दश प्रकारका पापहरण गर्न दशहरा स्नान मेला

इनेप्लिज २०७३ असार २ गते ५:२९ मा प्रकाशित

08_06_2014-07gph-31-c-2काठमाडौँ, २ असार । दश प्रकारका पापहरण गर्न स्वर्गबाट पृथ्वीमा भागीरथीले गङ्गा अवतरण गराएको सम्झनामा ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु भएको दशहरा स्नान आज घर घरमा तुलसी बीज रोपी सम्पन्न भएको छ ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, बिनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु-याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

यस अवसरमा रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको वाणगङ्गा, नवलपरासीको त्रिवेणी सङ्गम, काठमाडौँको उत्तरगया नजिकैको वाग्मती किनारस्थित हत्यामोचनघाट लगायत देशभरका नदीमा मेला लाग्ने गर्छ । शरीर, मन र वचनले गरिने दश प्रकारका पाप ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीका दिनसम्म स्नान गरेर नाश हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । “११ दिनमध्ये ज्येष्ठ शुक्ल दशमी गङ्गा दशहराको मुख्य दिन हो”, उहाँले भन्नुभयो ।

वाग्मती नदी सफा हुँदा हत्यामोचनघाटमा लाग्ने गङ्गा दशहरा मेलामा नुहाउनयोग्य पानी बग्न थालेपछि स्थानीयवासीले यस वर्ष तीन दिनसम्म निरन्तरता दिए । मेला आज बिहान तुलसीको बीज रोपेपछि समापन गरिएको मेला आयोजक समितिका अध्यक्ष रोहित लिम्बूले जानकारी दिनुभयो । तुलसी बीजारोपण गरिने आजको एकादशीलाई निर्जला एकादशी पनि भनिन्छ

प्रतिक्रिया