:०५ मा प्रकाशित

JayPrithvi.Ivan.minaev.DhanrajGiri15062016

मास्को, १५ जून २०१६ (बुधवार) । मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाको तत्वावधानमा नेपालबाट रूस भ्रमणमा आइरहनुभएका साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको स्वागतार्थ साहित्यिक समारोहको आयोजना गरिएको थियो । रूसका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती इन्दिरा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न त्यस भेलामा नेपाली राजदूतावास परिवार तथा उपरोक्त दुवै आयोजक संस्थाका प्रतिनिधिहरूका साथै रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ (उपाध्यक्ष डा. भीष्म आचार्य), नेपाल खेलकूद तथा संस्कृति समाज (अध्यक्ष खेमराज लामिछाने) सहित रूसमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधिहरूबको समुपस्थिति रहेको थियो ।

KPS.MMBhurtel15062016

मास्कोमा साहित्यिक भेलाको आयोजना गर्ने उपरोक्त दुवै सामाजिक एवं साहित्यिक संस्थाका महासचिव डा. मनमूर्ति भुर्तेलबाट सभारम्भ गरिएपछि नेपालका कार्यवाहक राजदूत श्रीमती इन्दिरा अर्यालले नेपाली राजदूतावासमा नेपालबाट आउने अतिथिहरूको स्वागत–सम्मान गर्ने परम्पराको स्मरण गर्दै नेपाली पाहुनाहरूलाई मास्कोको यात्रा सुखद र सफल होस् भन्ने हार्दिक कामना व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारीले रूसमा बसोवास गरिरहेका सम्पूर्ण नेपाली समुदायको तर्पmबाट मास्को यात्रामा आइरहनुभएका अतिथि साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको हार्दिक स्वागत गर्नुभयो भने गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य एवं विश्व नेपाली साहित्य महासंघका अध्यक्ष गोविन्दप्रसाद गौतमले मास्कोमा बसोवास गरिरहेका नेपालीहरूको संख्या ज्यादै कम भए पनि साहित्यानुरागी नेपालीहरूको सहयोगबाट साहित्यिक गतिविधि जारी राख्तै नेपाली तथा रूसी भाषामा समेत केही साहित्यिक पुस्तकहरूको समेत प्रकाशन गर्न सफल भइएको जनाउनुहुँदै यसपटक रूस यात्रामा आइरहनुभएका साहित्यकारहरूबाट पनि यहाँ बटुलिएको अनूभूतिहरूमा आधारित साहित्यिक कृति रचना हुनेछ र पढ्न पाइने छ भन्ने आशा प्रकट गर्नुभयो ।

JibaLamichane15062016

तत्पश्चात् नेपालबाट मास्को आइरहनुभएका नेपाली साहित्यकारद्वय धनराज गिरी एवं अश्विनी कोइरालालाई उल्लासमय वातावरणमा खादा ओढाएर हार्दिक सम्मान गरिनुका साथै उहाँहरूले नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याइरहनुभएको योगदानको कदर गर्दै गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तर्पmबाट संयुक्त रूसमा प्रतीकात्मक पुरस्कारसहित ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित गरियो ।

JayPrithvi.ivanVinaev.PuraskarSabha

गैरआवासीय नेपाली संघका संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछानेले रूसको यात्रा गर्ने प्रथम नेपाली जयपृथ्वी बहादुर सिंह तथा नेपालको यात्रा गर्ने पहिला रूसी विद्वान् इभान मिनाएभ को नामबाट रूसमा बसोवास गरिरहेका नेपाली समुदायको तर्पmबाट स्थापित उक्त स्रष्टासम्मानको तात्पर्य र महत्वबारे जानकारी दिंदै यस सम्मानबाट विभूषित साहित्यकारद्वयमध्ये पेशाले प्राध्यापक भए पनि गजल, कविता र गद्यसाहित्यको सिर्जनामा संलग्न धनराज गिरी तथा समाचारपत्र ‘कान्तिपुर’ सित सम्बन्धित पत्रकार अश्विनी कोइरालाको व्यक्तित्व र कृतित्वबारे संक्षेपमा प्रकाश पार्नुभयो ।

JayPrithvi.Ivan.minaev15062016

रूस–नेपाल सहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले रूसको यात्रामा आउने साहित्यकारद्वयका कृतिहरूको रसास्वादन गरी उहाँहरूको व्यक्तित्वबारे सकारात्मक धारणा बनेको जनाउँदै यसअघि रूसको यात्रा गरी ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित डा. गोविन्दराज भट्टराई, डा. ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी तथा अमर न्यौपानेले आफ्नो यात्रानुभूतिमा आधारित लेखहरू र नियात्रा ग्रन्थहरू समेत प्रकाशमा ल्याएको स्मरण गर्दै यसपल्टका सम्मानित साहित्यकारद्वयबाट पनि यो परम्परा जारी राखिने विश्वास जनाउनुभयो ।

JayPrithvi,IvanMinaev.Puraskar.GroupPhoto

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह सप्ताहको क्रममा आयोजित भव्य समारोहमा ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित हुने सौभाग्य पाएको यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य राख्ने अवसर प्रदान गरिंदा साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालालाई रूस लेखक संघको कार्यालयमा मास्को नगर संगठनका अध्यक्ष भ्लादिमिर दोयारिनोभ तथा उपाध्यक्ष भ्लदिमिर सिल्किनबीच शिष्टाचार भेटघाटको क्रममा दुवै देशका कविताहरूको संयुक्त संकलन निकाल्नेबारे कुरा भएको सूचित गर्नुका साथै उहाँहरूलाई प्रदान गरिएको स्रष्टासम्मानको बारेमा संषेपमा प्रकाश पारिएको थियो । नेपाली पाठकवृन्दलाई पनि के बताइहालूँ भने बझाङ्गी राजा जयपृथ्वी बहादुर सिंह (सन् १८७७–१९४५) आफ्नो मानवतावादी दर्शनको प्रचारका लागि विश्वकै भ्रमण गर्ने पहिला नेपाली हुनुका साथै सन् १९०८ मै रूसको भूमिमा पदार्पण गर्ने र सन् १९३३ मा अमेरिका समेत पुग्ने पनि पहिला नेपाली साहित्यकार भएकोले उनलाई ‘नेपालका कोलम्बस’ भन्नु अत्युक्ति नहुने धारणा राख्नुका साथै इभान पाभ्लोभिच मिनाएभ (सन् १८४०–१८९०) चाहिं बुद्धधर्म र प्राच्य दर्शनको अध्ययनार्थ नेपाल, भारत, बर्मा र श्रीलङ्काको यात्रा गरी नेपालको भूगोल, इतिहास, संस्कृति र जनजीवनबारे समेत कैर्यौ कृति प्रकाशमा ल्याउने रूसी प्राज्ञ थिए । विश्वप्रसिद्ध रूसी महाउपन्यासकार लेभ तोल्स्तोयले प्रतिपादन गरेको अनिष्टको प्रतिकार निषेधसम्बन्धी अहिंसावादी सिद्धान्त समेत रूसी विद्वान्ले उपहार दिएको बुद्धधर्म विषयक मूलकृतिबाट प्रभावित थियो भन्नु अत्युक्ति हुँदैन । अहिलेसम्म यो पंक्तिकारलगायत सातजनालाई हाम्रा दुई देशका यस्ता प्रकाण्ड विद्वान्हरूको नामले विभूषित ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मान प्रदान भइसकेको पनि अवगत गराउन चाहन्छु ।

DhanRajGiri.GFNLR

स्रष्टासम्मानबाट विभूषित गजलकार धनपति गिरीले आफ्नो मास्को भ्रमणको सन्दर्भमा उदरगारभाव प्रकट गर्दै शिखरिणी छन्दमा खण्डकाव्यको रचना समेत थालिसकेको जानकारी दिंदै त्यसको एक सर्ग नै लय हालेर वाचन गर्दा साहित्यिक समारोहमा उपस्थित सबै आल्हादित भएका थिए । अर्का सम्मानित साहित्यकार अश्विनी कोइरालाले नेपाली, हिन्दी र अंग्रेजी अनुवादको माध्यमबाट रूसी साहित्यको अध्ययन गर्दा रूस पुग्ने सपना साकार हुने कुराको त कल्पना नै नगरिएको भए पनि जीवा लामिछानेको सत्प्रयासबाट अप्रत्यासित रूपमा रूस भ्रमण साकार भएको भावुक अभिव्यक्ति दिंदै आपूmलाई रूसको स्रष्टासम्मान प्रदान गरिएकोमा रूसवासी नेपालीहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो ।

DhanarajGiri.IndiraAryal.AswiniKoirala

साहित्यक समारोहमा डा. कृष्णप्रसाद रिजालबाट कविता पाठ गरिएको थियो भने डा. मनमूर्ति भुर्तेलबाट गीत समेत सुनाइएको थियो । साहित्यिक समारोहको समाप्तिपश्चात् अतिथि साहित्यकारद्वयबाट आफ्ना कृतिहरू उपहारस्वरूप प्रदान गर्ने क्रममा मास्कोमा मेरो प्रथम भेट–परिचय हुनगएको सुखद अवसरमा धनराज गिरीबाट गजलसंग्रह ‘संगी’ तथा अश्विनी कोइरालाबाट अन्तर्वार्तासंग्रह ‘उनी’ र कथासंग्रह ‘जुकरबर्ग क्याफे’ हस्ताक्षरित अभिलेखसहित उपहार पाएँ ।

AswiniKoiralaSammanit

रूसको राजधानीमा सानो नेपालको सम्झना गराउने नेपाली राजदूतावासको प्रांगणमा आलुबोखडाको छहारीमुनि मास्कोको ग्रीष्मकालीन घमाइलो र न्यानो साँझ निकै वेरसम्म आयोजकहरूको तर्पmबाट व्यवस्था गरिएको मिनी–पिकनिकको रमझममा अति नै सौहार्दपूर्ण परिवेश र वातावरणमा अतिथि साहित्यकारद्वय धनराज गिरी एवं अश्विनी कोइरालासंग रूसवासी नेपालीहरूका प्रतिनिधिहरूको साहित्यिक वार्तालाप र विचारविमर्श जारी रहेको थियो…
दिनाङ्क :१७ जून २०१६,
मस्को, रूस महासंघ ।

प्रतिक्रिया