आइतबार, असोज ३१ २०७८
काठमाडौं ००:१८
वासिङटन डिसी 14:33

भूकम्पपछि रु छ अर्बभन्दा बढी खर्च

इनेप्लिज २०७३ असार २ गते ५:०६ मा प्रकाशित

downloadचौतारा (सिन्धुपाल्चोक), २ असार । सिन्धुपाल्चोकमा भूकम्पपछिको एक वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाले मात्रै रु चार अर्बभन्दा बढी खर्च गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका आठ , अन्तर्राष्ट्रिय गैसस २५ र गैसस २१ मार्फत उक्त रकम खर्च भएको जिविसले जनाएको छ । जिविससँग समन्वय गरेर जिल्लामा काम गर्ने राष्ट्र सङ्घ अन्तर्गतका निकायले करिब रु ५८ करोड ४९ लाख, अन्तर्राष्ट्रिय गैससले करिब रु दुई अर्ब ६० करोड र गैससले करिब ८४ करोड ६७ लाख खर्च गरेको जिविसको तथ्याङ्कमा छ ।
जिविस अनुसार सो अवधिमा सरकारी तवरबाट भूकम्पमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति, स्थायी आवास निर्माणका लागि रु १५ हजार (प्रतिपरिवार) र न्यानो कपडा खरिदका लागि गरी करिब रु दुई अर्ब ५० करोड खर्च भएको छ ।

“यो खर्च भूकम्पपछि जिल्लामा आफूहरूसँग समन्वय गरेर काम गर्ने एनजिओ-आइएनजिओको मात्र हो,” प्रजिअ गोकर्णमणि दुवाडीले रासससँग भन्नुभयो, “जिल्लाका कतिपय भेगमा एनजिओ÷आइएनजिओले स्थानीय प्रशासनसँग समन्वय नै नगरी राहत तथा अस्थायी आवासका लागि खर्च गरेका छन् । सबै तथ्याङ्क सङ्कलन गर्ने हो भने खर्च भएको रकम अझै बढ्छ ।”

कतिपय एनजिओ÷आइएनजिओले स्थानीय प्रशासनसँग समन्वय गर्न हिच्किच्याउने, समन्वय गरेपछि कामै नगरी भाग्ने, सम्झौता एउटा गर्ने काम अर्कै गर्ने, सुगम स्थानमा मात्रै केन्द्रित हुने तथा कामको विवरण समेत नबुझाउने गरेको उहाँले बताउनुभयो ।

एक वर्षका अवधिमा जिल्लामा यति धेरै रकम खर्च भए पनि पीडितको गुनासो भने अर्कै छ । चौतारामा भेटिएका हैबुङका आइतमान तामाङ भन्छन्, “आशा मात्रै बाँड्छन्, काम गर्दैनन् । आस्था, धर्म र विचारअनुसार भेदभाव गर्छन् । पीडितका आवश्यकताभन्दा उनीहरुकै रुचिमा सामान बाँड्छन् । सामान वितरण गर्दा मूल्यबारे जानकारी दिँदैनन् । स्थानीय राजनीतिक दलको बोलवाला हुने गरी काम गर्छन् । काम थोरै गर्छन् तर प्रचार धेरै गर्छन् ।”

गैससहरू भने पीडितलाई भेदभाव नगरी काम गरिरहेको जिकिर गर्छन् । गत वर्षको ‘गोरखा भूकम्प’मा सिन्धुपाल्चोकमा मात्रै तीन हजार पाँच सय ७० जनाको मृत्यु, एक हजार चार सय ३५ घाइते तथा आठ जना बेपत्ता भएको प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिनुभयो ।

सरकारी तथ्याङ्क अनुसार भूकम्पबाट जिल्लामा झन्डै ६३ हजार घर पूर्ण रुपमा क्षति भएका छन् भने ५४७ विद्यालय पूर्ण रुपमा क्षति भएका छन् । यसैगरी ७५ स्वास्थ्यचौकी, १९५ किमी सडक, १३ पुल र ६९१ खानेपानी आयोजना पनि पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।

प्रतिक्रिया