सिकलसेलका दुई बिरामी भेटिए

इनेप्लिज २०७३ जेठ ३१ गते ४:३८ मा प्रकाशित

भीमदत्तनगर, ३१ जेठ । थारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् ।
झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल धनगढीमा चेक जाँच गराउँदा उक्त रोग देखा परेको हो ।
धनगढीमा स्वास्थ्य परीक्षण गराउँदा सिकलसेल रोग भएको चिकित्सकले बताएको झलारीपिपलाडी आदिवासी जनजाति नगर समन्वय परिषद्का अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । कञ्चनपुर, कैलालीमा सिकलसेलका बिरामी कति छन् भन्ने यकिन तथ्याङ्क छैन ।
यो रोग लागेपछि मानिसको शरीरमा रहेका हँसिया आकारका रक्तकोषिका छिटोछिटो नष्ट हुने चिकित्सक बताउँछन् । यसले फोक्सोको सङ्क्रमण, गर्भपतन, हाडसम्बन्धी रोग, पित्ताशयमा पत्थरी, फियो वृद्धिजस्ता समस्या देखिने चिकित्सकको भनाइ छ ।

सेती अञ्चल अस्पतालबाट हालसम्म ६८ जनाले निःशुल्क सेवा लिइरहेका अस्पतालले जनाएको छ । सरकारले सिकलसेल लागेका बिरामीलाई रु एक लाख बराबरको औषधि उपचारको व्यवस्था गरेको छ ।

प्रतिक्रिया