बाबुरामको कपडा कला प्रदर्शनी आज

इनेप्लिज २०७३ असार २ गते १:२७ मा प्रकाशित

पोखरा, १ असार

कलाकार बाबुराम बस्ताकोटी ‘कस्केली’ ले कपडाको कोलाजमा नयाँ प्रयोग गरेको कला बिहीबार पोखरामा प्रदर्शन हुने भएको छ । विश्वमै नयाँ प्रयोग बनाइएका कलाकृति हिलप्वाइन्ट उच्चमावि माटेपानीमा प्रदर्शनीमा राखिने कलाकार कस्केलीले बताए । ‘माइ क्रिएटिभ एप्रोच’ शीर्षकको प्रदर्शनीमा २१ बटा कलाकृति एक दिन प्रदर्शन गरिने छ । ती कृति तयार पार्न कलाकार कस्केलीलाई तीन वर्ष लागेको थियो ।

आफ्ना सिर्जनामा उनले नेपालका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक जीवनलाई कलात्मक रूपमा चित्रण गरेका छन् । उनले भूकम्पबाट ध्वस्त भएको धरहरालाई कलात्मक रुपमा रंगीन कपडाका टुक्रा जोडेर बनाएका छन् ।

खेतमा काम गरिरहेका किसानलाई पनि कपडाका टुक्राबाट आकर्षक रुपमा प्रस्तुत गरिएको छ । रङ र ब्रसको प्रयोग बिना नै बनाइएको भए पनि उनका कला आकर्षक छन् ।

प्रचलनमा रहेको भन्दा फरक माध्यमबाट मौलिक संस्कृति उजागर गर्न सकिन्छ भन्ने मान्यता राखेर आफूले कला सिर्जना गरेको कलाकार कस्केलीले बताए । बिहीबार हुने प्रदर्शनीको संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री बलबहादुर महतले एक कार्यक्रमबीच उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया